काठमाडौं । मध्यावधि निर्वाचनको मिति नजिकिँदा नयाँ र साना दलहरूबीच ध्रुवीकरण बढेको छ । ठ्ला दल कांग्रेस–एमालेले एक्लाएक्लै निर्वाचनमा जाने संकेत गरिरहँदा माओवादी केन्द्रले नौ बाम घटकलाई एकीकृत गरेर १० दलको एउटा पार्टी बनाइसकेको छ । असन्तुष्ट नेताहरू पाखा लाग्दा हाइसञ्चो मानेका नेताहरूलाई विस्तारै सुरु भएको साना दलको चुनावी सहकार्यका सहमतिले चनाखो बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीले बुधबार एकीकरण गर्ने सहमति गरेका छन् । कुलमान घिसिङको पार्टी उज्यालो नेपाल र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टी एउटै चिन्हमा चुनाव लड्ने भएका छन् । अन्य केही दलले पनि एउटै चु्नाव चिन्हमा निर्वाचन लड्ने सहमति गरेका छन् ।
रास्वपा र विवेकशील साझा पार्टीले आइतबार राष्ट्रिसभा गृहबाट पार्टी एकता घोषणा गर्ने तयारी छ । विवेकशील साझा पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय सर्वसम्मत भएको हो ।
पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गर्दै पार्टी एकीकरणको निर्णय पारित गरेको प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।
‘वैकल्पिक राजनीतिक शक्ति आउनैपर्ने महसुस भइरहेको बेला जेनजीहरूको आन्दोलनले वातावरण बनाएको हो । विवेकशील साझा पार्टी र रास्वपाबीचको एकीकरणको निर्णय हुनुको कारण यही हो,’ नेता परियारले भने, ‘निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण गरिएको हो ।’ पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइने उनले बताए ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व. उज्वल थापाको योगदान र ‘विवेकशील आन्दोलन’लाई लिपिबद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलबीच एकीकरण हुन लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आइतबार राष्ट्रियसभा गृहमा पार्टी एकता घोषणा कार्यक्रम हुने बताए । एकताको सबै प्रक्रिया पूरा भइसकेको बताएका उनले भने, ‘उहाँहरू आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताका रूपमा कायम हुनुहुनेछ ।’ विवेकशील साझा पार्टीमा समीक्षा बास्कोटा अध्यक्ष, उपाध्यक्षमा परियार र महासचिवमा रन्जु दर्शना छन् । विवेकशील साझाका नेताहरूलाई सम्माजनक व्यवस्थापन गरिने पनि रास्वपाले जनाएको छ ।
रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार पार्टी एकीकरणपछि पनि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने छ भने चुनाव चिन्ह घण्टी नै हुनेछ । रास्वपा सभापति रवि लामिछाने निकटका न्यौपानेले चुनावसम्म अरू नयाँ दलहरूसँग सके पार्टी एकीकरण र सम्भव नभए चुनावी सहकार्यका लागि छलफल भइरहेको पनि बताए । रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरूसँग एकता वा सहकार्य गर्नका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी तोकेको छ ।
निर्वाचन आयोगमा भर्खरै दर्ता भएको उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने भएका छन् । बुधबार दुई दलबीच एउटै चिन्हमा चुनाव लड्ने सहमति भएको हो ।
उज्यालो नेपालले बिजुलीको ‘चिम’ र हाम्रो नेपालले ‘लाइक’ चुनाव चिह्न पाएका थिए । तर, निर्वाचन प्रयोजनका लागि उनीहरूले साझा चुनाव चिह्न ‘चिम’ माग गरेका छन् । एउटै चुनाव चिह्नमा फरक–फरक पार्टीहरूले लड्न पाउने व्यवस्थाअनुसार उनीहरूले निर्वाचन आयोगमा बुधबार निवेदन दिएका छन् । उज्यालो नेपाल पार्टी ऊर्जा, भौतिक एवम् शहरी विकास मन्त्री कुलमान घिसिङको समर्थनमा बनेको हो भने हाम्रो पार्टी दलित अगुवा खगेन्द्र सुनारले हालै गठन गरेका हुन् ।
सुनार सुशीला कार्की नेतृत्वको सरकारमा श्रममन्त्री बन्ने निर्णय भएर पनि अन्तिममा रोकिएका थिए ।
त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति, अशोक राई नेतृत्वको जनता समाजवादी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल फागुन २१ को निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने भएका हुन् । निर्वाचन प्रयोजनको लागि एकल चुनाव चिन्ह ‘जाँतो’ माग गर्दै निर्वाचन आयोगमा निवेदन दिइएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए ।
यसैबीच मधेस केन्द्रित दलहरूबीच चुनावी सहकार्यका लागि संवाद सुरु भएको छ । एक्लाएक्लै निर्वाचनमा जाँदा अपेक्षित नतिजा हासिल गर्न गाह्रो हुने विश्लेषण भइरहँदा ‘संघीय लोकतान्त्रिक मोर्चा’मा आबद्ध दलहरूले सहकार्यको संवाद गरिरहेका हुन् । मोर्चामा महन्थ ठाकुर, उपेन्द्र यादव, सीके राउत लगायतका दल आबद्ध छन् । पछिल्लो निर्वाचनमा एमाले, कांग्रेस र माओवादी नेतृत्वका सरकारप्रतिको जनतामा बढेको वितृष्णाको फाइदा नयाँ दल रास्वपालाई भएको थियो । यसपटक एमालेले निर्वाचनका लागि दल दर्ता र प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतमा रिट दिएर ‘च्याँखे’ थापेको छ । निर्वाचनको तयारी सँगसँगै बीचमा यदि अदालतले पक्षमा निर्णय गरे त्यसको जस आफूले लिने दाउ एमालेको छ ।
कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेर निर्वाचन आयोगमा दल दर्ता गरिसक्दा पनि पार्टीको ‘नियमित महाधिवेशन वा विशेष महाधिवेशन’का मागको किचलो समाधान गर्न सकेको छैन । पार्टी संस्थापनका नेताहरू जसरी हुन्छ महाधिवेशनलाई टारेर जाने पक्षमा देखिन्छन् । विशेष महाधिवेशन माग गरिरहेका केही नेताहरू अघिल्ला निर्वाचनमा पराजित अनुहार भएकाले पनि संस्थापनलाई आफ्नो पक्षधरता बढाउन बल मिल्ने देखिएको छ ।
एमाले–कांग्रेस आफ्नै लयमा रहेका बेला उनीहरूले चुनावी सहकार्यलाई ध्यान दिएको देखिँदैन । यसको फाइदा लिनुपर्छ भन्नेमा साना एवम् नयाँ दलका नेताहरू देखिएका छन् । माओवादी केन्द्रले नौ बाम घटकलाई एकीकृत गर्दै नेपाली कम्युनिष्ट पार्टी दर्ता गराएको छ । द्वन्द्वकालदेखिको नाम ‘माओवादी’ छाड्न हुन्थेन भन्ने मत एक थरि नेताहरूमा अझै छ । १० घटकको एउटा दल बनाउन पार्टी सैंयोजक पुष्पकमल दाहाल प्रचण्डले गरेको समझदारीप्रति असन्तुष्ट सचिवालय सदस्य राम कार्की र जनार्दन शर्माले पार्टी छाडेर कित्ता फरक गरेका छन् । उनीहरू माओवादीसँगको एकीकरणमा असहमत घनश्याम भुसाल लगायतका केही नेताको कित्तामा आएका छन् । नेता नेपालको पहलमा असन्तुष्टमध्येका किसान श्रेष्ठ र रामकुमारी झाक्री एमालेमा फर्किएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी कसुरमा कारागारमा रहँदा उक्त पार्टीले आगामी निर्वाचनमा सहभागिताका लागि सशक्त मुद्दा लैजान गाह्रो रहेको विश्लेषण केही नेताहरूको छ । जेनजी आन्दोलनका बेला कारागारबाट फर्जी पत्र देखाएर बाहिर आएका लामिछानेले कडा आलोचनाको सामना गर्नुपरेको थियो । त्यसपछि उनी पुनः नख्खु कारागार फर्किएका थिए । लामिछाने कारागारमा रहे पनि उनले पार्टीको नेतृत्व छाडेका छैनन् ।