नेभिगेशन
अर्थतन्त्र

शेयरबजार घटेपनि ६ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । शेयरबजार मंगलबार समान्य रह्यो । नेप्से परिसूचक जम्मा ०.५३ अंक घटेर २,६४४.७० विन्दुमा कायम छ । सूचक रातो देखिए पनि यस दिन शेयरमूल्य घट्ने भन्दा बढ्ने कम्पनीको संख्या धेरै छ । कारोबार भएका २५७ कम्पनीमध्ये १२५ वटाको शेयरमूल्य बढेको छ भने ११९ वटाको घटेको छ । बाँकी १३ वटाको स्थिर छ ।

मूल्य बढेकामध्ये ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, मबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रिटेक इन्ड्रटिजको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशत घटेको छ ।

चार अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर किनबेच भएको छ । युनियन हाइड्रोपावरको शेयरकारोबार सबैभन्दा धेरै ३१ करोड ८१ लाख रुपैयाँको भएको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ फ्लोट सूचक ०.२७ प्रतिशत घटेर ४५३.९९ विन्दुमा कायम भएको छ । यस्तै, साधारण शेयर तर्फको कारोबार मापन गर्ने फ् लोट सूचक ०.०४ प्रतिशत घटेर १८०.९६ विन्दुमा र सेन्सिटिभ फ् लोट सूचक ०.२४ प्रतिशत घटेर १५४.२४ विन्दुमा झरेको छ ।

सूचीकृत १३ समूहमध्ये आठ वटा बढेका छन भने पाँच वटा घटेका छन् । बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र लगानी समूह घटेका छन् । यस्तै विकास बैंक, फाइनान्स, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार, म्युचुअल फण्ड र अन्य समूह घटेका छन् ।

लगानीकर्ताको सम्पत्ति एक अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ७१ करोड रुपैयाँ मात्रै घटेर १५ खर्ब तीन अर्ब नौ करोड रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत अर्थतन्त्र चलायमान बनाउन केही नीतिगत सुधार गरे पनि बजारमा त्यसको प्रभाव पर्न सकेको छैन । केन्द्रीय बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइदिएको छ ।

तर शेयरबजारमा आउने कर्जाबारे केही नबोलेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । यहीकारण सूचक स्थिर जस्तै बनेको छ । केही कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भए पनि त्यसको प्रभाव सूचकमा पर्न सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्