नेभिगेशन
प्रदेश

मधेशमा नयाँ सरकार गठन आह्वान

जनकपुर – मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । आफूलाई विश्वासको मत नपुग्ने देखेपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा दिए । उनको राजनीनामसँगै प्रदेश प्रमुख सुरेन्द्र लाभले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख लाभले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ । संविधानको धारा १६८(३) बमोजिम नियुक्त भएका एमाले नेता मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चले परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्रीलाई विश्वासको मत लिन र लिन नसके संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न आदेश गरेको थियो । मुख्यमन्त्री यादवले विश्वासको मतको प्रक्रियामा नगइ राजीनामा दिएपछि नयाँ सरकार गठनको मार्गप्रशस्त भएको हो ।

मधेश प्रदेशसभामा १०७ सदस्य छन् । यादवले आफ्नो पक्षमा विश्वासको मत भएको देखाउन ५४ सांसदको समर्थन जुटाउनुपर्ने थियो । तर, प्रदेशसभामा सभामुख र अन्य दलका दुई जना गरी उनको पक्षमा २५ जना मात्र देखिएका थिए ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ७ दलबीच गृहकार्य जारी छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले मिलेर सरकार बनाउन तयारी गरेका छन् । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि ७ दलबीच छलफल जारी छ ।

उक्त प्रदेशमा दुई महिनाभित्र तेस्रो पटक मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । यादवलाई कात्तिक २३ मा तात्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदीले विवादास्पद रूपमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । बर्दिबासको होटलमा सपथ गराइएको थियो । उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो भने केन्द्र सरकारले सुवेदीलाई तत्कालै पदमुक्त गरेको थियो । यादव आफ्ना पूर्ववर्ती जितेन्द्र सोनलझैँ एक महिना पनि पदमा रहन पाएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्