नेभिगेशन
विश्व

थाइल्याण्डमा पर्यटकलाई मदिरा फुकुवा

थाइल्यण्ड । थाइल्यान्डले पर्यटन प्रवद्र्धन गर्न वर्षौंदेखि लगाउँदै आएको मदिराको प्रतिबन्धलाई फुकाउने भएको छ । सो निर्णयअनुसार थाइल्याण्डमा लामोसमयदेखि मध्याह्नमा प्रतिबन्धित मदिरा बिक्रीलाई अस्थायी रूपमा हटाइएको छ ।

अब मदिरा पसल, रेस्टुरेन्ट र अन्य मान्यताप्राप्त स्थानमा छ महिनासम्म परीक्षणका लागि दिउँसो २ बजेदेखि ५ बजेसम्म बियर, वाइन बिक्री गर्न सक्नेछन् । सन् १९७२ मा लागू गरिएको यो प्रतिबन्ध मुख्यतया सरकारी कर्मचारीहरूले कार्यालय समयमा मदिरा सेवन गर्ने अवस्थालाई रोक्नका लागि ल्याइएको थियो । तर बौद्धबहुल मुलुक जो एसियाली मुलुकहरूमध्ये एक पर्यटकीय गन्तव्य हो, त्यहाँ आउने विदेशीहरू भने सो प्रतिवन्धले असहज थिए । यो कदम आसन्न क्रिसमस र नयाँ वर्षको अवसरमा गरिएको हुँदा यसले पर्यटनमा राम्रो प्रभाव पार्ला भन्ने आशा गरिएको छ । नयाँ नियम अनुसार अब देशभर मदिरा बिक्री आगामी १८० दिनका लागि बिहान ११ बजेदेखि मध्यरातसम्म गर्न पाइनेछ । सो कदमको कस्तो असर पर्यो भन्ने सम्बन्धमा एउटा समितिले प्रभावको अध्ययन पनि गर्नेछ ।

विगतमा मदिरा बिक्री प्रतिबन्धित हुँदा सो उल्लङ्घन गर्नेले १० हजार भाटसम्मको जरिवाना तिर्नुपर्ने प्रावधान थियो । सेप्टेम्बरमा पदभार ग्रहण गरेका थाइ प्रधानमन्त्री आनुतिन चार्नवीराकुलले वर्षौंको राजनीतिक अस्थिरताले प्रभाव परेको अर्थतन्त्रलाई पुनर्जीवित गर्न पर्यटकहरूलाई सहज पार्न सो निर्णय गरिएको जनाइएको छ । ‘विगतमा सरकारी कर्मचारीहरू नै कामको समयमा लुकीछिपी मदिरा सेवन गर्न जाने समस्या थियो तर अहिले समय फरक भइसकेको छ,’ उपप्रधानमन्त्री सोफोन सारामले पत्रकारहरूसँग भनेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्