नेभिगेशन
प्रदेश
सुर्खेत आँखा अस्पताल

अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी गरेको छ । बाल आँखा उपचार सेवा (नवजात शिशु), ‘रेटिना’ र जलविन्दु उपचार सेवा थालनी गर्न अस्पतालले आन्तरिक तयारीलाई तीव्र बनाएको हो । यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन गरिरहेको छ । अस्पतालमा आँखा उपचारका ती उपविशिष्टिकृत सेवा थालनी भएमा आँखा उपचारका लागि संघीय राजधानी काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य हुने जनाइएको छ ।

अस्पतालको मेडिकल निर्देशक डा आकांक्षा रानाले भनिन्, ‘सुर्खेत आँखा अस्पतालमा उपविशिष्टिकृत आँखा उपचार सेवाअन्तर्गत बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), रेटिना र जलविन्दु सेवा सञ्चालनको तयारी गरिरहेका छौँ । रेटिना उपचार सुरुआत भइसकेको छ । अन्य सेवा छिट्टै थालनी हुने छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अन्धोपनको दर कर्णाली प्रदेशमा उच्च अर्थात् कूल जनसंख्याको एक प्रतिशत छ । पछिल्लो जनगणनाअनुसार यहाँका ७९ पालिकाका ७१८ वडामा १६ लाख ८८ हजार ४१२ जनसंख्या छ ।

अस्पतालले बाल आँखा उपचार सेवा र रेटिना उपचार सेवा थालनीका लागि चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेर काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानमा तालिमका लागि पठाएको छ भने ती सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ ।

स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाटीद्वारा सञ्चालित सो अस्पतालमा हाल कर्णाली प्रदेशका १० जिल्लासहित पछिल्ला समयमा अछाम, बाजुरा र बझाङका आँखाका बिरामी सेवा लिन आउने गर्दछन् । नेपाल रेडक्रसले सुर्खेत आँखा अस्पताल सहित जनकपुरमा पनि आँखा अस्पताल सञ्चालन गरिराखेको छ ।नेत्र विशेषज्ञ रानाका अनुसार हाल अस्पतालले बहिरंग सेवाअन्तर्गत आँखा जाँच, कम्प्युटरद्वारा चश्मा जाँच, मधुमेह र उच्च रक्तचापका कारण हुनसक्ने दृष्टिविहीनको परीक्षण, परामर्श तथा प्रेषण सेवा, प्रयोगशाला, आँखाको अल्ट्रासाउण्ड, याग लेजर सेवा, आँखाको पर्दाको फोटो, औषधि पसललगायत सञ्चालन गरिरहेको छ । शल्यक्रिया सेवाअन्तर्गत मेसिनद्वारा सानो घाउ बनाएर मोतिविन्दुको शल्यक्रिया गरिने आधुनिक पद्धति (पाको), आँसुनली, मासुपलाएको शल्यक्रियासहित अन्य आँखा उपचारसम्बन्धी सामान्य शल्यक्रिया सेवा उपलब्ध गराइरहेको छ । अस्पताल बिमा कार्यक्रममा आबद्ध भएकाले विपन्न नागरिकलाई आँखा उपचार सेवामा सहज पहुँच भएको मेडिकल निर्देशक डा रानाले बताइन् ।

बिरामीको चाप : स्थानको अभाव

नेपाल रेडक्रस सोसाइटीका सुर्खेत जिल्ला सभापति रामलाल आचार्यले भने, ‘पछिल्लो समय बिरामी चापमा वृद्धि र सेवा विस्तारको तयारी गरेसँगै अस्पतालमा स्थान एवं भवनको अभाव भएको छ । बिरामी बस्ने र जाँच गर्ने स्थानको अभाव हुँदै गएको छ ।’

अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालय र वीरेन्द्र नगरको सहकार्यमा भवनमा तला थप गर्ने र अन्य पूर्वाधार बनाउने काम पनि जारी राखेको छ । ‘आँखा स्वास्थ्य महत्वपूर्ण सेवा हो’ भन्ने विषयलाई तीनै तहका सरकार र स्वयं नेपाल रेडक्रसका केन्द्रीय कार्यालय र दाताले महत्व नबुझेको उनले गुनासो गरे ।

उनले भने, ‘दाताका भरमा अस्पतालको अत्याधुनिक संरचना, उपकरण र दक्ष जनशक्तिसहित सेवा सुरु त भयो, अब कसरी टिकाइराख्ने भन्ने चिन्ता छ । विपन्न जनतामा आँखा सेवाको पहुँच पुर्‍याउन चुनौति छ । नीतिनिर्माता तहका व्यक्तित्वहरू अस्पताल भ्रमण गर्दछन् । अस्पताल हुनु त यस्तो पो भन्दछन् । यहाँको सेवाको प्रशंसा गर्दछन् । तर सहयोग त्यत्ति बढाइदिँदैनन् ।’

अस्पतालले बाह्य आँखा उपचार सेवाअन्तर्गत यहाँका अतिदुर्गम स्थानमा आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा विशेष गररे मोतियाविन्दु देखिएका बिरामीका अस्पतालमा ल्याएर शल्यक्रियासमेत गर्दै आएको छ । अस्पतालले स्थानीय पालिकाको समन्वय र सहकार्यमा नौ स्थानमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरिरहेको छ । ती स्थानमा पञ्चपुरी नगरपालिका विद्यापुर, भेरीगङ्गा नगरपालिका छिन्चु, दैलेख नगरपालिका, नारायण नगरपालिका, आठबिस नगरपालिका, भेरी नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र बनगाडा कुपिण्डे नगरपालिका छन् ।

आँखा उपचार केन्द्रसम्म पनि पहुँच नभएकालाई शिविर सञ्चालन तथा विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रम जारी राखेको छ । सभापति आचार्यले भने, ‘विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रमबाट सिकाइ उपलब्धि उँचो देखिएको छ ।’ अस्पतालले गत आवमा एक लाख आँखाका बिरामीलाई सेवा उपलब्ध गराएको थियो भने चार हजारको मातियाविन्दुको शल्यक्रिया गरेको थियो । अस्पतालको उत्कृष्ट व्यवस्थापन र सरसफाइका कारण पनि सेवाग्राही अस्पतालमा आकर्षित भइराखेका छन् । अस्पतालको भवन बाहिरबाट हेर्दा जति आकर्षित छ, त्यति नै भित्र छिर्दा बिरामी मैत्री देखिन्छ । भेरी नगरपालिका–१ का गंगा केसीले भन्नुभयो, ‘आँखा जँचाउन सस्तो छ, जँचाउन डाक्टरसँग धेरै समय कुर्नु पर्दैन । अस्पताल सफा पनि छ । म यही भएर यहाँ आएको हुँ ।’

पछिल्लो समय बिरामी चाप र सेवा विस्तारको तयारीसँगै अस्पतालमा बिरामी जाँच गर्ने स्थान एवं भवनको अभाव भएको छ । सुर्खेत बजारको मध्य भागमा रहेको अस्पतालले एक बिघा नौ कट्ठा जमिन चर्चेको छ । हाल अस्पतालमा तीन जना नेत्र विशेषज्ञसहित अन्य ४० स्वास्थ्यकर्मी सेवारत छन् । अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अन्यत्र काम गर्न अस्पताल व्यवस्थापनले प्रतिबन्ध लगाएको छ । सभापति आचार्यले भने, ‘चिकित्सक एवं स्वास्थ्यकर्मीका समय अस्पतालमा उपयोग गर्दा सेवा प्रभावकारी भएको हो । यहाँ सेवारत चिकित्सक एवं स्वास्थ्यकर्मी अन्यत्र काम गर्न पाउँदैनन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्