नेभिगेशन
विश्व

गोवाको क्लबमा भएको आगलागीमा २५ जनाको मृत्यु

भारत । गोवाको एक लोकप्रिय नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको छ । बर्च नामक नाइटक्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी भएको अनुमान गरिएको छ । गोवाको लोकप्रिय समुद्र तट नजिकै रहेको सो क्लबमा बलिउड डीजे प्रस्तुतिका लागि भीड लागेको थियो ।

गोवा प्रहरीले जनाएको अनुसार मृतकहरूमा दिल्लीका एउटै परिवारका चार सदस्य र क्लबका २१ कर्मचारी परेका छन् । अधिकांशको मृत्यु निस्सासिएर भएको बताइएको छ । क्लबका म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने क्लबधनीलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवामा रात्रीकालीन जीवन, समुद्र तटको आनन्द लिन यहाँका रिसोर्टहरूमा वर्षेनी लाखौं पर्यटक आउने गरेका छन् । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई आगलागी भएको क्षेत्रमा भयावह दृश्य देखिएको बताए । ‘म क्लबबाहिरै थिएँ । चिच्याहट सुनेँ, तर सुरुमा केही बुझिनँ । केहीबेरमै ठूलो आगलागी भएको थाहा भयो । दृश्यहरू अत्यन्तै डर लाग्दा थिए,’ एक प्रत्यक्षदर्शीले बताए ।

क्लबको मुख्य प्रवेशद्वार फराकिलो भए पनि क्लबको माथ्लो तलामा पुग्न सानो भर्‍याङ प्रयोग गर्नुपर्ने हुन्थ्यो । त्यही कारण पनि उद्धारकर्मीहरूलाई घटनास्थलमा पुग्न कठिन भएको थियो । घटनास्थलमा पग्लिएका कुर्ची, मेच र बोटबिरुवाका अवशेष यत्रतत्र छरिएका थिए । स्थानीय प्रहरी प्रमुख आलोक कुमारका अनुसार आगो मुख्यतया भान्साको भुइँतलामा लागेको थियो । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले तीन जनाको मृत्यु जलनका कारण र बाँकीको निसासिस्एर भएको जानकारी दिए । छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । आगलागी भएको क्लबसँगै काम गर्ने एक शेफले आफूले बर्च क्लबका केही कर्मचारीहरूलाई चिनेको र उनीहरूका फोन बन्द भएकाले चिन्तित भएको बताए ।

आइतबार पनि उद्धार टोलीका सदस्यहरूले जलेका अवशेषहरूको खोजी जारी राखेका थिए । गोवाका मुख्यमन्त्रीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन सुरु गरेको र कसैको लापरवाही भेटिए कडा कारबाही गरिने चेतावनी दिए । प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटना ‘गहिरो र दुःखद्’ भएको बताउँदै मृतकहरूप्रति समवेदना व्यक्त गरेका छन् । सरकारी तथ्यांक अनुसार यो वर्षको पहिलो छ महिनामा करिब पाँच लाख ५० हजार पर्यटक गोवा पुगेका छन्, जसमा २ लाख ७० हजार विदेशी पर्यटक थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्