नेभिगेशन
विश्व

हवाई आक्रमण गरेको दाबी

थाइल्याण्ड–कम्बोडिया तनाव

बैंकक । थाइल्याण्डले सोमबार कम्बोडियामा हवाई आक्रमण गरेको छ । दुवै देशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको युद्धबिराम तोडेको एक–अर्कामाथि आरोप लगाएपछि सीमाको विभिन्न ठाउँमा भिडन्त भएको जनाइएको छ ।

थाइल्याण्डको सेनाले एक सैनिक मारिएको र आठ जना घाइते भएको बताएको छ । बिहान करिब ५ बजे झडप तीव्र भएपछि हवाई सेना परिचालन गरिएको थियो । थाइल्याण्डको हवाई सेनाले कम्बोडियाले धेरै भारी हतियार, अधिक सैनिक र सहयोगी इकाइहरू सीमा क्षेत्रमा तैनाथ गरेको बताउँदै यसको प्रतिकारमा हवाई शक्ति प्रयोग गरिएको बतायो ।

कम्बोडियाको रक्षा मन्त्रालयले भने थाइल्याण्डले बिहानै दुई स्थानमा आफ्ना फौजमाथि आक्रमण गरेको दाबी गरेको थियो र यस सम्बन्धमा कम्बोडियाले कुनै जवाफ नदिएको बताएको छ । कम्बोडियाका पूर्व शक्तिशाली नेता हुन सेन (हालका प्रधानमन्त्री हुन मनटका पिता) ले थाइल्याण्डलाई ‘आक्रमणकारी’ भने र आफ्ना सैनिकलाई धैर्य अपनाउन आह्वान गरे । कम्बोडियाका तीन जना नागरिक गम्भीर रूपमा घाइते भएको बताइएको छ ।

यस वर्ष मे महिनाबाट दुवै देशबीच तनाव बढ्दै आएको थियो । जुलाईमा पाँच दिन चलेको संघर्षपछि मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम र ट्रम्पले युद्धविराम गराएका थिए । सो युद्धविराममाथि विभिन्न तप्का तथा कोणबाट भिन्न धारणा राखिँदै आएको भए तापनि अनपेक्षित क्षति र हताहत नहुने मार्गमा दुवै देश अग्रसर भएकामा सकारात्मक दृष्टिकोण पनि राखिँदै आएको थियो । तर पछिल्लो समय थाइल्याण्डले कम्बोडियालाई नयाँ बारुदी सुरुङ राखेको आरोप लगाउँदै युद्धविरामलाई रोक्ने घोषणा गरेको थियो ।

थाइल्याण्डले सीमा नजिकका चार जिल्लाबाट ३ लाख ८५ हजारभन्दा धेरै नागरिकलाई अन्यत्र स्थानान्तरण गर्ने  प्रयास भइरहेको जनाएको छ । त्यसरी स्थानान्तरण गरिनेहरूमा ३५ हजार नागरिकहरूलाई यसअघि नै सुरक्षित ठाउँमा लगेर राखिसकिएको जनाएको छ ।

उता छिमेकी मुलुक कम्बोडियामा पनि मानिसहरू आफ्ना ज्यान बचाउन आफ्ना परिवारका सबै सदस्यहरूसहित सुरक्षिता क्षेत्रतर्फ गइरहेका छन् ।

थाइल्याण्ड र कम्बोडिया बीच ८ सय १७ किलोमिटर लामो सीमा जोडिएको छ । सन् १९०७ मा फ्रान्सले बनाएको पुरानो नक्साका कारण धेरै ठाउँमा अझै पनि स्पष्ट रूपमा दुई देश बीचको सीमांकन छुट्टिएको छैन । दुई देशबीच बेला बेला विभिन्न निहुँमा झडप भइरहने भए तापनि यी दुई शक्तिशाली दक्षिणपूर्व एसियाली मुलुकबीच एकअर्कामाथि हवाई आक्रमण नै भएको घटना भने दुर्लभ हो । दुई देशका विभिन्न मानवअधिकारीवादी संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायले वार्ता र सहकार्यमार्फत समाधान खोजेर भिडन्त र मतभेतलाई न्यूनीकरण गर्दै  शान्तिको मार्ग अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्