नेभिगेशन
विश्व

ट्रम्पद्वारा जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई वास्ता नगरेको आरोप लगाएपछि युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र युरोपेली सहयोगीहरूले सोमबार लन्डनमा वार्ता गर्ने तयारी गरेका छन् ।

मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच केही दिनदेखि भएको वार्ता शनिबार कुनै स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो । वार्ताको अन्त्यमा जेलेन्स्कीले थप वार्ताका लागि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । वार्तामा संलग्न एक अधिकारीले सोमबार एएफपीसँग भने, ‘करिब चार वर्ष लामो रूस–युक्रेन युद्ध अन्त्य गर्ने वार्ता अझै पनि सबैभन्दा समस्याग्रस्त मुद्दा हो ।’

राष्ट्रपति जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री केइर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो ँले लन्डनमा स्वागत गर्ने  कार्यक्रम छ । स्टार्मरले जेलेन्स्कीलाई ट्रम्प प्रशासनको नेतृत्वमा सम्झौता स्वीकार गर्न दबाब नदिने बताएका छन् । ‘म राष्ट्रपतिलाई कुने दबाब दिनेछैन,’ स्टार्मरले आइटिभी न्यूजसँग भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण के सुनिश्चित गर्नु हो भने यदि शत्रुताको अन्त्य हुन्छ भने त्यो न्यायपूर्ण हुनुपर्दछ भन्ने आशा गर्दछु र यो दिगो पनि हुनुपर्दछ ।’ बेलायती विदेशमन्त्री यभेट कुपर अमेरिकी समकक्षी मार्को  रुबियोसँग सोमबार वासिङ्टन जाने कार्यक्रम रहेको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले आफ्नो छिमेकीमाथि आक्रमण जारी राखेको छ, जसमा आइतबारदेखि सोमबारसम्म कम्तिमा नौ जना घाइते भएका छन् । जेलेन्स्कीले मियामी वार्ताका क्रममा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग ‘धेरै ठोस र रचनात्मक’ कुराकानीका लागि आफ्ना वार्ताकारहरूसँग सामेल भएको बताएका थिए ।

‘युक्रेन शान्ति स्थापनका लागि अमेरिकी पक्षसँग इमान्दारीपूर्वक काम गर्न प्रतिबद्ध छ,’ जेलेन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममा भनेका छन् । ट्रम्पले आइतबार आफ्ना युक्रेनी समकक्षीको आलोचना गर्दै पछिल्लो पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव नपढेकोमा म दुःखी छु।’

सोमबारको वार्ताअघि फ्रान्सका राष्ट्रपति म्याक्रोँले रूसको ‘बढ्दो प्रभाव’ को आलोचना गरेका थिए । उनले एक्समा लेखेका छन्, ‘हामी युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न अमेरिकीहरूसँग यी प्रयासहरू जारी राख्नेछौं, यसको अभावमा भरपर्दो र दिगो शान्ति सम्भव छैन ।’

लगभग चार वर्षको युद्धको अन्त्य गर्ने वासिङटनको प्रारम्भिक योजनामा रुसले युद्धको मैदानमा जित्न नसकेको भूमि पनि त्याग्नु (आत्मसमर्पण गर्नु) पर्ने विषय सामेल छ जुन सुरक्षा प्रतिज्ञाहरूको बदलामा नाटोमा सामेल हुने किएभको आकाक्षांभन्दा कम हो ।

ट्रम्पले जनवरीमा कार्यभार लिएसँगै युक्रेनलाई फकाउने र हप्काउने नीति लिँदै आएका छन् । उनले सुरुमा जेलेन्स्कीलाई अमेरिकी समर्थनको लागि कृतज्ञ नभएकोमा आलोचना गरेका थिए ।

अलास्कामा शिखर सम्मेलनसहित रूसी नेता पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने ट्रम्पको प्रयास असफल भएपनि उनले हालै रूसी तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका छन् । आफ्नो योजना सफल नहुँदा ट्रम्प निराश देखिएका छन् ।

एकातिर अमेरिकीहरूले युद्धविराम र शान्ति योजना ‘तत्काल’ गर्नुपर्ने  दबाब दिइरहेका भने युक्रेन र उसका युरोपेली सहयोगी सावैभौमिकतामाथि आँच आउने प्रस्तावमा सहमत हुन नसकिने अडानमा रहँदा समस्या पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्