नेभिगेशन
विश्व

मानव जीवन बचाउन विश्व समुदायलाई आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । सहयोग कार्यक्रमहरूका लागि आवश्यक रकम निकै कमी हुँदा यस वर्षको माग सीमित दायरामा प्रस्तुत गरिएको संयुक्त राष्ट्रले जनाएको छ ।

संयुक्त राष्ट्रका मानवतावादी प्रमुख टम फ्लेचरले २०२५ भरि विभिन्न देशहरूमा देखिएका हिंसा, यौन अत्याचार, मानवअधिकार उल्लंघन र कानूनको अवज्ञाले आफूलाई गम्भीर रूपमा दुखित बनाएको बताए । उनले भने, ‘यो त्यस्तो समय हो जहाँ नियमहरू कमजोर भइरहेका छन् र विश्वको ध्यान मानव पीडाबाट विस्थापित हुँदै गएको छ ।’

संयुक्त राष्ट्रले गाजा, युक्रेन, सुडान र म्यानमा जस्ता संकटग्रस्त क्षेत्रमा आठ करोड ७० लाख मानिसलाई सहयोग गर्न कम्तीमा २३ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । सन् २०२६ मा १३ करोड ५० लाख मानिसलाई सहयोग पुर्‍याउन ३३ अर्ब डलर आवश्यक पर्ने अनुमान छ, तर यो लक्ष्य हासिल गर्न सजिलो छैन । संयुक्त राष्ट्रको अनुमान अनुसार, युद्ध, महामारी, प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनबाट प्रभावित करिब २४ लाख मानिसलाई आपतकालीन सहायता आवश्यक देखिएको छ । सहयोगको प्राथमिकतामा गाजा र पश्चिमी किनारा छन् । संयुक्त राष्ट्रसंघले त्यहाँ ३० लाख मानिसलाई सहयोग गर्न चार अर्ब १० करोड डलर माग गरेको छ । सुडानमा हिंसाबाट विस्थापित २० लाख मानिसलाई सहयोग गर्न दुई अर्ब ९ करोड डलर उठाउने योजना पनि राष्ट्रसंघको छ ।

फ्लेचरले सुडानको टाविला घटनाको उदाहरण दिँदै भने, ‘एक आमा आफ्ना पति र बच्चा हत्या भएको देखेपछि बच्चासहित भागिन् । उनले धेरै पीडा सहिन् किनभने उनमा अझै साहस बाँकी थियो ।’

संयुक्त राष्ट्रले सदस्य राष्ट्रहरूलाई ८७ दिनभित्र सहयोग जुटाउन आग्रह गरेको छ । यदि माग पूरा भएन भने माग पुरा गराउन नागरिक समाज, निजी क्षेत्र र साधारण मानिससम्म पुग्ने अभियान राष्ट्रसंघले चलाउने बताएको छ । फ्लेचरले भने, ‘हामी विश्वले रक्षा खर्चमा खर्च गरेको रकमको केवल एक प्रतिशतभन्दा अलिकति मात्र मानवतावादी सहयोग माग गर्दैछौं । रक्षा खर्च कम गरेर मानवतावादी सहायता बढाउनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्