नेभिगेशन
खेलकुद

इन्टर–कलेज गल्र्स बास्केटबलमा गोल्डेनगेट च्याम्पियन

ललितपुरको सिद्धिपुरस्थित रोयल बास्केटबल एकेडेमीमा आयोजित दोस्रो इन्टर–कलेज गल्र्स बास्केटबल टुर्नामेन्ट २०२५को उपाधि गोल्डेनगेट इन्टरनेशनल कलेजले हात पारेको छ । गोल्डेनगेटले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । यस्तै, जेभियर इन्टरनेशनल कलेज पहिलो रनर–अप र ल्यान्डमार्क एकेडेमी दोस्रो रनर–अप पदक प्राप्त गरेका छन् ।

प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा आठ कलेजका महिला टोलीहरूको सहभागिता थियो । शिक्षा क्षेत्रमा ३२ वर्षभन्दा बढी समय बिताएको प्रोफेशनल एजुकेशनले पछिल्लो करिब दुई दशकदेखि महिला खेलकुद प्रवर्द्धनमा सक्रिय रहँदै आएको छ । क्रिकेट तथा बास्केटबलमा युवतीहरूको सहभागिता विस्तारमा संस्थाको योगदान उल्लेखनीय रहेको आयोजकले जनाएको छ । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान तथा कन्सल्टेन्सीकी ब्रान्ड एम्ब्यासडर इन्दु वर्माको संलग्नताले संस्थाको महिला खेलाडीमाथिको प्रतिबद्धता झनै मजबुत भएको बताइएको छ ।

समापन समारोहकी प्रमुख अतिथि अनुष्का श्रेष्ठले खेलकुदले नेतृत्व क्षमता, आत्मविश्वास र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महिलालाई समान अवसरसहित सक्षम प्लेटफर्म उपलब्ध गराउन आवश्यक रहेको धारणा व्यक्त गरिन् । कन्सल्टेन्सीका सेल्स एण्ड मार्केटिङ डिरेक्टर राजु सिंहले संस्था शिक्षासँगै सामाजिक दायित्वप्रति पनि प्रतिबद्ध रहेको उल्लेख गर्दै महिला खेलकुद प्रवर्द्धनका कार्यक्रमहरू आगामी वर्षहरूमा निरन्तर सञ्चालन गरिने बताए । प्रतियोगिता मङ्सिर १५ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद