नेभिगेशन
अर्थतन्त्र

एनसेल भ्रमणपछि सेवा विस्तार र लगानी संरक्षणमा मन्त्री खरेलको प्रतिबद्धता

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले ललितपुर नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टर अवलोकन गर्दै दूरसञ्चार क्षेत्रको बलियो पूर्वाधार निर्माणमा एनसेलले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका छन् । अवलोकनका क्रममा उनलाई एनसेलका अध्यक्ष सतीशलाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनीका वरिष्ठ पदाधिकारीहरूले स्वागत गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा एनसेलले व्यहोरेको करिब ६५ करोड रुपैयाँ बराबरको क्षतिप्रति दुःख व्यक्त गर्दै मन्त्री खरेलले लगानी–मैत्री वातावरण निर्माण सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे । ‘प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकारले कुनै कसर छोड्दैन । लगानी प्रवद्र्धन हाम्रो साझा दायित्व हो, र यसमा सरकार एनसेलसहित सबै लगानीकर्ताको साथमा छ,’ मन्त्री खरेलले भने । उनले देशको सूचना तथा सञ्चार प्रविधि विकासमा एनसेलको योगदान उल्लेखनीय रहेको भन्दै कम्पनीलाई सेवा विस्तारमा अझ सक्रिय हुन पनि आग्रह पनि गरे । विशेषगरी सगरमाथा क्षेत्र तथा ग्रामीण भेगमा किफायती तथा गुणस्तरीय सेवा सुनिश्चित गर्न सरकार सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।

सो अवसरमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागि हुने १०० विद्यार्थीलाई छात्रवृति प्रदान गर्न एक करोड रुपैयाँको कोष व्यवस्था गरिने बताए ।

मन्त्री खरेलले एनसेलको ‘जेन जी प्याक’ तथा प्रत्येक वर्ष १०० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने योजनाको मन्त्री खरेलले प्रशंसा गरे । ‘यस्ता पहलले सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउनुका साथै डिजिटल पहुँच विस्तारमा मद्दत गर्छ,’ उनले भने ।

डिजिटल नेपाल निर्माणको सरकारी लक्ष्यलाई सम्बोधन गर्दै मन्त्री खरेलले एनसेलको डाटा सेन्टर जस्तो पूर्वाधार राष्ट्रिय डिजिटलाइजेशन अभियानका आधारस्तम्भ भएको बताए । उनले एनसेलले दुई दशकदेखि रोजगारी सिर्जना, कर योगदान र सामाजिक परियोजनामार्फत देशको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा अझ सहकार्य गर्न सरकार तयार रहेको दोहाेर्‍याए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्