नेभिगेशन
विश्व

ड्युटी धेरै गर्दा जागिर चट !

व्यवस्थापनले उनलाई पटक–पटक बोलाएर ‘तोकिएको समयमै आउनू, अगाडि नआउनू’ भनेर स्पष्ट निर्देशन दिएको थियो।

बार्सिलोना – आफ्नो कामलाई कसैले बढी समय दिन्छ भने कार्यालयले के गर्ला ? पक्कै प्रोत्साहन भन्नुहोला । तर, अलि फरक घटना भएको छ स्पेनमा । अलिकान्ते नामकी २२ वर्षीया एक युवतीलाई कम्पनीले बढी समय जागिर खाएको भन्दै निकाला गरेको छ ।

यो घटना र अलिकान्ते अहिले भाइरल बन्न पुगेकी छन् । एउटा डेलिभरी कम्पनीमा काम गर्ने उनी कहिल्यै ढिलो नहोस् भनेर सधैं ३० देखि ४५ मिनेटअगावै अफिस पुग्ने गर्थिन् । उनले आवश्यकताभन्दा बढी जिम्मेवारी लिएको भन्दै कम्पनीले उनलाई जागिरबाट निष्कासन गरेको हो ।

उनले आफ्नो गल्तीबिना जागिरबाट निकाला गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी भए पनि अदालतले समेत कम्पनीको निर्णयलाई सही ठहर्‍याएको छ । अदालतको निर्णयसँगै उनी क्षतिपूर्तिबिना नै जागिर गुमाउने इमानदार कामदार बन्न पुगेकी छन् ।

अलिकान्ते एउटा पार्सल र कुरियर सेवा कम्पनीमा काम गर्न थालेको केही समयमै ‘समयपालक’ कर्मचारीका रूपमा चिनिएकी थिइन् । उनको दैनिक ड्युटी ७ः३० बजे सुरु हुने भए पनि उनी प्रायः ६ः४५ देखि ७ बजे नै कार्यालय पुगिसकेकी हुन्थिन् । यसलाई उनले आफ्नो कामप्रतिको समर्पण र समय व्यवस्थापनको हिस्सा ठान्थिन् ।

कम्पनीको व्यावहारिक प्रणाली भने उनको त्यो समय व्यवस्थापनसँग मेल खाँदैनथ्यो । अफिसले समयानुसार कामको तालिका, शिफ्ट र डिजिटल हाजिरी प्रणाली मिलाएको थियो, जहाँ तोकिएका घण्टाभन्दा बाहिरको उपस्थिति र सिस्टममा हुने हेरफेरलाई कडाइका साथ नियालिरहन्थ्यो ।

कम्पनीका सुपरभाइजरहरूलाई सुरुमा उनको चाँडो आउने बानी ‘प्रशंसनीय’ लागे पनि चाँडै प्राविधिक र प्रशासनिक समस्या देखिन थाल्यो । हाजिरी एपमार्फत उनले कहिलेकाहीं औपचारिक समय सुरु हुनुअगावै र कहिलेकाहीं कम्पनी परिसरबाट निस्किएपछि मात्र ‘फिच’ गरेको रेकर्ड देखियो, जसले कम्पनीको आन्तरिक नियमविपरीत अतिरिक्त समयजस्तो भ्रम सिर्जना गर्‍यो । त्यसपछि व्यवस्थापनले उनलाई पटक–पटक बोलाएर ‘तोकिएको समयमै आउनू, अगाडि नआउनू’ भनेर स्पष्ट निर्देशन दिएको थियो ।

तर, उनले कम्पनीको निर्देशनलाई बेवास्ता गर्दै आइरहेकी थिइन् ।

करिब एक महिनाको अवधिभित्र उनले झण्डै १९ पटक ३०–४५ मिनेटअगावै हाजिरी गरेको रेकर्ड रहेको विवरण अदालतका कागजातमा उल्लेख गरिएको छ । अन्त्यतिर फेरि चेतावनी दिइए पनि उनको बानी उस्तै रहेपछि कम्पनीले ‘अनुशासन उल्लंघन र आदेश नमानेको’ भन्दै अनुशासनात्मक कारबाही गर्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उनले भने आफूलाई ज्यादतीपूर्वक कम्पनीले जागिरबाट निकाला गरेको भन्दै श्रम अदालतमा मुद्दा हालेकी थिइन् ।

तर, श्रम अदालतका न्यायाधीशले कम्पनीमा छिटो आउनुभन्दा पनि नियमपालन जरुरी रहेको भन्दै कम्पनीले गरेको निष्कासनलाई जायज ठहर्‍याएका थिए । उनको भनाइ थियो, ‘मूल विवाद कम्पनी र कर्मचारीबीच विश्वास र नियमपालनको सम्बन्धमा हो । जब कम्पनी र कामदारबीच विश्वास र नियमपालन हुँदैन, त्यो बेला कम्पनीले कारबाही गर्न सक्छ ।’

अदालतले निर्णय गर्दै भनेको छ, ‘कम्पनीले बारम्बार नआउनू भनेको समयमै उपस्थित भएर कम्पनीको नियम उल्लंघन गरिरहनु, सोही क्रममा हाजिरी एपको प्रयोगले पनि भ्रमित गर्ने स्थिति सिर्जना गर्नु, यी सबै कुराले गम्भीर अवज्ञा, अविश्वास र दुरुपयोग हुन पुगेको छ । त्यसैले स्पेनी श्रम कानूनअनुसार यस्तो व्यवहारले क्षतिपूर्तिबिना बर्खास्त गर्न मिल्ने ‘गम्भीर गल्ती’को मापदण्ड पूरा गरेको ठहर गरिएको छ ।’

स्पेनको श्रम कÞानूनले कम्पनीलाई मनपरी कर्मचारी निकाल्ने छुट दिएको छैन तर त्यहाँ ‘अनुशासनात्मक बर्खास्तगी’को प्रावधान भने रहेको छ । यसले बारम्बारको अवज्ञा, हाजिरीमा धोकाधडी वा विश्वासघातजस्ता काम प्रमाणित भए क्षतिपूर्तिबिना जागिर गुम्ने सम्भावना हुन्छ । अदालतले यस घटनामा कम्पनीले दिएको लिखित चेतावनी, हाजिरी रेकर्ड, सुपरभाइजरको बयानलगायत प्रमाणका आधारमा निर्णय गरेको भन्दै विस्तारमा व्याख्या गरेका कानून विज्ञहरूले ‘यो घटना भावनाको नभई विधिको’ भएको टिप्पणी गरेका छन् ।

एक श्रम कानून विशेषज्ञले यस घटनालाई विश्लेषण गर्दै भनेका छन्, ‘समस्या छिटो आउनु होइन, दिइएको निर्देशनलाई पटक–पटक नमान्नु हो ।’ जतिसुकै सकारात्मक देखिए पनि, यदि कुनै व्यवहारले संगठनको नियम र कामको प्रवाह बिगार्छ भने त्यो ‘अति जिम्मेवारी’ होइन, ‘अनुशासनहीनता’का रूपमा व्याख्या हुन सक्छ ।

यस घटनापछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा राम्रो काम गरे पनि सजाय पाइनेबारे निकै चर्चा हुन थालेको छ । धेरैले ती युवतीप्रति सहानुभूति जनाएका छन् भने कम्पनीले कठोर निर्णय गरेको भन्दै आलोचना गरेका छन् । त्यस्तै केहीले भने सामूहिक काम र प्रणालीभन्दा बाहिर जान नहुने आवश्यकतालाई जोड दिएका छन् ।

यस घटनाले कामको संस्कृतिसम्बन्धी दुई फरक दृष्टिकोण रहेको देखाएको छ । एकातिर, व्यक्तिगत समर्पण र ‘अतिरिक्त प्रयास’लाई हौसला दिनुपर्ने तर्क छ भने अर्कातिर, संस्थागत नियम, समयतालिका, हाजिरी प्रणाली र सहकर्मीहरूको भूमिकासँग तालमेल नमिल्ने कुनै पनि व्यक्तिगत शैलीले दीर्घकालमा समस्या निम्त्याउन सक्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्