नेभिगेशन
अर्थतन्त्र

एभरेष्टको सर्वाधिक, कुमारीले दिएन

१३ बैंकको लाभांश

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने क्रम बढेको छ । मंगलबार (मंसिर २४ गते)सम्म १३ वटा वाणिज्य बैंकहरूले लाभांशसम्बन्धी निर्णय गरेका छन् । सबैभन्दा धेरै लाभांश एभरेष्ट बैंकले दिएको छ भने कुमारी बैंकले नदिने भएको छ ।

नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेसँगै वाणिज्य बैंकहरूले लाभांश घोषणा तीव्र पारेका हुन् । यसवर्ष अधिकांश बैंकहरूको लाभांश दर अघिल्लो वर्षको तुलनामा केही घटेको देखिन्छ ।

प्रकाशित विवरणअनुसार अहिलेसम्म लाभांश वितरण गरेका बैंकहरूमध्ये एभरेष्टले सबैभन्दा धेरै २० प्रतिशत दिएको छ । जसमध्ये १४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर रहेको छ । एभरेष्टले सो लाभांश वार्षिक साधारणसभाबाट पारित गरि शेयरधनीमा वितरण गरिसकेको छ । एभरेष्ट बैंकले गतवर्ष भन्दा धेरै लाभांश वितरण गरेको छ । गतवर्ष बैंकले ५.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एभरेष्टपछि स्टान्डर्ड चार्टर्ड बैंकले धेरै लाभांश दिएको छ । बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएको हो । यो लाभांश गतवर्षभन्दा कम हो । गतवर्ष बैंकले २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अहिलेसम्म धेरै लाभाश वितरण गर्नेहरूको सूचीमा तेस्रो स्थानमा कृषि विकास बैंक छ । बैंकले आर्थिक वर्ष २०८१/८२को नाफाबाट शेयरधनीलाई ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत शेयर गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लाभांश पारित गर्न बैंकले मंसिर २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।

नबिल बैंक धेरै लाभांश वितरण गर्ने बैंकहरूको सूचीमा चौथो नम्बरमा छ । बैंकले १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । नबिलले लगातार तीन वर्षदेखि बोनस शेयर वितरण गरेको छैन ।

लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । यो बैंकले लाभांश पारित गर्नका लागि पुस १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश दिएको छ । यो बैंकले ५.५३ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले कात्तिक ३० गते साधारणसभा बसी लाभांश पारित गरिसकेको छ ।

एनएमबि बैंकले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले वार्षिक साधारणसभाको मिति भने तोकिसकेको छैन । यस्तै, नेपाल एसबिआई बैंकले पनि ५ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो बैंकले पनि साधारणसभाको मिति घोषणा गरेको छैन ।

माछापुच्छ«े बैंक र ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत लाभांश दिएका छन् । माछापुच्छ«ेले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गत असोज १० गते बसेको वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीमा वितरण गरिसकेको छ । ग्लोबल आइएमई बैंकले पनि कात्तिक २६ गते साधारणसभा बसेर ८ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

सानिमा बैंकले पनि ७.३७ प्रतिशत नगद लाभांश घोषणा गरेर साधारणसभाबाट पारित गरिसकेको छ । यस्तै सिटिजन्स बैंक इन्टरनेशनलले पनि ५.२६ प्रतिशत लाभांश घोषणा गरि साधारणसभाबाट पारित गरिसकेको छ ।

कुमारी बैंकले भने शेयरधनीलाई कुनै लाभांश दिएन । बैंकले २०७९/८० पछि शेयरधनीलाई लाभांश नदिएर निराश बनाउँदै आएको छ ।

नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया, प्राइम कार्सियल, प्रभु र राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेका छैनन् ।

कोभिड १९ पछि ऋण असुलीमा समस्या आउँदा अधिकांश बैंकहरूको नाफामा कमी आएको छ । त्यसैले बैंकहरूको लाभांश क्षमता पनि खुम्चिएको छ । आर्थिक गतिविधि सुस्त हुँदा बैंकमा ऋणको माग पनि घटेर गएको छ । जसका कारण प्रणालीमा अधिक तरलता छ । यसले बैंकहरूको ब्याज लागत बढेर गएको छ । जसको असर नाफा सँगै लाभांश वितरणमा परेको छ । यद्यपि अधिकांश बैंकहरूले आफ्ना शेयरधनीलाई लाभांश वितरण गरेका छन् । लाभांश दरमा आएको कमीले बैंकहरूको नाफामा परेको दबाबलाई संकेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्