नेभिगेशन
अर्थतन्त्र

मोहना नदी–दैजी सडक निर्माणको तोडियो ठेक्का

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी– डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धिसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँग गरेको ठेक्का तोडेको हो । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किमि मात्र कालोपत्रे गर्न बाँकी छ । तर, काम रोकिएको छ । यो सडक आयोजनाको निर्माण प्रगति करिब ८२ प्रतिशत छ ।

पटक–पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले अटेर गरेको , प्रतिबद्धताबमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ । योजना कार्यालय धनगढीबाट गत कात्तिक १४ मा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको हो । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फ समेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्