लण्डन – कहिलेकाहीँ विश्वास गर्न गाह्रो लागे पनि, आज संसारमा रहेका सबै कुकुरका पुर्खा ब्वाँसा नै थिए । धेरै प्राचीन समयमा ब्वाँसाबाट क्रमिकरूपमा विकास हुँदै कुकुर बनेका हुन् । चाहे संसारकै सबैभन्दा सानो मानिने चिहुआहुआ होस् वा कुनै ठूलो आकारको कुकुर, सबैको मूल एउटै हो ।
तिनका पुर्खा अहिले पृथ्वीमा छैनन् । आजका कुकुरसँग सबैभन्दा नजिकको नाता खैरे ब्वाँसो सँग छ । यो ब्वाँसो अझै पनि जंगलमा बस्छ र अत्यन्त शक्तिशाली सिकारीका रूपमा चिनिन्छ । तर यस्तो खतरनाक ब्वाँसो र मानिसबीच कसरी यति मीठो सम्बन्ध कसियो ? यो निकटता कहिलेदेखि सुरु भयो ? अनि कुकुरले संसारभरका मानिसको मनमा यति विशेष स्थान किन पाए ?
सामान्यतया कुकुरलाई मानिसले सबैभन्दा पहिले घरपालुवा बनाएको जनावर मानिन्छ । सन् २०१७ मा गरिएको प्राचीन कुकुरको डीएनए अध्ययनले युरोपमा करिब २० हजारदेखि ४० हजार वर्षअघि ब्वाँसोबाट कुकुरमा विकसित भएको हुनसक्ने संकेत दिएको छ । पहिले कुकुर पाल्ने प्रक्रिया संसारका दुई फरक–फरक ठाउँमा रहेका ब्वाँसाका समूहबाट सुरु भएको मानिन्थ्यो । यी एकअर्काबाट हजारौं किलोमिटर टाढा थिए ।
यद्यपि कुकुर र मानिसको मित्रताको सुरुआत ठ्याक्कै कसरी भयो भन्ने विषयमा अहिलेसम्म एकमत जमिसकेको छैन । अनुसन्धानकर्ताहरू यसबार विभिन्न सिद्धान्तमार्फत उत्तर खोजिरहेका छन् ।
एउटा चर्चित मान्यताअनुसार, मानिसले ब्वाँसाका छाउरा जंगलबाट ल्यायो र हुर्कायो । तिनका सन्तान र दरसन्तान क्रमशः कम आक्रामक स्वभावका हुन पुगे । त्यस्तै कम आक्रामक प्रजातिका ब्वाँसालाई छानेर शिकारमा सहयोगी बनाउँदै लगे ।
अर्को लोकप्रिय विचार भने ब्वाँसालाई मानिसले होइन कि बरु आफैंलाई बिस्तारै मानिससँग अभ्यस्त बनाउन सुरु गर्यो । यो धारणाअनुसार, केही ब्वाँसा मानिससँग कम डराउँथे । उनीहरू मानव बस्ती वरिपरि आएर खाना खान थाले ।
समयसँगै मानिसले पनि ती ब्वाँसाको उपस्थिति उपयोगी भएको बुझ्न थाले । उनीहरूले खतरा आउँदा चेतावनी दिन्थे र वरपरका अन्य जनावरलाई टाढै राख्थे ।
यस प्रक्रियामा जो भेडिया बढी निडर र मानिससँग घुलमिल गर्न सक्थे, उनीहरू नै बाँच्न सफल भए र तिनले बढी सन्तान जन्माउन सफल भए । यसरी प्राकृतिक छनोटका कारण कम डराउने र मिलनसार स्वभाव पुस्तौंसम्म सर्दै गयो र ती ब्वाँसा क्रमशः कुकुरजस्तै घरपालुवामा रूपान्तरण भए । अक्सफोर्ड विश्वविद्यालयका इभोल्युसनरी जीनोमिक्सका प्राध्यापक तथा जेनेटिसिस्ट ग्रेगर लार्सनका अनुसार, मानिस र ब्वाँसाको सम्बन्धको सुरुआतमा दुवै पक्षलाई फाइदा थियो । यसले शिकार गर्न सजिलो बनायो । ‘यदि हामीले ब्वाँसालाई पाल्तु बनायौं भन्यौं भने, त्यो काम हामीले योजनाबद्ध रूपमा गरेका थियौं जस्तो लाग्छ तर वास्तविक जीवनका सम्बन्धहरू प्रायः यस्ता हुँदैनन्,’ लार्सनको भनाइ छ, ‘यसरी भन्नाले हामीलाई सबै थाहा थियो, स्पष्ट योजना थियो भन्ने अर्थ लाग्छ, जुन सम्भवतः सही होइन ।’
उनको बुझाइमा, यदि ब्वाँसाले मानिसलाई आफ्नै समूहको सदस्य माने, भने उनीहरू चौकीदारजस्तै सतर्क हुन्थे, जसले सुरक्षा बढाउँथ्यो । ब्वाँसाको दृष्टिकोणबाट हेर्दा, उनीहरूलाई नियमित रूपमा खाना पाउने सम्भावना पनि बढ्थ्यो ।
हजारौं वर्षको अवधिमा मानिसले कुकुरलाई विशेष गुणका लागि छानेर हुर्कायो— जस्तै शिकार गर्ने वा बथान सम्हाल्ने क्षमता । समयसँगै कुकुरको भूमिका पनि धेरै परि वर्तन भयो । पहिले गुफाको रक्षा गर्ने कुकुर आज मार्गदर्शक कुकुर बनेका छन् वा विमानस्थलमा शंकास्पद वस्तु सुँघ्ने काम गर्छन् ।
मानिसको यस हस्तक्षेपका कारण आज सयौं किसिमका कुकुरका नश्ल विकसित भएका छन् । एन्थ्रोजुलोजिस्ट जोन ब्र्याडशका अनुसार, कुकुरमा देखिने आकार–प्रकारको विविधता कुनै पनि अन्य स्तनधारीभन्दा धेरै छ । इतिहासको एक चरणमा कुकुर सहयोगी मात्र रहेनन्, उनीहरू परिवारको सदस्य नै बने ।
सन् २०२० मा बेलायतको न्यू क्यासल विश्वविद्यालयले पाल्तु जनावरका चिहानमा लेखिएका अभिलेखहरूको अध्ययन गर्यो । यसले सन् १८८१ मा पहिलो सार्वजनिक घरपालुवा जनावरको समाधिस्थल रहेको खुलासापछि मानिसको दृष्टिकोणमा ठूलो परिवर्तन आएको देखायो । अनुसन्धानअनुसार, बेलायतको भिक्टोरियन कालमा चिहानमा कुकुरलाई ‘साथी’ वा ‘मित्र’ भनेर उल्लेख गरिन्थ्यो । पछि आएर उनीहरूलाई परिवारको सदस्यका रूपमा हेर्न थालियो । विशेष गरी दोस्रो विश्वयुद्धपछि कुकुरलाई ‘परिवारको अंश’ भनेर उल्लेख गर्ने प्रवृत्ति उल्लेखनीयरूपमा बढ्यो ।
अनुसन्धानले २०औं शताब्दीको मध्यतिर मानिसले पाल्तु जनावरका लागि मृत्युपछिको जीवनमा पनि विश्वास गर्न थालेको देखाएको छ । अर्थात्, कुकुर मरेपछि पनि कुनै अर्को संसार हुन्छ भन्ने धारणा बलियो बन्दै गयो ।
कर्नेल विश्वविद्यालयका अनुसार, कुकुरका बच्चाले आमासँग र दाजुभाइसँग ८ देखि १२ हप्तासम्म बस्नु सबैभन्दा उपयुक्त हुन्छ । यही समय उनीहरूको सिकाइ र बुझाइका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसै अवधिबारे एरि जोना स्टेट विश्वविद्यालयले सन् २०१८ मा गरेको अध्ययनले यही उमेरमा कुकुरका बच्चा सबैभन्दा धेरै ‘ प्यारा’ देखिने तथ्य उजागर गरेको छ ।
प्राध्यापक लार्सन भन्छन्, ‘यो त्यही समय हो जब बच्चा आमामा पूर्णरूपमा निर्भर हुन्छ र आफैं बाँच्न सक्दैन । त्यसैले उनीहरू मान्छेका लागि अत्यन्तै मायालु देखिन्छन्, ताकि मानिसले अपनाओस् र हेरचाह गरोस् ।’
सन् २०१९ को अर्को अनुसन्धानले कुकुरले आँखाको वरिपरि यस्ता मांसपेशी विकास गरिसकेको देखायो, जसले उनीहरूलाई निर्दोष र भावुक भाव देखाउन मद्दत गर्छ । यस्तो भाव मानिसलाई तुरुन्तै मन पर्छ । यसले कुकुर र मानिसबीचको सम्बन्ध झन् गहिरो बनाएको छ । ब्यार्डशका अनुसार, ‘जब छाउराहरूले मानिस खतरा होइन भन्ने बुझ्छ, उसको स्वभावले बाँच्ने सबैभन्दा राम्रो उपाय मानिससँग जोडिनु हो भन्ने संकेत दिन्छ ।’
धेरै मानिसलाई आफ्नो कुकुरले आफूलाई माया गर्छ भन्ने विश्वास छ र अहिले विज्ञानसँग यसको प्रमाण पनि छ । एमोरी विश्वविद्यालयका न्यूरोसाइन्स र मनोविज्ञानका प्राध्यापक ग्रेगोरी बर्न्स कुकुर र मानिसबीचको सम्बन्धमाथि अध्ययन गर्छन् ।
उनले कुकुरलाई यसरी तालिम दिएका छन् कि फङ्सनल एमआरआई स्क्यानका क्रममा उनीहरू शान्त भएर बस्न सकून्, ताकि मस्तिष्कको गतिविधि अवलोकन गर्न सकियोस् । उनको अनुसन्धानले कुकुरको मस्तिष्कको सकारात्मक भावना र राम्रो अपेक्षासँग सम्बन्धित भाग त्यतिबेला बढी सक्रिय हुन्छ, जुनबेला उसले परिचित मानिसको गन्ध पाउँछ । यसको अर्थ, कुकुरप्रतिको हाम्रो प्रेम रोक्न सकिँदैन र यो प्रेम दुवैतर्फबाट बराबर हुन्छ ।