नेभिगेशन
दृष्टिकोण

मूल मुद्दामा निर्मम समीक्षाको घडी

एकातर्फ कांग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनपछि आफ्नो घर–झगडा वा आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसक्दा प्रजातन्त्रको स्थायित्व र राजनीतिक स्थिरता दिँदै देशलाई प्रगतिको पथमा डोर्‍याउन चुक्यो भने, १२ बुँदे समझदारी यता सत्ता स्वार्थबाट प्रेरित भएर नानाभाँतीको सम्झौता गर्दै वामपन्थी भासमा फसेका कारण आज कांग्रेस कमजोर भएको हो ।

देशको वर्तमान राजनीति सामान्य अवस्थामा छैन । देश इतिहासकै सबैभन्दा जटिल चुनौतीबाट गुज्रिरहेको छ । भदौ २३ र २४ को अकल्पनीय राजनीतिक दुर्घटनापछि देशको सत्ता संवैधानिक लिकभन्दा बाहिर गएको छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न भएर निर्वाचित सरकार बहाली भयो भने वर्तमान संवैधानिक जटिलताको अन्त्य हुने विश्वास लिइएको छ तर त्यतिले मात्र देशको राजनीतिक जटिलता र समस्याको समाधान हुने छैन । राजनीतिक समस्या त भदौ २३ अघि पनि थियो ।

स्वाभाविकरूपमा २०८४ सालमा हुने संसद् को निर्वाचन २०८२ सालमा हुँदैमा देशको राजनीतिक समस्याको समाधान हुने हो–होइन ? निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकार बन्दैमा सबै समस्याको समाधान हुने भए निर्वाचित सरकार पनि थियो, संसद् पनि थियो, किन भदौ २३ र २४ को दुर्घटना भयो ? त्यसको समुचित उत्तर नआएसम्म त्यसको सम्बोधन नभएसम्म चुनाव हुनुले मात्र पनि देशको राजनीतिक संकटको समाधान हुने छैन ।

भदौ २३ र २४ को घटनापछि विकसित विशेष राजनीतिक परिस्थितिमा संविधान बाहिरबाट प्रधानमन्त्री बनेकी सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीको नेतृत्वमा निर्वाचन गराउने प्रमुख जिम्मेवारी लिएर खडा भएको सरकारको वैधानिकतामाथि एकातर्फ सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ भने स्वयं सरकारले आफ्नै दैनिक कमजोर डेलिभरी, राजनीतिक दलहरूको विश्वास लिन नसकेको अवस्था, निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसक्नु, राजनीतिक दललाई पर्बाह नगरी एकपक्षीय ढंगले जेनजी समूहसँग गरिएको वाञ्छित– अवाञ्छित विवादास्पद सम्झौता आदि कारणले सरकार स्वयंले आफ्नो हैसियत र विश्वसनीयता गुमाउँदै गएको छ । यस्तो अवस्थामा यो सरकारले तोकिएको मितिमा चुनाव गराउँछ भनेर विश्वास गर्ने आधार अहिलेसम्म तयार भएको देखिंदैन ।

यसैबीच राजनीतिक दलहरू आफ्नो महाधिवेशनको चटारोमा देखिएका छन् । नेकपा (एमाले)ले आफ्नो एघारौं महाधिवेशन ओलीको हैकम र छायामा जेनतेन सकेको छ । ओलीकै दबदबा रहेको पार्टीमा महाधिवेशनमा ओलीले नै जितेका छन्, यो आश्चर्यको कुरा भएन । एमालेको ११औं महाधिवेशनबाट ओलीले उनको प्यानलसहित तेस्रोपटक चुनाव जितेर पार्टी सभापति त भए तर सिंगो एमाले पार्टी पराजित भएको आम अनुभूति भएको छ । किनकि, असफल भएका नेताले बिदा लिऊन्, पार्टी नयाँ नेतृत्वका साथ नयाँ ढंगले अगाडि आऊन् भन्ने आम चाहना थियो ।

देशको सबैभन्दा पुरानो ऐतिहासिक प्रजातान्त्रिक दल नेपाली कांग्रेस पुस महिनाको अन्त्यमा महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ तर क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा भएको ढिलाइ, विवाद र अलमल, महाधिवेशको कठोर तालिका, पार्टीको कार्यशैली र नेतृत्वको सोच र अस्थिर एवं अन्योलग्रस्त राष्ट्रिय राजनीतिलाई हेर्दा नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएको समयमा हुन असम्भवजस्तै देखिएको छ । संस्थापन पक्ष यसै पनि महाधिवेशनलाई पर सार्ने पक्षमा छँदैथियो । पार्टीको एक पक्षको आन्तरिक दबाबले महाधिवेशनको मिति त तोकियो तर अपत्यारिलो तालिका प्रकाशित भएबाट नै महाधिवेशन गर्नका लागि यो तालिका जारी भएको होइन भनेर बुझ्न गाह्रो थिएन । ल छोडौं, कांग्रेस महाधिवेशन एक दिन होला नै !

समयमा महाधिवेशन नभएका कारण नेपाली कांग्रेसको यो हविगत भएको होइन । महाधिवेशन त विगतमा पनि चार वर्षमा कहिले पो भएको थियो र अहिले चारै वर्षमा गर्नुपर्ने ? महाधिवेशन समयमा नभएर भन्दा गलत नीति र खराब नेतृत्वका कारण कांग्रेस कमजोर भएको हो । पार्टीले लिएका गलत नीति, सिद्धान्त र चरम सत्तालोलुपता, अक्षम एवं कमजोर नेतृत्वका कारण आज कांग्रेस कमजोर बनेको हो । महाधिवेशन सम्पन्न हुँदैमा पार्टीको नेतृत्व सही आउने छ र पार्टी उँभो लाग्ने छ भन्ने कुरामा भर पर्न सकिने रहेनछ भन्ने कुरालाई त भर्खर सम्पन्न एमाले महाधिवेशनलाई हेरे पुग्छ । तथापि, नेपाली कांग्रेसको महाधिवेशन त एक दिन गर्नैपर्छ ।

नेपाली कांग्रेसप्रति स्वयं आम कार्यकर्ता र जनतामा यति विघ्न निराशा किन छ ?, भदौ २३ र २४ को जनविद्रोहमा नेपाली कांग्रेस पार्टी कार्यालय र नेताहरू किन निसानामा परे ? नेपाली कांग्रेसका लाखौं कांग्रेसीहरू पार्टीको नीति र नेतृत्वप्रति निराश हुँदै क्रियाशील सदस्यता नवीकरण गर्न किन अनिच्छुक भए ?, डेढ महिना लगाएर चलेको नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति बैठकले यी यस्ता सवालतर्फ अलिकति पनि गम्भीरता देखाएन । केवल विशेष महाधिवेशन र नियमित महाधिवेशनको पक्ष र विपक्षमा सिद्धान्तहीन बहस गरे, १५औं महाधिवेशनमा पार्टीको नेतृत्व कसरी कब्जा गर्ने भन्ने मनोविज्ञानबाट उराठ लाग्दो रस्साकस्सी गरे तर देशको जटिल राजनीति र आफ्नै पार्टीको भविष्यप्रति अलिकति पनि गम्भीर भएनन् ।

देश आजको जटिल राजनीतिक अवस्थामा आइपुग्नुको प्रमुख जिम्मेवार दल वा राजनीतिक शक्ति नेपाली कांग्रेस पार्टी नै हो भन्नेमा कुनै सन्देह छैन । नेपाली कांग्रेस देशको प्रमुख प्रजातान्त्रिक एवं राष्ट्रवादी शक्ति हो भन्ने कुरालाई कांग्रेसका विरोधी राजनीतिक दल र शक्तिहरू नै स्वीकार गर्दछन् । कांग्रेसले आफ्नो फाउण्डिङ प्रिन्सिपल र बीपी कोइरालाले नेपाली राजनीति र कांग्रेसकै लागि निर्धारण गरिदिनुभएको दिशानिर्देश ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ विपरीत नेतृत्वको उग्र–राजनीतिक महŒवाकांक्षा र सत्तामोहबाट सिद्धान्तहीन सम्झौताको राजनीतिको गर्दै अगाडि बढेकै कारण नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो गौरवशाली नेतृत्वदायी भूमिका र अविभावकीय स्थान गुमाउँदै गएको हो ।

कांग्रेसले हामीले माओवादीलाई हिंसाको राजनीतिबाट मुक्त गरेर शान्तिपूर्ण राजनीतिको मार्गमा ल्यायौं । संविधान सभाको मुद्दा हाम्रै थियो, २००७ सालदेखिको नेपाली जनताको संविधान सभामार्फत संविधान निर्माण गर्ने चाहनालाई हामीले नै पूरा गर्‍यौं । हाम्रै दलको सभापति प्रधानमन्त्री भएपछि नै संविधान सभाबाट नेपाली जनताले संविधान पाए भनेर गर्व गर्‍यौं, जस लिने कोसिस गर्‍यौं तर हाम्रा सबै दाबीलाई जनताले खारेज गरिदिए । पहिलो संविधान सभा निर्वाचनमा २४० सिटको कांग्रेस किन ३७ सिटमा सीमित भयो ? संविधान जारी गरिसकेपछि त जनताले कांग्रेसलाई अभूतपूर्वरूपमा जिताउनुपर्ने होइन ? प्रत्यक्ष तर्फको १६५ सिटमा किन जनताले केवल २३ सिटमा सीमित गरे ? कांग्रेसले यसको कहिल्यै समीक्षा गरेको छैन, सामान्य चर्चासम्म गर्न आवश्यक ठानेको छैन । कांग्रेस त्यसै कमजोर भएको होइन । जबसम्म कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्माणको चरण हुँदै यहाँसम्म आइपुग्दा पार्टीबाट भएको नीतिगत एवं सैद्धान्तिक गल्तीउपर निर्मम समीक्षा गरेर आफ्नो राजनीतिक रोड करेक्सन गर्न तत्पर रहँदैन, महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेर मात्र कांग्रेस अगाडि बढ्न सक्दैन ।

शान्ति प्रक्रिया र संविधान निर्माणको जस र स्वामित्व लिन खोज्दाखोज्दै पनि कांग्रेस पार्टीलाई जनताले दण्डित गरेको प्रमुख कारण भनेकै वैचारिक विचलन नै हो भन्ने कुरामा कांग्रेस नेतृत्वले अहिलेसम्म महसुस गर्न सकेको छैन । कांग्रेसको प्रमुख सैद्धान्तिक आधार भनेकै यसको राष्ट्रवादी एवं प्रजातान्त्रिक प्रणालीप्रतिको अटल विश्वास थियो । सिद्धान्त छाडेर सत्ताको पछाडि मात्र दगुर्दा आज कांग्रेसको राष्ट्रवाद र प्रजातन्त्रवादप्रतिको सैद्धान्तिक आधारको जग नै हल्लिएको छ । राष्ट्रवादी एवं प्रजातान्त्रिक दुवै सैद्धान्तिक धार भुत्ते भएपछि नै कांग्रेस कमजोर बन्दै गएको हो । विशेष गरी १२ बुँदे दिल्ली सम्झौतापछि शक्तिका लागि आफ्नो परम्परागत विचारलाई छाड्दै लेफ्ट धारतर्फ ढल्केकै कारण कांग्रेसले आफ्नो राजनीतिक शक्ति गुमाएको हो । यो कुराको चेत खुलेर कांग्रेसले आपूmलाई सिद्धान्त र विचार पक्षमाथि निर्मम समीक्षा करेक्सन र रूपान्तरण नगरेसम्म कांग्रेस, कांग्रेस बन्दैन । एकातर्फ कांग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनपछि आफ्नो घर–झगडा वा आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसक्दा प्रजातन्त्रको स्थायित्व र राजनीतिक स्थिरता दिँदै देशलाई प्रगतिको पथमा डोर्‍याउन चुक्यो भने, १२ बुँदे समझदारी यता सत्ता स्वार्थबाट प्रेरित भएर नानाभाँतीको सम्झौता गर्दै वामपन्थी भासमा फसेका कारण आज कांग्रेस कमजोर भएको हो । नेपाली कांग्रेसले यो राजनीतिक यथार्थलाई मनन गर्दै हामीबाट सैद्धान्तिक भुल भएको छ, त्यसलाई हामीले करेक्सन गर्नैपर्छ भन्ने आत्मबोध नभएसम्म कांग्रेस सच्चिएर सुध्रिएर आउन सम्भव नै छैन ।

कांग्रेसले हाम्रो परम्परा र सैद्धान्तिक आधार के हो, हाम्रो राजनीतिक (क्षेत्र) कन्टिट्युएन्सी कुन हो ? भन्ने कुरा नै भुल्यो वा सत्ताको नसामा डुबेर जानी–नजानी वामपन्थी भासमा फस्न पुग्यो । प्रजातान्त्रिक मूल्यमा कांग्रेस क्रान्तिकारी पार्टी हो तर वर्तमान राजनीतिकको समग्रतामा नेपाली कांग्रेस देशको कञ्जरभेटिभ राजनीतिक शक्ति हो । त्यो कञ्जरभेटिम राजनीतिक कित्तालाई आँखा चिम्लेर छोड्यौं, वामपन्थी कित्तामा हाम फाल्यौं । जुन कित्ता कांग्रेसको हुँदै होइन, त्यसैले जनताले कांग्रेसलाई पत्याएनन् । आफ्नो परम्परा र मौलिकता भुलेर हामी कम्युनिष्ट क्रान्तिकारीजस्तै बन्न खोज्दा सिद्धान्त र विचारका दृष्टिले ‘न कागको चाल न हाँसको चाल’ जस्तै भयौं र आज गतिहीन र गन्तव्यहीन भएका छौं ।

सत्ताको मस्त निद्राअगाडि त सोचेनौं, सच्चिने कुनै प्रयास नै गरेनौं । भदौ २३ र २४ जनविद्रोहले त्यति ठूलो सबक सिकाउँदा पनि कांग्रेसमा कुनै चेत खुलेको अनुभूति भैरहेको छैन, सच्चिने र सुध्रिने कुनै सम्भावना देखिएको छैन । वैचारिक विचलनकै कारण कांग्रेसका निष्ठावान् कार्यकर्ता कांग्रेसप्रति निराश बन्दै क्रियाशील सदस्यता नवीकरण गर्न उदासीन भएका छन् । केही दिनअगाडि विराटनगरका एकजना पुराना कांग्रेसीले मलाई फोनमा कुरा गर्दै भने– ‘यसपटक मेरो मनले नेपाली कांग्रेसको क्रियाशील सदस्य नवीकरण नगर्ने निर्णय गर्‍यो लोकेशजी ! मर्दा कात्रोमाथि चारतारे झण्डा ओढ्ने चाह अब रहेन । कांग्रेस अब कांग्रेसजस्तो रहेन, कांग्रेस हुनुको औचित्य रहेन ।’

युवा अवस्थादेखि नै बीपी कोइरालासँग भलाकुसारी गरिराख्नुहुने, गिरिजाप्रसाद कोइराला गृह जिल्ला विराटनगर आइरहँदा प्रायः भेटेर सुझाव सल्लाह दिइरहनुहुने, हाल अवकासप्राप्त एक प्राध्यापकको भनाइ हो यो । उहाँको नाम प्रकाशमा ल्याउने अनुमति मलाई छैन । सिंगो जीवन देशको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको पक्षमा खरोसँग उभिएका एक बौद्धिक व्यक्तित्वको कांग्रेसप्रतिको गहिरो वितृष्णा उनको मात्र होइन । मुलुकभरका निष्ठावान्, सिद्धान्तनिष्ठ कांग्रेसजनको वितृष्णा हो । त्यसैको परिणाम कांग्रेसको क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यता लिने क्रम ज्यादै निराशाजनक अवस्थामा छ । जनभावना र आम कांग्रेसजनको विचार नबुझी स्वेच्छाचारी भएर पार्टीमा हिँडेको परिणाम नै कांग्रेसप्रति आम निराशा छाएको हो ।

१२ बुँदे समझदारी यता नेपाली कांग्रेसले गरेको सैद्धान्तिक एवं नीतिगत विचलन र भएका कमीकमजोरीलाई समीक्षा गर्दै संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, निर्वाचन प्रणालीलगायत संविधानका मूलभूत मुद्दामाथि निर्मम समीक्षा गर्दै जनभावनाबमोजिम राजनीतिक रोड करेक्सन गर्दै अगाडि बढे मात्र नेपाली कांग्रेसले जनतामा आफ्नो औचित्य स्थापित गर्न सक्छ, आफ्नो गौरवशाली ऐतिहासिक स्थानलाई पुनः प्राप्त गर्न सक्दछ । अन्यथा कांग्रेसको भविष्य के हुन्छ भन्न सकिन्न ।

(लेखक नेपाली कांग्रेसका नेता हुन्।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी