नेभिगेशन
राजनीति

‘राष्ट्रपतिको अडान फागुन २१ को निर्वाचन सर्नु हुँदैन’

नभए देश अनिश्चयतिर धकेलिन्छ

राष्ट्रपति रामचन्द्र पौडेल फागुन २१ गतेकै पूर्व निर्धारित मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेमा अडिग देखिएका छन् । मुख्य राजनीतिक दल र जेनजीकै केही समूह घोषित मितिको निर्वाचनको विपक्षमा देखिएका छन् । तर, राष्ट्रपति पौडेल भने उक्त मितिमा दायाँबायाँ गर्न नहुने पक्षमा देखिएका छन् ।

कांग्रेस, एमाले लगायतका राजनीतिक दल र केही जेनजीकै समूहले पनि चुनावको मिति सार्न राष्ट्रपतिलाई दबाब दिइरहेको शीतल निवास स्रोत बताउँछ । तर, राष्ट्रपति कुनै पनि हालतमा निर्वाचन सार्ने पक्षमा छैनन् ।

आइतबार राष्ट्रपति पौडेलसँग भेट गरेका कांग्रेसका एक पदाधिकारीले फागुन २१ को मितिमा राष्ट्रपति पौडेल दृढ पाएको बताए । कांग्रेसमा निर्वाचन अघि महाधिवेशन मागेको एउटा समूह महाधिवेशनको कार्यतालिका प्रभावित हुँदा आफ्नो माग पूरा नहुने आशंकामा चुनावको मिति धकेलियोस् भन्ने चाहन्छ । त्यसका लागि उनीहरूले चुनावको मिति सारेर भएपनि त्यसअघि महाधिवेशन गराउन चाहिरहेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचनअघि महाधिवेशन हुनैपर्ने अडानमा छन् ।

अहिले सरकारको विरुद्धमा सडकमा उत्रिएको जेनजी समूह पनि फागुन २१ को चुनावको पक्षमा छैन । एमाले त संसद् पुनःस्थापनाको पक्षमा संस्थागत रुपमै उत्रिएको छ ।

तर, राष्ट्रपति पौडेल अहिले चुनावको मिति दायाँबायाँ गर्नु राष्ट्रलाई थप अनिश्चयतिर धकेल्नु ठान्छन् । सोमबार राष्ट्रपति पौडेलले मानवअधिकार तथा शान्ति समाजको टोलीसँग फागुन २१ को निर्वाचनप्रतिको आफ्नो अडान राखे । तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक अनिश्चयतिर धकेलिने चेतावनी उनले दिए । पूर्वघोषित मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको ठान्छन् पौडेल ।

उसो त भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार गठन गरेका थिए । ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयन्तपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम भएको छ ,’ भदौ २८ गते राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुन २१ गते चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई हार्दिक अपिल गर्दछु।’

त्यतिबेला राष्ट्रपतिले प्रयोग गरेको ‘बडो जुक्तिले’ भन्ने शब्द चर्चामा थियो । राजनीतिक विश्लेषकहरूले भदौ २४ गते राष्ट्रपतिले साहस र समझादारी नदेखाएको भए संविधान र व्यवस्था नै संकटमा पर्ने भन्दै राष्ट्रपतिको भूमिकाको प्रशंसा गरेका थिए ।

शीतल निवास स्रोतका अनुसार बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मर्म र नागरिक सर्वोच्चताको विपरीत हुने राष्ट्रपति पौडेलको बुझाइ छ । त्यसकारण उनी घोषित मितिमै निर्वाचन सम्पन्न गरि देशमा निर्वाचित सरकार गठन होस् भन्ने चाहन्छन् । राष्ट्रपतिको चाहनाअनुसार नै सोमबार प्रधानमन्त्री सुशीला कार्कीले पनि सोमबार राजनीतिक दल, नागरिक समाज र जेनजी प्रतिनिधिसँगको छलफलमा फागुन २१ मा चुनाव गराउने दृढता प्रस्तुत गरेकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्