किएभ । युक्रेनले रुसका तीव्र गतिमा विकसित आत्मघाती ड्रोनहरूविरुद्ध हवाई रक्षा मजबुत बनाउन स्वदेशमै विकास गरिएको शक्तिशाली र कम लागतको नयाँ ‘ड्रोन किलर’ प्रयोग गरिरहेको जनाएको छ । हिउँले ढाकिएको मैदानमा तैनाथ एक विशेष युक्रेनी ड्रोन–शिकार टोलीले लामो रातका लागि निगरानी र प्रतिरक्षा सञ्चालन गर्दै आएको छ ।
लाइट स्ट्यान्डमा जडान गरिएका एन्टेना र सेन्सर, कडा केसबाट निकालिएका मोनिटर र नियन्त्रण प्रणालीसँगै ‘स्टिङ’ नाम दिइएको थर्मोसको आकारको इन्टरसेप्टर ड्रोन प्रयोगका लागि तयार गरिन्छ । युनिटका कमाण्डर, सैन्य प्रोटोकलअनुसार ‘लोइ’ भन्ने कल साइनले चिनिने अधिकारीका अनुसार यी इन्टरसेप्टरहरूले अहिले छिटो र उच्च उचाइमा उड्न थालेका रुसी ड्रोनहरूलाई प्रभावकारी रूपमा खसाल्न सक्षम छन् । उनले भने, ‘नष्ट गरिएको प्रत्येक ड्रोन भनेको हाम्रो घर, परिवार र ऊर्जा संरचनामाथि आक्रमण हुन नदिनु हो । शत्रु सुत्दैन, हामी पनि सुत्दैनौं ।’
युक्रेनी सहर र विद्युत् पूर्वाधारमाथि राति हुने आक्रमणले किएभलाई महँगा मिसाइलमा निर्भर रहनुको सट्टा कम लागतमा, छिटो उत्पादन गर्न सकिने प्रणाली विकास गर्न प्रेरित गरेको हो । केही महिनामै प्रोटोटाइपबाट सामूहिक उत्पादनमा पुगेका यी इन्टरसेप्टरहरू आधुनिक युद्धमा द्रुत अनुकूलन र ठूलो संख्यामा उत्पादनको उदाहरण बनेका छन् । स्वयंसेवक–सञ्चालित स्टार्टअप ‘वाइल्ड हर्नेट्स’ ले बनाएका स्टिङ र नयाँ ‘बुलेट’ मोडेलले दुस्मन ड्रोनलाई पछ्याएर ठोक्किनुअघि तीव्र गति लिन सक्छन् । ती पाइलटहरूले मोनिटर वा पहिलो–व्यक्ति दृश्य चश्मामार्फत सञ्चालन गर्छन् । ‘बुलेट’ विकासमा संलग्न जनरल चेरी स्टार्टअपका रणनीतिक परिषद् सदस्य एन्ड्री लाभ्रेनोभिचका अनुसार यी इन्टरसेप्टरले १० हजारदेखि तीन लाख अमेरिकी डलरसम्म मूल्यका ड्रोन नष्ट गर्छन् । ‘यसले शत्रुलाई गम्भीर आर्थिक क्षति पर्याउँछ,’ उनले भने ।
रुसले इरानी डिजाइनका साहेद ड्रोनसहित विभिन्न उन्नत संस्करण प्रयोग गरिरहेको छ । लाभ्रेनोभिचका अनुसार कतिपय क्षेत्रमा रुस अगाडि भए पनि कतिपयमा युक्रेनले नयाँ समाधान निकालेर फाइदा उठाएको छ । वासिङ्टनस्थित सेन्टर फर युरोपियन पोलिसी एनालिसिसका रक्षा विश्लेषक फेडेरिको बोर्सारीले यी सस्ता इन्टरसेप्टरलाई आधुनिक हवाई रक्षाको महत्त्वपूर्ण हिस्सा रहेको बताए । उनले भने, ‘यसले हवाई रक्षाको लागत र मापनको समीकरण बदलिदिएको छ, तर यसलाई एक्लै सबै समस्याको समाधान ठान्नुहुँदैन ।’
विश्लेषकहरूका अनुसार यसको सफलता सेन्सर, छिटो कमाण्ड–कन्ट्रोल र दक्ष अपरटरे मा निर्भर छ । युक्रेन र नाटोका योजनाकारहरूले सन् २०२६ सम्म दुवै पक्षमा ड्रोन उत्पादन अझ तीव्र हुने अपेक्षा गरेका छन् । यसले ‘ड्रोन वाल’ भनिने तहगत हवाई रक्षा प्रणाली निर्माण गर्ने युरोपेली योजनालाई पनि गति दिएको छ ।
युक्रेनी ड्रोन निर्माता कम्पनीहरूले आगामी वर्ष अमेरिकी र युरोपेली कम्पनीहरूसँग सह–उत्पादन विस्तार गर्ने तयारी गरिरहेका छन् । युद्धमा परीक्षण गरिएका डिजाइन र डेटा पश्चिमी प्रविधि र लगानीसँग जोडिँदा उत्पादन वृद्धि हुनुका साथै युक्रेन नाटो आपूर्ति शृङ् खलामा समाहित हुने अपेक्षा गरिएको छ । दीर्घकालमा स्वचालन बढ्दै जाने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त पूर्ण स्वायत्त ड्रोनले सैनिकहरूको ज्यान जोगाउन सहयोग गर्ने विश्वास युक्रेनी पक्षले व्यक्त गरेको छ ।