नेभिगेशन
अर्थतन्त्र

सेवा क्षेत्र बलियो, उद्योग कमजोर : राष्ट्र बैंक

काठमाडौं । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानका बीच नेपाल राष्ट्र बैंकले आशावादी बनाउने प्रयास गरेको छ । केन्द्रीय बैंकले अघिल्लो वर्षकोभन्दा चालु वर्ष आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको हो ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आव २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनले नेपाली अर्थतन्त्र संकटको अवस्थाबाट क्रमशः बाहिरिँदै गएको संकेत गरेको छ । अघिल्लो वर्ष देखिएको तीव्र दबाब कम हुँदै गए पनि आर्थिक गतिविधि अझै अपेक्षाअनुसार गतिशील हुन सकेको छैन । कृषि र सेवा क्षेत्रमा सुधार देखिए पनि उद्योग तथा निजी लगानी क्षेत्र सुस्त नै रहेको प्रतिवेदनको निष्कर्ष छ । रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चिति सबल रहँदा बाह्य क्षेत्र सन्तुलित देखिएको छ भने महँगी दर घट् दो क्रममा छ । तर पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा विस्तार कमजोर रहनु र पुँजीगत खर्च सुस्त हुनु अर्थतन्त्र पुनरुत्थानका प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।

राष्ट्र बैंकले गत वर्षकोभन्दा यस वर्ष आर्थिक क्रियाकलापमा बढोत्तरी हुने संकेत गरेको छ । ‘आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम छ । विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृिद्ध सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृिद्ध भएको र विगत केही वर्षदेखि संकुचनमा रहको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

चालु आवमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ । ‘अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुनःनिर्माण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएको लगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान छ,’ केन्द्रीय बैंकले प्रतिवेदनमार्फत भनेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आव २०८१/८२ मा नेपालको आर्थिक वृिद्धदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

गत आवको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२, १२.८ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा छ ।

गत आवको मुलुकको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत छ ।

प्रतिवेदनअनुसार गत आवमा प्रमुख कृषिबालीको उत्पादन ३.७ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने २.२ प्रतिशतले घटेको छ ।

त्यस्तै तरकारी उत्पादन १०.१ र मसला उत्पादन ०.७ प्रतिशतले बढेको छ भने फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक र मासु उत्पादन ०.३ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन १ प्रतिशतले बढेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन ८.८२ र दाउरा उत्पादन ४.७४ प्रतिशतले बढ्दा औषधिजन्य वस्तुको उत्पादन १.९१ प्रतिशतले घटेको छ ।

गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव २०८०/८१ मा यस्तो क्षमता उपयोग ४८.३ प्रतिशत थियो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत छ ।

प्रतिवेदनअनुसार गत आवमा नेपाल भ्रमण गर्ने पर्यटक संख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

त्यस्तै, गत आवमा घर/भवन नक्सापास संख्या १.२ प्रतिशतले र घरजग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व १८.६ प्रतिशतले घटेको छ । २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले वृिद्ध भएको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६.६ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च छ । कुल निक्षेपमा यस प्रदेशको अंश ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्