नेभिगेशन
राजनीति

विशेष महाधिवेशन रोक्ने प्रस्ताव गगनले गरे अस्वीकार

महाधिवेशनका लागि जिल्ला जिल्लाबाट काठमाडौं आउने क्रम शुरु

काठमाडौं । कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन रोक्न गरेको प्रस्ताव महामन्त्री गगन थापाले अस्वीकार गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार र सोमबारका लागि भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशन रोक्न बिहीबारको कार्यसम्पादन समिति बैठकमा आग्रह गरेका थिए । तर, महामन्त्री थापाले बैठकमै प्रतिवाद गर्दै विशेष महाधिवेशन नरोकिने बताए । उनले विशेष महाधिवेशनमा उपस्थित हुन सभापति शेरबहादुर देउवालाई निम्तोसमेत दिएका छन् ।

‘अहिले पनि हामी अपेक्षा गर्छौं पार्टी सभापतिजी २७ गते पार्टीकै साथीहरूले गरेको आयोजना हो, विधानसम्मत आयोजना हो, त्यो अधिवेशनमा उहाँ उपस्थित हुनुपर्छ । त्यो कुराले उहाँको पनि मान बढाउँछ,’ थापाले बैठकबाट बाहिरिने क्रममा भने । 

पार्टीको कार्यसम्पादन समितिको बैठकले भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । बिहीबारको बैठकमा विशेष महाधिवेशन पक्षधर कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने सहभागी थिएनन् । उनले बिहीबार बिहानै भिडियो सन्देश जारी गर्दै विशेष महाधिवेशन हुने बताएका थिए । ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ । अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला,’ उनको भनाइ छ । 

पार्टीको संस्थापन पक्ष भने महामन्त्रीद्वयको पक्षमा छैन । ‘विद्यमान परिस्थितिमा, पार्टी एकताको पक्षमा उभिएर नियमित महाधिवेशनलाई सफल बनाउन एकजुट हुनु हामी सबैको साझा जिम्मेवारी हो । नियमित महाधिवेशनले पार्टीका सबै तहमा नेतृत्वको निर्वाचन गर्न नै पर्छ,’ कार्यसम्पादन समिति बैठकको निर्णय छ, ‘तर हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्नेछ । तसर्थ विशेष महाधिवेशन भनि बोलाइएको भेला तत्काल रोक्न अपील गर्ने यो बैठक निर्णय गर्दछ ।’ 

पुस १९ गते वैशाख २८–३१ का लागि नियमित महाधिवेशन घोषणा गर्दा नै विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरिएको थियो । त्यसपछि पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले बुधबार परिपत्र जारी गर्दै सोही कुरा दोहोर्‍याए भने बिहीबार तेस्रो पटक पनि औचित्य नरहेको उनको पत्रमा बताइएको छ । 

कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख अन्तिम साता १५औं महाधिवेशनको कार्यतालिका आइसकेकाले विशेष महाधिवेशनको औचित्य सकिएको, अहिले महाधिवेशन गर्नु पार्टी हितमा नरहेको र यसले पार्र्टी विभाजन हुन सक्ने धारणा राखेका थिए । 

तर, कार्यवाहक सभापति खड्काको त्यस्तो धारणासँग महामन्त्री गगन थापा सहमत भएनन् । उनले विशेष महाधिवेशन विधानअनुसार नै बोलाइएकाले रोक्न नसकिने, संवेदनशील अवस्था भएकैले महाधिवेशन अनिवार्य भएको र पार्टी फुटको पक्षमा आफूहरू नभएको धारणा राखेका राखेका थिए । संस्थापन पक्ष र महामन्त्री आ–आफ्नै अडानमा अडिँदा बैठकमा कुनै सहमति हुन सकेन ।

‘संवेदनशील अवस्था भएकैले विशेष महाधिवेशन मागिएको हो । भदौ २३ र २४ मा नवयुवाहरूले विद्रोह गरे, नागरिकले असन्तुष्टि राखे । भदौ २२ र २५ को नेपाल एउटै होइन,’ महामन्त्री थापाले बैठकमा खड्कासँग असहमत हुँदै भने, ‘भदौ २३ पछि धेरै परिवर्तन भयो । नीति पनि फेरौं, नेता पनि फेरांै । त्यसका लागि अधिवेशन गरौं भन्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको राखेको माग सम्बोधन गरौं ।’ 

थापाले पार्टी विभाजनका लागि लागेको भन्ने हल्ला गराइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए । 

बैठकपछि संस्थापन पक्षका नेता एनपी साउदले कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन रोक्न अपील गर्ने निर्णय गरेको सुनाए । ‘विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुरोध गर्ने अपिल गर्ने निर्णय गरेको छ,’ उनले बैठकबाट बाहिरिएपछि भने, ‘पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था छैन । त्यसकारण देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको छ ।’ विशेष महाधिवेशन विधानविपरीत भएकाले सहभागी नहुन संस्थापनले तीन पटक चेतावनी दिइसकेको छ । पटक–पटक यसरी चेतावनी दिइनुलाई संस्थापन पक्षले विशेष महाधिवेशनमा जानेमाथि कारवाही गर्ने तयारीका रुपमा समेत हेरिएको छ ।

विरोध र चेतावनीका बाबजुद पुस २७–२८ मा भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी रोकिएको छैन । विशेष महाधिवेशन पक्षधरले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाएर काम थालेका छन् भने विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् भने केहीले काठमाडौंका लागि हिँडेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । 

संस्थापनको तर्क
१. नियमित महाधिवेशन घोषणा भइसकेकाले विशेष महाधिवेशनको औचित्य सकियो 
२. वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशन पार्टीको हितमा छैन 
३. विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजान सक्छ 

पार्टी फुटबाट जोगाउन देउवालाई कोइरालाको आग्रह 
संस्थापन र महामन्त्री पक्षबीच विवाद चर्किएर पार्टी फुटतर्फ उन्मुख ठानिएका बेला नेता शेखर कोइरालाले सभापति देउवालाई भेटेका छन् । बिहीबार देउवा भेट्न कोइराला उनकै निवास पुगेका थिए । सभापति शेरबहादुर देउवासँग भेटमा उनले पार्टी एकता जोगाउनका लागि विशेष महाधिवेशन पक्षधरलाई संवादमार्फत समाधान खोज्न ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । 

‘म कोइराला हुँ । पार्टी विभाजन भएको हेर्न सक्दिन । विभाजनको पीडा तपाईले पनि भोग्नुभएकै छ । के के गर्नुपर्छ गरौं, विभाजन रोकौं,’ देउवासँगको भेटमा कोइरालाको भनाई उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो । जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको भन्दै सबैसँग संवादका लागि तयार रहेको बताएका थिए । 

यसअघि माघ ६ गतेका लागि केन्द्रीय समितिकै आह्वानमा विशेष महाधिवेशन गर्न सकिने उपाय सुझाएका कोइरालाले देउवासँग भेटमा भने भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनलाई नै संकल्प सभामा परिणत गरेर निकास खोज्न सुझाव दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्