नेभिगेशन
राजनीति

बालुवाटारमा प्रधानमन्त्रीसँग ओली वार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । दिउँसो करिब ११ बजेदेखि करिब तीन घण्टा कुराकानी भएको हो ।

जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका ओली र प्रधानमन्त्री कार्कीबीच सुरुवाती दिनमा सम्बन्ध चिसिएको थियो । दुवै पक्षबाट आलोचनात्मक अभिव्यक्ति सार्वजनिक भइरहे पनि पछिल्ला साताहरूमा राष्ट्रपतिको सहजीकरणसँगै चुनाव र राजनीतिक घटनाक्रमका विषयमा संवाद सहज बन्दै गएको छ । सोही संवाद प्रक्रियाको निरन्तरता स्वरूप ओली दलका अन्य नेताहरू बिना स्वकीय सचिव राजेश बज्राचार्यसहित बालुवाटार पुगेका थिए । 

भेटका क्रममा ओलीले प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । सुवेदी हाल दिल्लीमा उपचाररत छन् । प्रारम्भिक पारिवारिक संवादपछि प्रधानमन्त्री र ओलीबीच एक्लाएक्लै राजनीतिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने तय भएको निर्वाचनको तयारी सरकारले पूर्ण रूपमा अघि बढाएको जानकारी दिँदै दलहरूको सहयोग अपरिहार्य रहेको बताइन् । उनले समानुपातिक दल दर्ता र सूची बुझाउने प्रक्रियामा एमालेले देखाएको सक्रियतालाई सकारात्मक संकेतको रूपमा लिएको उल्लेख गरिन् । 

जवाफमा ओलीले आफ्नो पार्टी चुनावमा सहभागी हुने प्रतिबद्धता दोहोर्‍याए पनि संसद् पुनःस्थापनाको माग आफ्नो राजनीतिक एजेण्डाका रूपमा कायम रहेको स्पष्ट पारे । तर सरकार पक्षले यसलाई चुनावी रणनीतिका रूपमा मात्र लिएको बुझाइ छ । सरकार निर्वाचन सार्ने पक्षमा नरहेको र सुरक्षा तथा प्रशासनिक सबै तयारी पूरा भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन प्रहरी भर्ना खुलिसकेको छ भने मतपत्र छपाइको अन्तिम तयारी समेत पूरा भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार भेटवार्ता राजनीतिक संवाद सुदृढ गर्दै निर्वाचन सफल बनाउने उद्देश्यमा केन्द्रित थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्