नेभिगेशन
अर्थतन्त्र

६ महिनामा १० खर्ब ८१ अर्बको वैदेशिक व्यापार, निर्यातमा ४३ प्रतिशतको वृद्धि

कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा १३.१४ प्रतिशत छ भने आयात हिस्सा ८६.८६ प्रतिशत छ । आयातको तुलनामा निर्यात उच्च दरले बढ्दा निर्यात हिस्सामा सुधार आएको हो।

काठमाडौं  वैदेशिक व्यापारको तथ्यांकले मुलुकको अर्थतन्त्रमा सुधार भएको संकेत गरेको छ । कुल वैदेशिक व्यापारमा भएको १७.३६ प्रतिशतको वृद्धिले अर्थतन्त्रमा सुधारको संकेत गरेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्ममा १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष २०८१/८२ को सोही अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।

चालु आवको पहिलो ६ महिनामा निर्यात ४३.७६ प्रतिशत र आयात १४.१८ प्रतिशतले बढेको छ । गत वर्ष साउनदेखि पुससम्ममा ८ खर्ब २२ अर्ब ३७ करोडको आयात भएकोमा यो वर्षको सोही अवधिमा ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तै गत वर्ष समीक्षा अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएकोमा यो वर्ष १ खर्ब ४२ अर्ब १ करोडको निर्यात भएको छ ।

६ महिनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको नेपालले चालु आवको सोही अवधिमा ७ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा १३.१४ प्रतिशत छ भने आयात हिस्सा ८६.८६ प्रतिशत छ । आयातको तुलनामा निर्यात उच्च दरले बढ्दा निर्यात हिस्सामा सुधार आएको हो । गत वर्षको पहिलो ६ महिनामा निर्यात १०.७२ प्रतिशत र आयात ८९.२८ प्रतिशत थियो ।

११७ देशसँग व्यापार घाटा

समीक्षा अवधिमा १५१ देशसँग व्यापार गरेको नेपालले ११७ देशसँग घाटा व्यहोरेको छ । नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारत र चीनसँग छ ।

नेपालले भारतसँग ४ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ घाटा व्यहोरेको छ । भारतबाट ६ महिनामा ५ खर्ब ३२ अर्ब ४५ करोड रुपैयाँको आयात गरेको नेपालले १ खर्ब १५ अर्ब ७४ करोड रुपैयाँको निर्यात गरेको छ ।

त्यस्तै चीनसँग १ खर्ब ९५ अर्ब ३६ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा चीनबाट १ खर्ब ९६ अर्ब रुपैयाँको आयात गरेको नेपालले जम्मा ६४ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालले अमेरिका, अर्जेन्टिना, ब्राजिल, क्यानडा, बंगलादेश, मलेसियालगायतका देशसँगको व्यापारमा पनि ठुलो घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले ३४ देशसँग नाफाको व्यापार गरेको छ । नेपालले डेनमार्क, सामोआ, इराक, नर्वे, रोमानियालगायत देशसँग व्यापार नाफा गरेको हो ।

१२ अर्बको ईभी आयात

नेपालमा ६ महिनामै १२ अर्ब मूल्यका विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् । नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटसम्मका ५ हजार ७१ वटा ईभी भित्रिएका हुन् । ईभी आयातबाट नेपालले ६ महिनामा ७ अर्ब ४५ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

नेपालमा ५० किलोवाटसम्मका १ हजार ५८५ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका तीन हजार १७ वटा, १०१ देखि २०० किलोवाटसम्मका ४६३ वटा र २०१ देखि ३०० किलोवाटसम्मका ६ वटा ईभी आयात भएका छन् ।

चीनबाट यो अवधिमा सबैभन्दा बढी मूल्यका ईभी आयात भएका छन् । चीनबाट ६ महिनामा ८ अर्ब ७१ करोड मूल्यका ३ हजार ७३३ वटा ईभी भित्रिएका छन् । दोस्रोमा भारतबाट १ अर्ब ९५ करोड मूल्यका ९१३ र थाइल्यान्डबाट १ अर्ब १३ करोड मूल्यका ४०१ वटा ईभी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

हाल चीनले थाइल्यान्ड प्लान्टमा उत्पादन गरेका ईभी नेपाल भित्रिने गरेका छन् । यसबाहेक बेलायत, अमेरिका, जर्मनी, दक्षिण कोरिया र अस्ट्रियाबाट पनि नेपालामा ईभी आयात भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्