नेभिगेशन
दृष्टिकोण

सरस्वती पूजाको प्रतीकात्मक अर्थ

आज सरस्वती पूजा, विद्याकी आराध्य देवी पूजा गरिने दिन । विद्या, ज्ञान, शिक्षाले जीवनलाई सहज, सफल, संघर्षशील र संयमित बनाउँछ । वास्तवमा यी प्रतीकात्मक देवी हुन् । जीवनमा पूर्णता हासिल गर्नका लागि आवश्यक तीन चिज धन, विद्या र शक्ति मध्ये विद्याको अपरिहार्यतालाई मनन गरेर नै संगीत, कला, साहित्य एवं विद्याकी देवीको आज विधिपूर्वक आराधना गरिन्छ ।

आजको दिनलाई ‘वसन्त पञ्चमी’ वा ‘श्रीपञ्चमी’ पनि भन्ने गरिन्छ । ज्योतिष विज्ञानअनुसार कुनै पनि शुभ कार्य थालनीका लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन । त्यसैले त, यस दिन साना बच्चाहरूलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात् अक्षरारम्भका लागि उपयुक्त अवसर मानिन्छ, सरस्वती पूजालाई । देशभर रहेका शिक्षालयहरूमा विशेष उत्साहका साथ मनाइने यस दिनले आध्यात्मिक, व्यावहारिक र सामाजिक महŒव बोकेको छ ।

शास्त्रमा उल्लेखित भएअनुसार सृष्टि निर्माणका क्रममा सर्वप्रथम आदि शक्तिको प्रादुर्भाव भयो । आदि शक्तिको आह्वानमा त्रिदेव ब्रह्मा, विष्णु, महेशले आ–आफ्ना गुण र स्वभावअनुसार देवी उत्पन्न गर्नका लागि सबैभन्दा पहिला भगवान् शिवले तमोगुणले महाकाली प्रकट गरे, भगवान् विष्णुले रजोगुणबाट माता लक्ष्मीको र ब्रह्माजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको सृष्टि गरे । ब्रह्माजीले सृष्टिको निर्माण गरेपछि जब आफूले बनाएको सृष्टि मृत शरीरको भाँती शान्त वा स्वरविहीन पाए, तब ब्रह्माजीको अनुरोधमा माता सरस्वतीले जसै वीणाको तारमा स्पर्श गरिन्, शब्द संगीतको सप्तसुरको प्रथम सुर ‘सा’ शब्द प्रस्फुटन भयो । यस ध्वनिले ब्रह्माजीको सृष्टिमा स्वरमय ध्वनिको सञ्चार भयो । हावाको, सागरको, पशु पंक्षी एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रह्माजी प्रसन्न भएर वाणीकी देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।

सरस्वती माताको भेषभूषाले पनि प्रतीकात्मक अर्थ बोकेको छ । उनले हातमा लिएको वीणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयबद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको बोध गराउँछ । मयुर सरस्वतीकी वाहन हो । मयुरलाई सौन्दर्य एवं मधुर स्वरको प्रतीक मानिन्छ । यसरी सम्पूर्णरूपमा प्रतीकात्मक अर्थ बोकेको यस पावन दिनले हामी सबैलाई विवेकशील र सिर्जनशील बनाउन उत्प्रेरणा मिलोस् भनी कामना गर्दछौं ।

सापकोटा एनप्याब्सनका पूर्वअध्यक्ष हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
फागुन २१: दलहरूको अग्निपरीक्षा

फागुन २१: दलहरूको अग्निपरीक्षा

घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म