नेभिगेशन
अर्थतन्त्र

‘ऊर्जा क्षेत्रका समस्या उठाउन मेरो उम्मेदवारी’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक–१ का उम्मेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका मुद्दाहरू संसदमा उठान गर्नका लागि संसदीय निर्वाचनमा होमिएको बताएका छन् ।

इप्पानले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा पराजुलीले नेपालको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण हुँदा यसको सम्भावना सम्भावनामै सीमित हुन लागेकाले संसदमा ऊर्जा क्षेत्रका समस्या र समाधानको बहस उठान गर्न सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका हुन् ।

पराजुलीले नेपालमा रहेका ठूला २५ वटा उद्योगमा लाइन काट्दा ४० हजारको रोजगारी प्रभावित हुनुका साथै ५०० मेगावाट विद्युत्समेत खपत नभएको स्मरण गराए । ‘२५ वटा उद्योगको लाइन काट्दा ४० हजार व्यक्तिको रोजगारी प्रभावित भयो । ५०० मेगावाट विद्युत् खेर गयो । अब देशमा २५ वटा मात्र होइन लाखौं उद्योग सञ्चालन हुने वातावरण बनाउन र लाखौं नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन म राजनीतिमा होमिएको हुँ,’ पराजुलीले भने,’ दलभित्र नेता फोहोर भए भनेर मात्रै भएन, त्यो फोहोर सफा गर्न म मैदानमा निस्किएको हुँ ।’

इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीका समस्या समाधान गर्नका लागि ऊर्जा क्षेत्र बुझेका धेरै व्यक्ति संसदमा जान आवश्यक रहेको बताए । उनले पराजुलीको उम्मेदवारीप्रति नैतिक समर्थन गरे । आगामी निर्वाचनपछि ऊर्जा क्षेत्रलाई नजिकबाट बुझेका पाँच–सात जना व्यक्ति प्रतिनिधिसभामा आउनुपर्ने उनले बताए ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रका बारेमा जानकार व्यक्तिहरू जुनसुकै राजनीतिक दलबाट निर्वाचनमा होमिए पनि आफ्नो समर्थन रहने बताए । ‘हिजोका दिनमा ऊर्जा उद्यमीहरू स्वतन्त्ररूपमा पेसा व्यवसाय गर्दै आएकोमा राजनीतिक दलहरूले ऊर्जा क्षेत्र बुझ्नै सकेनन् । अब सबै राजनीतिक दलभित्र ऊर्जा क्षेत्रमा सक्रिय मानिस संग्लग्न भएर पहिला दलको मूल एजेण्डा ऊर्जा क्षेत्रबारे स्पष्ट बनाउनुपर्छ,’ उनले भने, ‘बाहिर बसेर ऊर्जा क्षेत्रमा समस्या भयो भनेर समाधान हुने देखिएन ।’

इप्पानका महासचिव बलराम खतिवडाले आगामी निर्वाचनपछि संसदमा धेरै भन्दा धेरै ऊर्जा क्षेत्र बुझेका व्यक्तिलाई विजयी गराउन ऊर्जा उद्यमीका नाताले नैतिक सहयोग र समर्थन रहने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्