नेभिगेशन
राजनीति

तीन उम्मेदवारसँग स्पष्टीकरण माग

आयोगले उम्मेदवारहरू बाँके–३ का खगेन्द्र सुनार, सप्तरी–२ का डा. सीके राउत र काठमाडौं–५ की निशा अधिकारीसँग माग्यो जवाफ

काठमाडौं, माघ १४

आचारसंहिता उल्लंघनको उजुरी परेपछि निर्वाचन आयोगले तीन जना उम्मेदवार र तीन वटा सरकारी निकायसँग स्पष्टीकरण सोधेको छ । साथै, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै खोटाङ जिल्लामा आचारसंहिता अनुगमनका लागि दुई जना अनुगमन अधिकृत तोकेको छ । आयोगका अनुसार बाँके–३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनार, सप्तरी–२ का उम्मेदवार डा. चन्द्रकान्त राउत र काठमाडौं–५ की उम्मेदवार निशा अधिकारीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको थियो । उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो । आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार प्राप्त उजुरीको प्रारम्भिक अध्ययनपछि सम्बन्धित पक्षलाई लिखित स्पष्टीकरणका लागि पत्र पठाइएको छ ।  

आयोगका शाखा अधिकृत प्रकाश सुवेदीको हस्ताक्षर रहेको पत्रमा बाँके–३ का उम्मेदवार सुनारलाई राष्ट्रिय जनावर गाईसम्बन्धी विषय उठाउँदै साम्प्रदायिक विद्वेष फैलाएको आरोप लगाइएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । यस्तै, सप्तरी–२ का उम्मेदवार डा. सीके राउतलाई निर्वाचन क्षेत्रमा चुनाव चिह्न र झन्डा प्रयोग गरी तोरण बनाएर झुन्ड्याएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको छ । आचारसंहिताले सार्वजनिक स्थलमा यस्ता संरचना निर्माण गर्न रोक लगाएको जनाइएको छ ।  

काठमाडौं–५ की उम्मेदवार निशा अधिकारीलाई भने अष्ट्रेलियामा रहेका नेपाली नागरिकलाई स्वयंसेवक आवेदन फारम पठाई क्युआर कोडमार्फत आफ्नो चुनावी अभियानमा सहयोग गर्न आग्रह गरेको विवरण उजुरीका रूपमा परेपछि स्पष्टीकरण माग गरिएको आयोगले जनाएको छ । उम्मेदवारसँगै तीन सरकारी निकायलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठगाउँ, मोरङले करार सेवामा कर्मचारी छनोटका लागि लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी गरेको विषय निर्वाचन आचारसंहिता विपरीत भएको उजुरी परेको छ । सोही आधारमा आयोगले परीक्षा प्रक्रिया रोक्न तथा संलग्नमाथि कानुनी कारबाही गर्नुपर्ने मागसहित स्पष्टीकरण सोधेको हो ।  

यसैगरी दैलेखको देउती आधारभूत विद्यालय, भैरवी–३ का शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालमार्फत दल विशेषलाई मत मागेको आरोपमा स्पष्टीकरण सोधिएको छ । त्यस्तै, गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिता विपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा पत्राचार गरिएको आयोगले जनाएको छ ।    

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै खोटाङ जिल्लामा निर्वाचन आचारसंहिता पालनाको अनुगमन गर्न दुई जना अनुगमन अधिकृत तोकिएका छन् । जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो ।  

अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा निगरानी गर्नेछन् । जुलुस, आमसभा तथा प्रचारप्रसारका क्रममा दल वा उम्मेदवारको चुनाव चिह्न अंकित झन्डा, लोगो, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट लगायत प्रयोग भए/नभएको, पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्ले आचारसंहिताअनुसार प्रयोग भए/नभएको विषय अनुगमन गरिनेछ । त्यसैगरी सवारीसाधनको प्रयोग, घोषणापत्र सार्वजनिक गर्ने प्रक्रिया, सरकारी वा सार्वजनिक निकाय तथा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग लिएको/नलिएको, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेको/नखोलेको र खर्च व्यवस्थापनका लागि जिम्मेवार पदाधिकारी तोकिएको/नतोकिएको विषयमा समेत अनुगमन गरिने प्रमुख मगरले जानकारी दिए ।  

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा ल्याइसकेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा १३६ मतदानस्थल र १९५ मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार १२० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्