नेभिगेशन
अर्थतन्त्र

अर्थतन्त्र आगामी चुनावाको साझा एजेन्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेन्डा बन्नुपर्ने  बताएका छन् ।              

स्याङ्जामा बुधबार आयोजित वालिङ महोत्सव उद्घाटन गर्दै  उनले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेन्डालाई प्राथमिकता दिन र सबैको साझा एजेन्डा बनाउन आग्रह गरेका हुन् ।                

‘राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसदको निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेन्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु,’ उनले भने ।                    

अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै  आएका एजेन्डाहरूलाई समावेश गर्न पनि आग्रह गरे ।                  

उनले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेन्डाहरू राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेन्डाले प्राथमिकता पाउनुपर्ने  उनको तर्क छ ।                        

उनले जुनसुकै सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने  अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको बताए । यसका लागि सबै दलहरूलाई एकै मञ्चमा राखेर यस विषयमा महासंघले नै बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको प्रसंग उनले उल्लेख गरे । ‘अहिले सो आयोगका सुझावहरू पनि कतिपय कार्यान्वयनमा आएका छन्,’ उनले भने ।                          

अध्यक्ष ढकालले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरूको संशोधनदेखि महासंघको विधानलाई समय सापेक्ष बनाउनेसम्मका काम आफू महासंघको नेतृत्वमा अएपछि सम्पन्न भएका पनि स्मरण गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्