नेभिगेशन
अर्थतन्त्र

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन् । सानिमा बैंकको कात्तिक २४ मा बसेको सञ्चालक समिति बैठकबाट सीईओ नियुक्त भएका आचार्यले सोमबार पदभार ग्रहण गरेका हुन् ।                  

२१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्‍याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । उनी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो बनेका थिए ।                    

सीईओको पदभार ग्रहण गर्नुअघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा लामो सेवाकालका दौरान उनले १० भन्दा बढी विभाग र शाखाहरूको नेतृत्व गरेका छन् ।                  

आचार्यका प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए ।                  

बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्