काठमाडौं, माघ १५
नेपाली सुनचाँदी बजारले हरेक दिन मूल्यमा रेकर्ड कायम गरिरहेको छ । बिहीबार एकैपटक प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । सुनको मूल्य एकैपटक यतिधेरै बढेको पहिलोपटक हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतितोला सात हजार ५०५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यले पनि प्रतितोला २०५ रुपैयाँ बढेर रेकर्ड कायम गरेको हो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० अमेरिकी डलर आसपासमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च हो ।
सुनको मूल्य बढ्नुमा मुख्यतः अन्तर्राष्ट्रिय कारणहरू नै जिम्मेवार छन् । विश्व बजारमा आर्थिक अनिश्चितता बढ्दै जाँदा लगानीकर्ताले सुनलाई सुरक्षित लगानीका रूपमा रोज्ने प्रवृत्ति बढेको हो । विशेषगरी अमेरिका, युरोप र मध्यपूर्व क्षेत्रमा देखिएको भू–राजनीतिक तनाव, युद्धको सम्भावना र व्यापारिक द्वन्द्वले सुनप्रतिको आकर्षण झनै बढाएको छ ।
अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ), युरोपेली केन्द्रीय बैंक (ईसीबी) र अन्य केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने संकेत गर्नु पनि सुनको मूल्य बढ्नुको अर्को कारण हो । ब्याजदर घट्दा डलर कमजोर हुन्छ । फलतः लगानीकर्ता डलरबाट सुनतर्फ सिफ्ट हुन्छन् ।
साथै, विश्वका विभिन्न केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन सञ्चिति बढाइरहेका छन् । चीन, रुस, भारतजस्ता देशहरूले विदेशी मुद्राको सट्टा सुनलाई प्राथमिकता दिन थालेपछि माग अत्यधिक बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । सीमित आपूर्तिका बीच माग उच्च दरले बढ्दा सुनको मूल्य माथि धकेलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
नेपाली बजारमा झन् महँगो
नेपालमा सुन उत्पादन हुँदैन । नेपालले अन्य देशबाट सुन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको सानो उतारचढावले पनि यहाँ ठूलो असर पर्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यसँगै अमेरिकी डलरको भाउ बढ्दा नेपालमा सुनको मूल्य थप बढेको छ । त्यस्तै, आयात खर्च महँगो हुँदै जानु र कर प्रणालीका कारण नेपाली बजारमा सुनको मूल्य झन् धेरै छ ।
नेपाल राष्ट्र बैंकले तोकेको आयात कोटा र भन्सार शुल्कले पनि सुनको मूल्यमा प्रभाव पार्ने गरेको छ । माग उच्च भए पनि आपूर्ति सीमित हुँदा बजारमा मूल्य थप बढ्ने अवस्था सिर्जना भएको पूर्वअध्यक्ष शाक्यले बताए । उनका अनुसार चाँदीमा पनि ठुलो समस्या छ । चाँदी किन्न चाहँदा पनि सहजै पाइने अवस्था छैन ।
नेपाली उपभोक्ता प्रभावित
सुनचाँदीको मूल्य निरन्तर बढ्दा उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् । नेपालीका लागि सुन विलासिताको वस्तुमात्र नभएर संस्कारसँग पनि जोडिएको छ । विवाह, व्रतबन्ध, चाडपर्व र सामाजिक संस्कारमा सुन अपरिहार्य मानिन्छ । तर, मूल्यले अकाश छुँदा नेपाली समाजमा सुन धेरैका लागि सपना जस्तै बन्दै गएको छ ।
मूल्य अकासिँदा सुनका गहना बनाउने अर्डर घटेको व्यवसायीहरू बताउँछन् । काठमाडौं सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष एवं उपेन्द्रकाजी शाक्यले हिजोआज व्यापार व्यवसाय ठप्प जस्तै रहेको बताए । उनका अनुसार पहिले दुई–तीन तोला सुनका गहना बनाउने ग्राहक अहिले आधा तोला वा डिजाइन हलुका गहना बनाउनेतर्फ उन्मुख भएका छन् । ‘कतिपयले त पुराना गहना साटफेर गरेर मात्र नयाँ गहना बनाउने गरेका छन्,’ उनले भने ।
विश्व राजनीतिक र आर्थिक अवस्था सहज नहुँदासम्म सुनको मूल्य उच्च नै रहने सम्भावना छ । अन्तर्राष्ट्रिय तनाव घटेमा वा ब्याजदर नीति परिवर्तन भएमा सुनको मूल्य वृद्धिदरमा कमी आउने व्यवसायीहरूको अनुमान छ ।
चाँदीमा लर्को
सुनको मूल्य उच्च दरमा बढेपछि उपभोक्ताहरू चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीको मूल्य पनि उच्च दरले बढ्ने आशामा उनीहरूले लगानी बढाएका हुन् । काठमाडौंका पसलमा बिहीबार चाँदी किन्नेहरूको घुइँचो नै लागेको थियो । तर, बैंकहरूले सहज ढंगले चाँदी उपलब्ध नगराएकाले मागअनुसार बेच्न नपाएको व्यवसायीले बताएका छन् । ‘हामी केही दिनदेखि चाँदी किन्न वाणिज्य बैंक धाइरहेका छौं,’ संघका उपाध्यक्ष शाक्यले भने, ‘तर पाइरहेका छैनौं, बजारमा सुन छ तर चाँदी छैन ।’ काठमाडौं, माघ १५ नेपाली सुनचाँदी बजारले हरेक दिन मूल्यमा रेकर्ड कायम गरिरहेको छ । बिहीबार एकैपटक प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । सुनको मूल्य एकैपटक यतिधेरै बढेको पहिलोपटक हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतितोला सात हजार ५०५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यले पनि प्रतितोला २०५ रुपैयाँ बढेर रेकर्ड कायम गरेको हो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० अमेरिकी डलर आसपासमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च हो ।
सुनको मूल्य बढ्नुमा मुख्यतः अन्तर्राष्ट्रिय कारणहरू नै जिम्मेवार छन् । विश्व बजारमा आर्थिक अनिश्चितता बढ्दै जाँदा लगानीकर्ताले सुनलाई सुरक्षित लगानीका रूपमा रोज्ने प्रवृत्ति बढेको हो । विशेषगरी अमेरिका, युरोप र मध्यपूर्व क्षेत्रमा देखिएको भू–राजनीतिक तनाव, युद्धको सम्भावना र व्यापारिक द्वन्द्वले सुनप्रतिको आकर्षण झनै बढाएको छ ।
अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ), युरोपेली केन्द्रीय बैंक (ईसीबी) र अन्य केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने संकेत गर्नु पनि सुनको मूल्य बढ्नुको अर्को कारण हो । ब्याजदर घट्दा डलर कमजोर हुन्छ । फलतः लगानीकर्ता डलरबाट सुनतर्फ सिफ्ट हुन्छन् ।
साथै, विश्वका विभिन्न केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन सञ्चिति बढाइरहेका छन् । चीन, रुस, भारतजस्ता देशहरूले विदेशी मुद्राको सट्टा सुनलाई प्राथमिकता दिन थालेपछि माग अत्यधिक बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । सीमित आपूर्तिका बीच माग उच्च दरले बढ्दा सुनको मूल्य माथि धकेलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
नेपाली बजारमा झन् महँगो
नेपालमा सुन उत्पादन हुँदैन । नेपालले अन्य देशबाट सुन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको सानो उतारचढावले पनि यहाँ ठूलो असर पर्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यसँगै अमेरिकी डलरको भाउ बढ्दा नेपालमा सुनको मूल्य थप बढेको छ । त्यस्तै, आयात खर्च महँगो हुँदै जानु र कर प्रणालीका कारण नेपाली बजारमा सुनको मूल्य झन् धेरै छ ।
नेपाल राष्ट्र बैंकले तोकेको आयात कोटा र भन्सार शुल्कले पनि सुनको मूल्यमा प्रभाव पार्ने गरेको छ । माग उच्च भए पनि आपूर्ति सीमित हुँदा बजारमा मूल्य थप बढ्ने अवस्था सिर्जना भएको पूर्वअध्यक्ष शाक्यले बताए । उनका अनुसार चाँदीमा पनि ठुलो समस्या छ । चाँदी किन्न चाहँदा पनि सहजै पाइने अवस्था छैन ।
नेपाली उपभोक्ता प्रभावित
सुनचाँदीको मूल्य निरन्तर बढ्दा उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् । नेपालीका लागि सुन विलासिताको वस्तुमात्र नभएर संस्कारसँग पनि जोडिएको छ । विवाह, व्रतबन्ध, चाडपर्व र सामाजिक संस्कारमा सुन अपरिहार्य मानिन्छ । तर, मूल्यले अकाश छुँदा नेपाली समाजमा सुन धेरैका लागि सपना जस्तै बन्दै गएको छ ।
मूल्य अकासिँदा सुनका गहना बनाउने अर्डर घटेको व्यवसायीहरू बताउँछन् । काठमाडौं सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष एवं उपेन्द्रकाजी शाक्यले हिजोआज व्यापार व्यवसाय ठप्प जस्तै रहेको बताए । उनका अनुसार पहिले दुई–तीन तोला सुनका गहना बनाउने ग्राहक अहिले आधा तोला वा डिजाइन हलुका गहना बनाउनेतर्फ उन्मुख भएका छन् । ‘कतिपयले त पुराना गहना साटफेर गरेर मात्र नयाँ गहना बनाउने गरेका छन्,’ उनले भने ।
विश्व राजनीतिक र आर्थिक अवस्था सहज नहुँदासम्म सुनको मूल्य उच्च नै रहने सम्भावना छ । अन्तर्राष्ट्रिय तनाव घटेमा वा ब्याजदर नीति परिवर्तन भएमा सुनको मूल्य वृद्धिदरमा कमी आउने व्यवसायीहरूको अनुमान छ ।
चाँदीमा लर्को
सुनको मूल्य उच्च दरमा बढेपछि उपभोक्ताहरू चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीको मूल्य पनि उच्च दरले बढ्ने आशामा उनीहरूले लगानी बढाएका हुन् । काठमाडौंका पसलमा बिहीबार चाँदी किन्नेहरूको घुइँचो नै लागेको थियो । तर, बैंकहरूले सहज ढंगले चाँदी उपलब्ध नगराएकाले मागअनुसार बेच्न नपाएको व्यवसायीले बताएका छन् । ‘हामी केही दिनदेखि चाँदी किन्न वाणिज्य बैंक धाइरहेका छौं,’ संघका उपाध्यक्ष शाक्यले भने, ‘तर पाइरहेका छैनौं, बजारमा सुन छ तर चाँदी छैन ।’