नेभिगेशन
अर्थतन्त्र

शेयरबजार स्थिर, कारोबार रकममा उत्साह

काठमाडौं, माघ १६

शेयरबजार परिसूचक नेप्से यो साता स्थिर देखिएको छ । आइतबार र बुधबार बढेको बजार बाँकी तीन दिन घट्दा नेप्से समग्रमा ०.५६ अंकले घटेको छ । आइतबार २७१४.६१ अंकबाट कारोबार सुरु भएको बजार बिहीबार २७१४.०५ अंकमा झरेको हो ।        

साताभरमा ७० अर्ब ३६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गत साताभरमा चार दिन शेयर कारोबार भएको थियो भने ३७ अर्बको कारोबार भएको थियो ।                  

चुनावको माहोल बन्दै गर्दा आइतबार निकै उत्साह देखिएको बजार संसद् पुनःस्थापनाको अचानक चलाइएको हल्लाले बाँकी दिन भने प्रभावित बनेको छ । शेयरबजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार ५७.५५ अंकले बढ्यो । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से २७१४.६१ अंकबाट बढेर २७७२.१७ अंकमा पुग्यो ।                  

आइतबार होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले बढ्यो । त्यस्तै बैंकिङ १.७९, विकास बैंक १.६, वित्त १.७३, जलविद्युत् २.७४, लगानी २.४, जीवन बिमा २.०३, उत्पादन तथा प्रशोधन २.९७, लघुवित्त १.६, म्युचुअल फन्ड ०.९७, निर्जीवन बिमा १.९७, अन्य १.५७ र व्यापार १.५२ प्रतिशतले बढ्यो ।                  

आइतबार एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दीपुर केबलकार एण्ड टुरिजम, हिम स्टार ऊर्जा कम्पनी, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । यस दिन २४० कम्पनीको शेयर मूल्य बढ्दा १९ वटाको घट्यो भने एउटाको शेयर मूल्य स्थिर रह्यो ।                      

आँखुखोला जलविद्युत् कम्पनीको ४३ करोड ५८ लाख, ग्रिन भेन्चर्सको ३९ करोड ७७ लाख, शिवम् सिमेन्ट्सको ३२ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड १४ लाख र बन्दीपुर केबलकारको २ ९ करोड ६ लाख रुपैयाँको शेयर किनबेच भयो । आइतबार १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने कुल बजार पुँजीकरण झन्डै १ खर्बले बढ्यो

साताको दोस्रो दिन सोमबार भने नेप्से ३.०७ अंकले घटेर २७६९.०९ अंकमा झर्‍यो । नेप्सेमा सूचीकृत समूहमध्ये नौ समूह घटे भने चार समूह बढेका छन् । होटल तथा पर्यटन, म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूह बढे भने बाँकी समूह घटे ।

कारोबार रकममा भने सोमबार पनि उत्साह देखियो । ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर खरिद–बिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भयो । १६५ कम्पनीको शेयर मूल्य घट्दा ८८ वटाको बढयो भने सात वटाको शेयर मूल्य स्थिर रह्यो ।                        

सोमबार एसवाई प्यानल, हिमस्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपाल कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । नेशनल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ३.१२ प्रतिशतले घटेको छ । त्यस्तै कालिका पावर कम्पनी, ज्योति विकास बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी पनि बढी मूल्य घट्ने कम्पनीको सूचीमा परे ।                          

सोमबार सबैभन्दा धेरै हिमालयन पावरपार्टनरको ६५ करोड ९३ लाख, आँखुखोला जलविद्युत् कम्पनीको ५६ करोड १६ लाख, मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो ।                          

नेप्से परिसूचक मंगलबार उच्च अंकले घट्यो । मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ अंकमा झर्‍यो । नेप्सेमा सूचीकृत समूहमध्ये १२ वटा समूह घटेका छन् भने एक म्युचुअल फन्ड समूह स्थिर रह्यो । वित्त समूह सबैभन्दा धेरै २.४२ प्रतिशतले घट्यो ।   

मंगलबार कारोबार रकम पनि केही घट्यो । ३ करोड २६ लाख २ हजार ७१० कित्ता शेयर खरिद–बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको कारोबार भयो । यस दिन ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२४ वटाको घटयो भने २ वटाको शेयर मूल्य स्थिर रह्यो ।                      

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढ्यो । त्यस्तै दरमखोला हाइड्रो इनर्जी, मायाखोला हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था पनि धेरै मूल्य बढ्ने पाँच कम्पनीभित्र परे । ओम मेगाश्री फर्मास्युटिकल्स, ट्रेड टावर, झापा इनर्जी, थ्री स्टार हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपाल सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा परे ।                                

मंगलबार सबैभन्दा धेरै राधी विद्युत् कम्पनीको ५७ करोड ८५ लाख, एसवाई प्यानलको ५७ करोड ६८ लाख, आँखुखोला जलविद्युत् कम्पनीको ५१ करोड ४३ लाख, नगदी ग्रुप पावरको ३९ करोड ३ लाख र बन्दीपुर केबलकारको ३७ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।                            

सोमबार र मंगलबार लगातार घटेको बजार बुधबार भने बढ्यो । बुधबार नेप्से ५.०८ अंकले बढेर २७३१.५९ अंकमा उक्लियो । नेप्सेमा सूचीकृत समूहमध्ये आठ समूह बढे भने पाँच समूह घटे । सबैभन्दा धेरै वित्त समूह १.३३ प्रतिशतले बढ्यो । त्यस्तै व्यापार, अन्य, म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, होटल तथा पर्यटन र विकास बैंक समूह बढे ।                          

बुधबार कारोबार रकम भने घट्यो । यस दिन ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भयो । कुल १४१ कम्पनीको शेयर मूल्य बढ्दा ११२ वटाको घट्यो भने सात वटाको शेयर मूल्य स्थिर रह् यो । कर्पोरेट डेभलपमेन्ट बैंक र आंखुखोला जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै मिथिला लघुवित्त, पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर पनि सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीको सूचीमा परे । सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य ८.०७ प्रतिशतले घट्यो । त्यस्तै नारायणी डेभलपमन्ट बैंक, हिमालयन पावर पार्टनर र उपर स्याङ्गे हाइड्रोपावर बढी मूल्य घट्ने कम्पनीमा परे ।                        

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । आँखुखोलाको ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो । त्यस्तै राधी विद्युत्को ५४ करोड ३६ लाख र एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भयो ।                          

साताको अन्तिम दिन नेप्सेले फेरि लगानीकर्तालाई निराश बनायो । बिहीबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५ अंकमा झर्‍यो । नेप्से घटे पनि बिहीबार कारोबार रकम भने बढ्यो । बिहीबार १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँबराबरको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर किनबेच भयो ।                                

नेप्सेमा सूचीकृत समूहमध्ये ३ समूह बढे भने १० समूह घटे । यस दिन म्युचुअल फन्ड, लगानी र हाइड्रोपावर समूहमात्र बढे । ८५ कम्पनीको शेयर मूल्य बढ्दा १७० वटाको घट्यो भने ५ वटाको स्थिर रह्यो । हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयर सर्किट लेभलमा कारोबार भयो । कालिका पावर, रावा इनर्जी र शुभम पावर सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा परे ।         

बजार घट्दा कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । त्यस्तै सान्भी इनर्जी र दरमखोला हाइड्रोपावरको पनि उच्च दरमा मूल्य घट्यो ।                                    

कारोबार रकमको आधारमा बिहीबार ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । ङादीको ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो । त्यस्तै, एसवाई प्यानल नेपालको ५२ करोड २९ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भयो । आइतबार ४५ खर्ब ५७ अर्ब ८९ करोड रहेको कुल बजार पुँजीकरण साताको अन्त्यमा ४५ खर्ब ५६ अर्ब ९६ करोड रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्