नेभिगेशन
अर्थतन्त्र

पर्यटक आगमनमा १५ प्रतिशत वृद्धि

आगमन वृद्धिको प्रमुख कारण गन्तव्य प्रवर्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार ।

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा सुधार हुँदै गएको देखिएको छ । जेनजी आन्दोलनपछि ह्वात्तै घटेको पर्यटन आगमन सन् २०२६ को सुरुवाती चरणमै सुधार भएको हो । जनवरीमा ९२ हजार ५७३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार यो सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरीसँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी हो ।          

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत दिएको बताए । उनका अनुसार गन्तव्य प्रवर्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण हो ।            

यी सकारात्मक तथ्यांकले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’का रूपमा स्थापित गर्दै लगेको सीईओ जोशीले बताए । जनवरीमा भारतीय पर्यटक आगमन शीर्ष स्थानमा छ । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो । त्यसपछि चीनबाट ९ हजार १०१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल आगमनको ९.८ प्रतिशत हो ।              

यस्तै, अमेरिकाबाट ८ हजार ४०६ जना नेपाल घुम्न आएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । यो कुल आगमनको ९.१ प्रतिशत हो । बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अष्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल घुम्न आएका छन् ।                

क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको पनि पर्यटन बोर्डले जनाएको छ । मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्