नेभिगेशन
अर्थतन्त्र

भारतमा ५३५ खर्बको बजेट, नेपाललाई ८ अर्ब

काठमाडौं । भारतले आर्थिक वर्ष २०२६/२७ का लागि ५३५ खर्ब भारतीय रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ । चालुतर्फ ४१२ खर्ब र पुँजीगततर्फ १२२ खर्ब विनियोजन गर्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार केन्द्रीय सरकारको बजेट प्रस्तुत गरेकी हुन् ।            

अर्थमन्त्री सीतारमणले पाँच वर्षभित्रमा बायोफर्मामा १० हजार करोड लगानी गर्ने बताइन् । त्यस्तै पृथ्वीमा रहेका दुर्लभ खनिजका लागि पनि विशेष लगानी गर्न बजेट विनियोजन गरिएको छ । ओडिसा, केरला, आन्ध्र प्रदेश, तमिलनाडुलगायत राज्यलाई समेटेर ‘रेयर अर्थ म्याग्नेट करिडोर’ बनाइने अर्थमन्त्री सीतारमणले बताइन् ।            

कुल बजेटमा पुँजीगत खर्चको हिस्सा उल्लेखनीयरूपमा बढाइएको छ । भारतीय सरकारले दीर्घकालीन आर्थिक वृद्धि, रोजगारी सिर्जना र निजी लगानी आकर्षणको मुख्य साधनका रूपमा बजेटमा प्रस्तुत गरेको छ । बजेटमा औद्योगिक र आर्थिक विकासको क्षेत्र मुख्य प्राथमिकतामा परेको छ ।                

बजेट विद्युतीय सवारी साधन, सोलार प्यानल र हरित ऊर्जा उत्पादनसँग सम्बन्धित कर पनि घटाइएको छ । लिथियम–आयन ब्याट्री स्टोरेज प्रणालीसँग सम्बन्धित धेरै इनपुटलाई भन्सार शुल्कमा छुट दिइएको छ । सोलार प्यानल निर्माणमा प्रयोग हुने सोलार ग्लासको कच्चा पदार्थ सोडियम एन्टिमोनेटमा पनि भन्सार शुल्क हटाइएको छ । यसले विद्युतीय सवारी साधन, सौर्य ऊर्जा र ब्याट्री क्षेत्रमा उत्पादन लागत घटाउन घटाउने अपेक्षा छ ।                  

नेपाललाई ८ अर्ब

भारत सरकारले नेपाललाई दिने अनुदान सहायता रकम बढाएको छ । भारतीय अर्थमन्त्री सीतारमणले संसदमा प्रस्तुत गरेको बजेट भाषणमा आर्थिक वर्ष २०२६/२७ का लागि दिइने अनुदान सहायता रकम बढाएर ८ अर्ब भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड रुपैयाँ) पुर्‍याएको घोषणा गरेकी हुन् ।                  

भारतले आर्थिक वर्ष २०२५/२६ को बजेटमा नेपाललाई दिने अनुदान रकम ७ अर्ब भारु (करिब सवा ११ अर्ब भारु ) विनियोजन गरेको थियो । भुटानलाई दिने सहायता दोब्बर बनाइएको छ । भुटानलाई यो वर्षका लागि १ हजार ९ सय ५० करोड उपलब्ध गराएकोमा आगामी आवका लागि २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराइने भएको हो ।                    

शेयरबजारलाई नियन्त्रण

बजेटले शेयरबजारलाई नियन्त्रण गर्ने नीति लिएको छ । शेयरबजारमा हुने कारोबार अब पहिलेभन्दा महँगो हुने भएको छ । फ्युचर्स ट्रेडिङमा सिक्योरिटीज ट्रान्ज्याक्सन ट्याक्स ०.०२ प्रतिशतबाट बढाएर ०.०५ प्रतिशत पुर्‍याइएको छ । अप्सन प्रिमियममा एसटिसी ०.१ प्रतिशतबाट ०.१५ प्रतिशत र अप्सन एक्सरसाइजमा ०.१२५ प्रतिशतबाट ०.१५ प्रतिशत पुर्‍याइएको छ ।                    

यसले फ्युचर्स र अप्सन सेग्मेन्टमा कारोबार महँगो बनाउने देखिएको छ । साथै, अब प्रमोटरहरूले क्यापिटल गेन ट्याक्ससँगै अतिरिक्त कर पनि तिर्नुपर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्