नेभिगेशन
राजनीति

बालनेलाई निर्वाचन आयोगको स्पष्टीकरण

बालेनलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ । श्रीमतीसँग सादा पोसाकका प्रहरी भोट माग्न खटिएको घटनाको वास्तविकताबारे आयोगले प्रश्न सोधेको हो ।

काठमाडौं, माघ १९ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ जनासँग स्पष्टीकरण माग गरेको हो ।  

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हेमराज थापाले पीएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडेर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण माग गरिएको छ ।                    

निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बाजुराका उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए ।                        

निर्वाचन उम्मेदवार लक्षित भ्रामक/अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका बारेमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि पनि लेखी पठाएको छ ।                        

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ‘सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै’ भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको घटनाको वास्तविकता के हो भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ दिन आयोगले निर्देशन दिएको छ ।                            

नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार नेपाल कम्युनिष्ट पार्टीका माधव सापकोटले निर्वाचन कार्यालयबाहिर आफ्नो दलको निर्वाचन चिह्नको चित्र बनाएको सम्बन्धमा पनि स्पष्टीकरण सोधेको छ । उजुरीमा उल्लेख भएको बेहोरामा के कसो भएको हो ? भनी उम्मेदवार विषयलाई लिएर आयोगले सोही क्षेत्रका उम्मेदवार माधव सापकोटलाई पनि स्पष्टीकरण सोधेको छ ।                          

यसबाहेक आयोगले रुद्र गिरी, मंगल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको प्रवक्ता जिसीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्