काठमाडौं । उद्योगी व्यवसायीले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन सम्बन्धमा महासंघको सचिवालयमा सोमबार आयोजित अन्तरक्रियामा दुवै निकायबीच सहकार्यको आवश्यकता औंल्याइएको हो ।
नेपालमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने उद्देश्यले राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्न लागेको छ । कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग– व्यवसायको अवस्था, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्यांक उपलब्ध गराउने बताए ।
‘नीति निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘तर निजी क्षेत्रको सक्रिय सहभागिताबिना गणना सफल हुन सक्दैन, सबै आवश्यक सहयोग र सहकार्यका लागि महासंघ तयार छ ।’
त्यस्तै, तथ्यांक कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले राष्ट्रिय आर्थिक गणना २०८२ ले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रको विस्तृत तथ्यांक संकलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले तथ्यांकको गोपनीयता सुनिश्चित गरिने भएकाले ढुक्क भएर आवश्यक विवरण उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरे ।
नेपालमा २०७५ सालमा पहिलो पटक राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेखित विभिन्न १८ समूहका आर्थिक एकाई एकैपटक समेटिने गरी आर्थिक गणना गरेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो आर्थिक गणना २०८३ वैशाख २ असार ७ सम्म सञ्चालन गर्न लागेको छ ।