नेभिगेशन
राजनीति

कांग्रेसले घोषणापत्र जनकपुरधामबाट सार्वजनिक गर्ने

काठमाडौं (संवाददाता)– कांग्रेसले चुनावी घोषणापत्र आगामी बुधबार जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले सूचना जारी गर्दै आइतबार घोषणा गर्ने तय भएकोमा मिति सरेको जानकारी गराएका हुन् । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र आगामी बुधबार मधेश प्रदेश कार्यसमितिको आयोजनामा जनकपुरमा हुने आमसभामा सार्वजनिक गरिने सूचनामा छ । 

कांग्रेसले पहिलो ठूलो चुनावी सभा जनकपुरधाममा गर्दैछ । त्यही सभामा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको हो । सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति थापा यसपटक सर्लाही–४ मा उम्मेदवार छन् । 

यसैबीच उपसभापति शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई आइतबार कांग्रेसमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी उनले गरे । 

यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने उनको भनाइ छ । उनले भने,‘नागरिकले नयाँ खोज्नुभएको हो भने जेनजी मुभमेन्टपछि नयाँ भएको कांग्रेस, परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो ।’ कांग्रेस आफैं बदलिएर समाज र देश बदल्न अग्रसर भएको भन्दै शर्माले दैनिक हजारौ मानिसहरू कांग्रेसमा समाहित भइरहेको बताए । उपसभापति शर्मा चितवन हुँदै चुनावी कार्यक्रममा पश्चिमका विभिन्न जिल्ला पुगेर काठमाडौं फर्किएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्