नेभिगेशन
राजनीति

काठमाडौं–७  : बढेका मतदाता, नयाँ मैदानमा चुनौती चर्को

संवाददाता 
काठमाडौं, फागुन ४
नेपाली राजनीतिका ‘हेभिवेट’लाई हेर्दा सहजजस्तो लाग्ने काठमाडौं–७ पुरानो बुझाइजस्तो सजिलो रहेन । २०७९ मा रास्वपाले सहज जितेको यो क्षेत्रमा यसपटक जित निकाल्न निकै कसरत पर्ने अवस्था छ । २७ जना उम्मेदवार मैदानमा छन् । कांग्रेस र एमालेका नयाँ अनुहारले मात्रै चुनौती छैन, मतदाता करिब १० प्रतिशतले बढेका छन्,  नयाँ मत निर्णायक हुने भएकाले रिझाउन उम्मेदवारको दौडधुप छ । 

पुराना भित्री वडादेखि नागार्जुन र तारकेश्वरसम्म फैलिएको यो निर्वाचन क्षेत्रमा पार्टीहरू आफ्ना रणनीतिहरू चाखलाग्दो ढंगले अगाडि सारिरहेका छन् । इतिहास रच्ने इच्छा राख्ने कांग्रेसदेखि आफ्नो साख बचाउने रास्वपा र एमालेको पराजय भुल्ने अभियानसम्म यहाँ धेरैको नजर छ ।

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक सरगर्मी चर्को छ । रास्वपा विरासत जोगाउने र पुराना पार्टी साख फर्काउने कसरतमा छन् । ०७९ को निर्वाचनमा रास्वपाका गणेश पराजुली यो क्षेत्रमा एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनै पराजुली फेरि उठेका छन् । यसपटक पनि रास्वपाबाट उम्मेदवार छन् । यसपटक यो क्षेत्रमा कांग्रेसले पनि उम्मेदवार उठाएको छ । 

कांग्रेसले प्रमोदहरि गुरागाईंलाई उम्मेदवार बनाउँदा एमालेले भने नयाँ उम्मेदवार दिएको छ । एमालेबाट यसपटक प्रकाश श्रेष्ठ उम्मेदवार छन् । ०७९ को चुनावी परिणामलाई आधार मान्दा यो क्षेत्रमा यसपटक रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा उठेका २७ जनाकै दाबी आआफ्नो मताधार भारी छ भन्ने सुनिएको छ । 

यो क्षेत्रका लागि यसपटक उम्मेदवारको चुनौती दलीय गठबन्धन नहुनु, प्रभावशाली र चिनिएका अनुहार हुनुमात्रै नभई थपिएका नयाँ मतदाता पनि हुन् । काठमाडौं–७ मा मतदाताको संख्या ६७ हजार ४ सय ११ छ । जसमा महिला  ३४ हजार ७ सय ३८ र पुरुष मतदाताका संख्या ३२ हजार ६ सय ७३ छ । ०७९ मा मतदाता संख्या ६१ हजार २ सय ९१ थियो । यसपटक  मतदाता करिब १० प्रतिशतले बढेका छन् । नयाँ मतदाता निर्णायक हुनसक्ने देखिन्छ । 

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका केही भित्री र पुराना वडादेखि नागार्जुन र तारकेश्वर नगरपालिकाका केही भागहरू पर्छन् । कामपा–१६ (नयाँ बजार, सोह्रखुट्टे, बालाजु, माछापोखरी), १७ (क्षेत्रपाटी), १८ (नरदेवी) र २५ (असन, बांगेमुढा), नागार्जुन नगरपालिकाको वडा १, २ र ३ (रानीवन, सीतापाइला क्षेत्र) र तारकेश्वर नगरपालिकाको वडा ३, ४ र ५ (लोलाङ, जितपुरफेदी आसपासका क्षेत्र) पर्छ ।

सोमबारदेखि औपचारिक रुपमा प्रचार सुरु हुँदा सबै दलका नेता कार्यकर्ता प्रतिस्पर्धामा देखिएका छन् । आआफ्नो जनआधार बलियो रहेको दाबी गरिरहँदा पनि ढुक्क भने देखिएका छैनन् । मतदातामाझ आफ्नो छवि राम्रो बनाउन कसरत गरिरहेका छन् ।  

बढेका मतदाता र नयाँ उम्मेदवार 

अघिल्लो निर्वाचनमा रास्वपाका पराजुलीले सहज जित निकाले पनि यसपटक उनलाई चुनौती छ । करिब १० प्रतिशत बढेको मतदाताको संख्या र कांग्रेसका उम्मेदवार हुनुले जित सहज छैन । 
 
रास्वपाले यसअघि प्रत्यक्षतर्फ ८ हजार ७ सय ४३ र समानुपातिकतर्फ १० हजार ५ सय ८८ मत प्राप्त गरेको थियो । यो क्षेत्रमा त्यतिबेला कांग्रेसको उम्मेदवार नहुँदा त्यसको लाभ समेत रास्वपालाई भएको थियो । सांगठनिक मतका हिसावले बलियो रहेकाले पनि रास्वपा यसपटक जित दोहोरिने आत्मविश्वासमा देखिन्छ ।
 
सुशासनसहित समृद्ध नेपालको परिकल्पनालाई पूरा गर्न भन्दै पराजुली अहिले मत मागिरहेका छन् । चुनावी अभियानमा राम्रै जनसमर्थन पाइरहेका पराजुलीलाई रास्वपाले जित्ने उम्मेदवारका रुपमा हेरेको छ । तर, उनका लागि यसपटक कांग्रेस र एमालेका नयाँ उम्मेदवारको चुनौती सहज भने नहुने स्थानीयवासी बताउँछन् । 

हार बिर्साउने गृहकार्य 

२०७० र ०७४ मा लगातार एमालेले जितेको क्षेत्र हो यो । अहिले एमाले उम्मेदवार बनेका प्रकाश श्रेष्ठ  काठमाडौं–७ मै प्रदेश सभामा जितेका सांसद र प्रदेशका पूर्वमन्त्री पनि हुन् । यही कारण श्रेष्ठलाई यसपटक बलियो उम्मेदवारका रुपमा हेरिएका छन् । 

‘जनताको विश्वास जितेर परिणाममुखी काम गर्नु मेरो मुख्य लक्ष्य हो । स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध ढंगले विकास अघि बढाउनेछु,’ उनी भन्छन् । श्रेष्ठ प्रदेशसभा (२) मा ५ हजार २ सय १८ मत प्राप्त गरी विजयी भएका थिए । जबकी ०७९ को प्रतिनिधिसभामा एमाले उम्मेदवारले क्षेत्रमा जम्मा  ६ हजार ८ सय मत पाएका थिए । यसपटक श्रेष्ठले मत बढाउने र परिणाम उल्टाउने एमाले नेताहरुको दाबी छ । 

तर उनका लागि अहिले देखिएको रास्वपाको लहर र विशेष महाधिवेशनपछि ‘पार्टी बदल्यौं अब देश बदल्छौं’ भन्ने नारासहित मैदानमा उत्रिएका कांग्रेस उम्मेदवार उनका लागि चुनौती हुने ठानिएको छ ।
 
इतिहास रच्ने दाउ 

गणतन्त्र प्राप्तिपछिका कुनै पनि निर्वाचनमा कांग्रेसले काठमाडौं–७ मा जितेको छैन । यसपटक कांग्रेस उम्मेदवार प्रमोदहरि गुरागाईं क्षेत्रमा इतिहास रच्ने दाउमा छन् । नागरिकको चाहनाअनुसार कांग्रेसले आफूलाई रुपान्तरण गरेर आएको उनको भनाइ छ । ‘यसपटक कांग्रेसलाई नजिताउनुपर्ने कारण छैन । स्थानीयहरुको सकारात्मक प्रतिक्रिया पाइरहेको छु,’ उनले भने, ‘विश्वास छ, यसपटक यो क्षेत्रमा कांग्रेसले इतिहास रच्नेछ ।’
 
२०७९ मा कांग्रेसले माओवादी केन्द्रकी मानुषी यमी भट्टराईलाई यो क्षेत्रमा समर्थन गरेको थियो । यमीले ६ हजार ६३ मत ल्याएकी थिइन् । तर, ०७९ को निर्वाचनमा प्रदेश (२) मा कांग्रेसका उम्मेदवार सबिन तामाङले ५ हजार १ सय ३७ मत ल्याएका थिए । पछिल्लो समय यो क्षेत्रमा संगठन सुदृढ भएको दाबी गर्दै कांग्रेस घरदैलो अभियानमा छ । बदलिएको कांग्रेसको सन्देश, नयाँ उम्मेदवार र भावी प्रधानमन्त्रीमा सभापति गगन थापाको नाराप्रति मतदाताको आकर्षण देखिएको स्थानीय नेताहरु दाबी गर्छन् । तर, कांग्रेसका लागि अहिले पनि नरोकिएको रास्वपा लहर, एमालेको परिचित अनुहारलाई पछि पार्न असमभव नरहे पनि सहज भने देखिँदैन । 

अरु झन के कम  

विभिन्न कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीलाई पनि यो क्षेत्रमा बलियो रुपमा हेरिएको छ । नेकपाले प्रदेश सभा (१) मा जितेका  वसन्तप्रसाद मानन्धरलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा उम्मेदवार बन्न यसअघि एकीकृत समाजवादीबाट जितेका मानन्धर प्रदेश सभा छाडेर चुनावी मैदानमा छन् । मानन्धरले विशेषगरी स्थानीय पहिचान र सम्पदाको मुद्दालाई प्राथमिकता दिएका छन् । 

प्रदेशसभा निर्वाचनमा उनी ४ हजार १ सय ५३ मत पाउँदै विजयी भएका थिए । यसपटक नेकपा माओवादी, एकीकृत समाजवादी सहितका वाम घटक समेत मिलेकाले यसपटक चुनाव जित्नेमा मानन्धर ढुक्क देखिन्छन् । रास्वपा, एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा भए तयसको लाभ नेकपालाई पुग्न सक्छ । स्थानीय तहमा भिजेका र प्रदेशमा जितेको उम्मेदवार हुनु नेकपाको बलियो आधार हो । 

त्यस्तै, काठमाडौं–७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सांगठनिक रुपमा राम्रो उपस्थिति छ । राप्रपा ०७९ को निर्वाचनमा यस क्षेत्रमा चौथो स्थानमा थियो । राप्रपाका ध्रुवविक्रम मल्लले २ हजार ८ सय ६३ मत पाएका थिए । 

अहिले राप्रपाले लालकुमार लामालाई उम्मेदवार बनाएको छ । ठुला दलहरू कांग्रेस, एमाले प्रतिको असन्तुष्टि र रास्वपाको कामको समीक्षा भइरहेको बेला विकल्प खोज्ने मतदाता राप्रपातर्फ मोडिन सक्ने सम्भावना नकार्न सकिन्न । विशेषगरी क्षेत्रपाटी, नरदेवी र असन जस्ता पुराना सहरी बस्तीहरूमा राप्रपाको प्रभाव देखिन्छ । विशेषगरी धार्मिक–सांस्कृतिक पहिचान र भ्रष्टाचारविरोधी अभियानलाई आफ्नो मुख्य चुनावी अस्त्र बनाएर राप्रपा चुनावी प्रचारप्रसारमा सक्रिय छ । रास्वपाका जितेका सांसद पराजुली र एमाले–कांग्रेस र नेकपा उम्मेदवारहरूको कडा प्रतिस्पर्धालाई चिरेर अगाडि बढ्नु राप्रपाका लामाका लागि मुख्य चुनौती हुनेछ । तर, यसपटक सके जित निकाल्ने नभए कडा टक्कर दिने गृहकार्यमा राप्रपा छ । 

को को छन् मैदानमा ?
 
रास्वपा, कांग्रेस, एमाले नेकपासँगै यो क्षेत्रमा अन्य दल पनि प्रतिस्पर्धामा छन् । बाबुराम लामा जनता समाजवादी पार्टी (जसपा) छन् भने उज्यालो नेपाल पार्टीबाट भने महिला उम्मेदवार विमला लामा छिन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट दीर्घकुमार श्रेष्ठ, नेकपा (संयुक्त) बाट गुणबहादुर बन्जारा क्षेत्री, नेमकिपाबाट गणेशमाया डंगोल, आम जनता पार्टीबाट  प्रदीप भट्टराई,  प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलबाट विनोद कुमार गुरुङ, जय मातृभूमि पार्टीबाट बैकुण्ठ फुयाल, श्रम संस्कृति पार्टीबाट मणिराम बहादुर प्रधान, नेकपा (माओवादी)बाट दीपक मानन्धर,  राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) बाट दिपीन पन्त चुनावी मैदानमा छन् । त्यस्तै, ५ जना महिलाहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । शर्मिला फुयाल, सबिता गमाल, सुजिता श्रेष्ठ, सुमन पुतुवार महर्जन, अञ्जला बज्राचार्य उम्मेदवार छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्