नेभिगेशन
राजनीति

झापा–५ : ओलीसहित उम्मेदवारबीच कडा सवाल–जवाफ

बहसबाट भाग्दै बालेन

प्रविण अधिकारी 
झापा । लहरै प्लास्टिकका कुर्सी राखिएका छन् । कुर्सीमा झापा ५ का विभिन्न पार्टीका उम्मेदवारहरू पंक्तिबद्ध बसेका छन् । न्यूज २४ टेलिभिजनले ‘इलेक्शन डिबेट’मा सो चुनाव क्षेत्रका उम्मेदवारहरूबीच तात्ताता विचारहरू दर्शकहरूलाई बुझाउने प्रयास गरिरहेको छ ।

यो बहसमा नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसकी मंधरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङ तथा पहिलोपटक निर्वाचनमा होमिएको विप्लव नेतृत्वको नेकपा (माओवादी)का उम्मेदवार सञ्जय राई सहभागी थिए ।

बहस स्थलमा सबैको चासो एउटा खाली कुर्सीबारे थियो । यो खाली कुर्सी अरू कसैका लागि नभएर झापा ५ का अर्का उम्मेदवार बालेन शाहका लागि थियो तर उनी बहसमा सहभागी हुन पुगेनन् ।

यो बहसमा दलहरूका उम्मेदवारहरूले आफ्ना एजेन्डा प्रस्तुत त गरे नै एकअर्कामाथि पनि तीखा प्रश्न र प्रत्युत्तरका फोहोरा छाडे ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह सो कार्यक्रममा उपस्थित नहुनुको कारण जनाउँदै उनको सचिवालयले भन्यो, ‘हाल मिडियामा उपस्थित नहुने नीतिअनुसार हामी डिबेटमा सहभागिता नजनाएका हौं ।’ बालेनको अनुपस्थितिले बहसस्थलमा छुट्टै राजनीतिक तरंग पैदा गरेको देखिन्थ्यो ।

न्यूज२४ टेलिभिजनका लागि पत्रकार विजय पौडेलले सञ्चालन गरेको ‘डिबेट’मा झापा –५ का स्थानीय जनताको उपस्थिति राम्रै थियो । केही स्थानीयले बालेन जनताको प्रश्नबाट भागेको भन्दै कार्यक्रममा कडा आलोचना गरेका थिए । उनीहरूले बालेनलाई लक्षित गर्दै  भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जिम्मेवार व्यक्ति भएको हुँदा उनले जनतालाई जवाफ दिनबाट भाग्न नहुने भन्दै उनको खोजी गरेका थिए तर ती प्रश्नहरूको जवाफ अनुत्तरित नै रहे ।

एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्थायित्व र अनुभव’को आधारमा झापा–५ लाई ‘विकासको मोडेल क्षेत्र’ बनाउने दाबी गरे । उनले पूर्वाधार, रोजगारी र दीर्घकालीन योजनालाई निरन्तरता दिन आफू निर्वाचित हुन आवश्यक रहेको बताएका थिए ।
 
यता कांग्रेस उम्मेदवार चिमरियाले सुशासन, पारदर्शिता र स्थानीय स्तरमै सेवा प्रवाह सुधारलाई प्राथमिकता दिने बताइन् । ‘ठूला भाषणभन्दा व्यावहारिक काम’मा जोड दिँदै उनले मतदातासँग प्रत्यक्ष उत्तरदायित्वको प्रतिबद्धता व्यक्त गरिन् ।

राजसंस्था र पहिचानको बहस

राप्रपाका संग्रौलाले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा स्पष्ट धारणा राख्दै वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाए । यस्तै नेकपाका तामाङले सामाजिक न्याय र श्रमिक अधिकारलाई प्राथमिकता दिने बताए भने नेकपा माओवादीका राईले उत्पादनमुखी अर्थतन्त्र र युवामैत्री नीति आवश्यक रहेको धारणा राखे ।

झापा–५ लामो समयदेखि एमालेको प्रभाव क्षेत्र मानिँदै आए पनि यसपटक विभिन्न दलबीच प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । निर्वाचन नजिकिँदै जाँदा घरदैलो अभियान, टोलसभा र सार्वजनिक बहसहरू तीव्र बन्दै गएका छन् ।
बालेन शाहको ‘मिडिया फेस नगर्ने’ निर्णयले भने राजनीतिक बहसलाई थप चर्काएको छ । कतिपयले यसलाई रणनीति भनेका छन् भने कतिपयले लोकतान्त्रिक संवादबाट टाढिने संकेतका रूपमा व्याख्या गरेका छन् । टेलिभिजन डिबेटले चुनावी माहोल तताएको मात्र होइन, उम्मेदवारहरूको जवाफदेहिता र सार्वजनिक संवादको महत्वलाई समेत उजागर गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्