नेभिगेशन
दृष्टिकोण

जिम्मेवार पत्रकारिताको पक्षमा

तोया गौतम
समय स्थिर रहन सक्दैन । समयले अघि सारेका चुनौतीहरूसँग अनुकूलन हुने उपायहरूको खोजी र अवलम्बन नै अस्तित्वमा रहेर आफ्नो उपादेयता प्रमाणित गर्दै निरन्तर अघि बढ्नका लागि अत्यन्त जरुरी छन्– सन्दर्भ अहिलेको पत्रकारिता क्षेत्रको हो ।

नेपाली पत्रकारिता क्षेत्र अहिले तीव्र प्राविधिक रूपान्तरण र व्यावसायिक चुनौतीको दोसाँधमा रहेको हामी सबैले महसुस गरेकै कुरा हो । साँच्चै भन्ने हो भने अहिले ‘नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिता’ दुवै अलमलमा रहेको आभास हुन्छ । यो चुनौतीपूर्ण अवस्थाका प्रमुख कारक– आमरूपमा देखा परेका प्रविधि र प्रवृत्तिगत बदलाव नै हुन् ।

वस्तुगतरूपमै उल्लेख गर्नुपर्दा नेपाली पत्रकारितामा के–कस्ता चुनौतीहरू देखा परेका छन् र बदलिँदै गएको परिस्थितिमा नेपाली पत्रकारिताले आपूmलाई कसरी अनुकूलन गर्दै नागरिकको अपेक्षाअनुरूप आफ्नो उपादेयता प्रमाणित गरेर निरन्तर अघि बढ्न सक्छ भन्ने कुरामा विमर्श गर्नु जरूरी भएको छ । यसै सन्दर्भमा छलफलका लागि केही बुँदाहरू उठान गर्ने कोसिस गरिएको छ । निःसन्देह यी बुँदाहरू सम्पूर्ण र अकाट्य हैनन् बरु यी बुँदाहरू त आज आयोजित छलफललाई अघि बढाउने सहजताका लागि मात्र प्रस्तुत गरिएका हुन् ।

सामाजिक सञ्जाल र अनलाइनको बाढी 

नेपाली पत्रकारिता क्षेत्रमा देखा परेका चुनौतीहरू केलाउँदा सामान्यतः निम्न कुराहरू फेला पर्दछन् । ‘न्यू मिडिया’ एवम् ‘सोसल मिडिया’को उदयका कारण परम्परागत मिडियाबाट अहिलेको मिडियाको स्वरूप डिजिटल र सोसल मिडिया प्लेटफर्ममा बढी केन्द्रित हुन थालेको छ । सूचना र मनोरञ्जनका लागि मात्र नभई विशेषगरी राजनीतिक आन्दोलन र जनमत निर्माणमा समेत व्यावसायिक पत्रकारिताभन्दा सामाजिक सञ्जालको भूमिका निर्णायक देखिएको छ । नेपाली पत्रकारिता पहिले जनमत निर्माताको भूमिकामा देखिन्थ्यो भने अहिले यदाकदा सामाजिक सञ्जालको ‘फलोअर’ र ‘अल्गोरिदम’को शिकार पनि हुन थालेको हो कि भन्ने आभास हुन थालेको छ । सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबीच एक किसिमको ‘अदृश्य संघर्ष’ सिर्जना भएको छ, जसले पत्रकारिताको मूल मर्मलाई गिजोल्ने काम गरेको छ ।

अर्कातिर विज्ञापन बजारको संकुचनले साना सञ्चारगृह बन्द हुने अवस्थामा छन् । व्यावसायिक धर्ममा तल्लीन साना वा ठूला सबै सञ्चारगृहआर्थिक स्थायित्वको समस्यामा छन् । पत्रकारहरूले आफ्नो पेसा गुमाउनुपर्ने र काम गर्दा पनि समयमा तलब नपाउने स्थितिदेखिन थालेको छ । यस्तो संकटमा नागरिकको अपेक्षा अनुरूपको निष्पक्ष व्यावसायिक पत्रकारिता फस्टाउन नसक्ने आशंका उत्पन्न भएको छ ।

दलीय ध्रुर्वीकरण 

जानीबुझीकन वा आफैंले थाहा नपाइकनै पनि सञ्चार माध्यम र पत्रकारहरू दलीय आस्था र विभिन्न प्रभावका आधारमा ध्रुवीकृत भएको सामान्य पाठक, श्रोता र दर्शकहरूले समेत महसुस गर्न थालेका छन् । केही सचेत युवाहरूसँग कुराकानी गर्दा उनीहरूले परम्परागत मिडियाका प्रस्तुतिहरूलाई ‘मोर ओपिनिएटेड’ बताए जहाँ पत्रकारिता वस्तुगत ढंगले निष्पक्ष रहनुभन्दा बढी आप्mनै दृष्टिकोण लाद्ने वा सिद्ध गर्ने कोसिसमा देखिन्छ । स–साना व्यापारी, उद्यमी, कृषक, महिला र रोजगारीको खोजीमा रहेको जनशक्ति आफ्नो आवश्यकताका लागि काम लाग्ने कुराहरू मिडियाले दिन्छ भन्ने ठान्दैनन् ।

अघिल्लो बुँदामा उल्लेख गरिएका आलोचनात्मक कुराहरूले पनि मिडियाप्रति सर्वसाधारण नागरिकको अपेक्षालाई संकेत गरेका छन् तर नेपाली पत्रकारिताको एउटा अत्यन्त सबल पक्ष नै भन्नुपर्छ– नेपाली नागरिकले अझै पनि नेपाली पत्रकारिताप्रति सकारात्मक अपेक्षा राखेका छन् । आफ्नो पेसा र समृद्धिको सहयोगका लागि प्रत्यक्षतः उपयोगी नभए पनि उनीहरूले पत्रकारितालाई ‘सूचना दिने माध्यम’ र ‘लोकतन्त्रको चौथो अंग’का रूपमा नै हेर्ने गरेका छन् । सामाजिक सञ्जाल र युट्युबहरू भन्दा परम्परागत आमसञ्चार माध्यमहरूका प्रस्तुतिलाई उनीहरूले बढी विश्वसनीय ठान्ने गरेका छन् ।

‘भाइरल’ हुने होडबाजीका बीच ‘विश्वसनीयता’ अझै पनि परम्परागत मिडियाको बलियो पक्ष रहेको छ । नागरिकहरू निष्पक्ष, उत्तरदायी, समावेशी र जनहितमुखी पत्रकारिताको अपेक्षा राख्छन् । तर, यो अपेक्षा पूरा गर्न नेपाली पत्रकारिता जाँगरिलो देखिँदैन । बरु ‘डेप्थ रिपोटिंग’को अभाव र ‘भन्नुभयो पत्रकारिता’को कार्यशैलीगत प्रभाव देखिन्छ । मिडियामा सकारात्मक ढंगका अभिप्रेरणामूलक सामग्रीहरूको अभाव छ ।

प्रेस स्वतन्त्रतामा नियन्त्रणमुखी प्रयास

निष्पक्ष सचेत नागरिक र लोकतन्त्रका हिमायतीहरू सबैको दृष्टिकोणमा प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । नेपालको संविधानले पनि पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ तर पनि व्यावहारिकरूपमा नियन्त्रणमुखी कानून र दबाबका घटनाहरू अझै सुन्ने गरिएका छन् । कहिलेकाहीँ राज्यइतर पक्षबाट समेत दबाब झेल्नुपरेको स्थिति विद्यमान छ ।

राज्य वा पत्रकारिताको विकास चाहने संस्थाहरूबाट समेत समयानुकूल व्यावसायिक ज्ञान र सीपका लागि आवश्यक तालिमहरू प्रदान गर्ने कामलाई अघि बढाएको पाइँदैन । यसो नहुँदा नागरिकको अपेक्षानुरूप आफ्नो व्यावसायिक भूमिकामा आजको पत्रकारिता धरमराउने जोखिम बढेको छ ।

प्रेस काउन्सिल नेपालमा गएको वर्ष आचारसंहितासम्बन्धी ३४१ वटा उजुरी दर्ता भएको पाइन्छ । यी मध्ये ४० प्रतिशत उजुरी मात्र टुंगोमा पुगेका छन् । आचार संहिता उल्लंघनमा अनलाइन माध्यमहरूको योगदान निकै ठूलो देखिन्छ । गएको वर्ष १२ वटा अनलाइन सञ्चार माध्यमलाई आचार संहिता उल्लंघन गरेकै कारण कालोसूचीमा राखिएको छ भने सञ्चार माध्यमका रूपमा दर्ता नभई सञ्चालनमा रहेर आचार संहितासमेत उल्लंघन गर्ने ४३ वटा युट्युब च्यानलमाथि कारबाही अगाडि बढाएको प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । यस स्थितिले नागरिकले अपेक्षा गर्ने पत्रकारिताको मर्यादित स्वरूपमा विचलनको खतरा देखिएको छ ।

यी नेपाली मिडियामा अहिले देखिएका केही प्रमुख चुनौतीहरू हुन् । यीलगायत नेपाली मिडियामा यस्ता अरू पनि थुप्रै चुनौतीहरू विद्यमान छन्, जसलाई आजको छलफलले पनि उजागर गर्नेछ भन्ने अपेक्षा गरिएको छ । यी चुनौतीहरू केवल मिडियाका चुनौती मात्र नभई नागरिकको सूचनाको हक, आवाजविहीनहरूको आवाज, सही ढंगको जनमत निर्माण र लोकतन्त्रको सुदृढीकरणकै चुनौतीका रूपमा रहेका छन् ।

अबको बाटो

अब माथि उल्लिखित चुनौतीपूर्ण अवस्थामा सुधार गर्दै यस्तो अवस्थामा आफ्नो अस्तित्व कायम राख्न र अझ प्रभावकारी बन्न परम्परागत मिडियाले अपनाउनुपर्ने केही मुख्य रणनीतिहरूका बारेमा चर्चा गरौं । 

डिजिटल रूपान्तरणः अब मिडिया केवल पत्रिका, रेडियो वा टीभीमा मात्र सीमित भएर नपुग्ने अवस्था छ । त्यसैले ‘डिजिटल फस्र्ट’ को रणनीति अपनाउँदै आफ्नो सामग्रीलाई फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबअनुकूल बनाएर प्रस्तुत गर्ने र मानिसहरूले मोबाइलमै समाचार पढ्ने हुनाले सोहीअनुसारको छोटो र प्रभावकारी ‘फरम्याट’ विकास गर्ने अर्थात् ‘मोबाइल–मैत्री’ बन्ने काम गर्नु आवश्यक देखिन थालेको छ ।

विश्वसनीयता र तथ्य–जाँच : सामाजिक सञ्जालमा भ्रम र अफवाह अर्थात् ‘फेक न्यूज’ छिटो फैलन्छ तर परम्परागत मिडियाप्रतिको नागरिकको विश्वास तुलनात्मकरूपमा बढी भएकाले आफ्नो ‘ब्राण्ड भ्यालु’ जोगाउन मिडियाले तथ्य–जाँचमा कडा मिहिनेत गर्नुपर्छ । केवल ‘के भयो ?’मा मात्र नभई ‘किन र कसरी भयो ?’ भन्ने कुराको खोजीनीति गरेर जानकारी पस्कने गहन रिपोर्टिङमा जोड दिइनुपर्छ । पाठकले सामाजिक सञ्जालमा जे देखे पनि ‘यो साँचो हो कि होइन ?’ भनेर अन्तिममा मिडियाकै आधिकारिक वेबसाइट वा पत्रिका, टेलिभिजन र रेडियो पढ्ने, सुन्ने र हेर्ने वातावरण बनाउने अर्थात् ‘तथ्यको अन्तिम स्रोत’ बन्ने भरमग्दुर प्रयास गर्नु जरुरी छ ।
‘भाइरल’ भन्दा ‘भ्यालु’मा जोडः युट्युबमा धेरैजसो सनसनीपूर्ण र सतही सामग्री देखापर्ने गरेका छन् । यसलाई ‘काउन्टर दिन’ समेत परम्परागत मिडियाले बौद्धिक खुराक र गुणस्तरीय सामग्रीमा जोड दिनुपर्छ । यसका लागि एकातिर कुनै पनि घटनाको गहिरो प्रभाव र विश्लेषणका लागि सम्बद्ध विज्ञहरूलाई समेट्ने र अर्कातिर राजनीतिबाहेक कृषि, उद्यमशीलता, अर्थतन्त्र, प्रविधि, स्वास्थ्य, वातावरण एवम् अभिप्रेरणामूलक विषयमा केन्द्रित हुने काम गर्दै नागरिकको जीवन र दैनन्दिनीका लागि उपयोगी सामग्रीहरू पस्कनुपर्ने खाँचो छ । पत्रकार आचारसंहिताको पालना गर्नुका साथै ‘क्लिकबेट’ शीर्षक र अपुष्ट समाचारको प्रयोग नगर्ने कुरामा प्रतिबद्ध रहनुपर्दछ । 

स्थानीय एवम् सामुदायिक सामीप्यः परम्परागत माध्यम (विशेषगरी स्थानीय रेडियो र पत्रिका)ले आफ्नो समुदायको आवाज बनेर अस्तित्व जोगाउँदै अगाडि बढ्न सक्छन् । यसका लागि स्थानीय मानिसका स–साना तर उनीहरूका लागि महत्वपूर्ण समस्याहरूलाई उजागर गर्ने र पाठक वा श्रोतासँग सिधा अन्तरक्रिया गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने कुरामा जोड दिइनुपर्दछ ।

वैकल्पिक स्रोतको खोजीः अबका दिनहरूमा विज्ञापन मात्रै आम्दानीको स्रोत नबन्न सक्छ तर अघिल्लो बुँदामा उल्लेख गरिएअनुरूपको ‘स्थानीय एवम् सामुदायिक सामिप्य’को सिद्धान्त पालनाले स्थानीय पाठक तथा श्रोताहरू बढ्ने र यसो हुँदा स्थानीय स्तरमा ‘सर्कुलेसन’ वृद्धि भई स्थानीय स्तरका स–साना विज्ञापनहरू पनि बढ्ने स्थिति हुन सक्दछ ।
यसको अलावा सशुल्क ग्राहक बनाई गुणस्तरीय सामग्रीका लागि पाठकबाट सिधै रकम उठाउने ‘पे–वाल’ अभ्यास पनि सुरु गर्न सकिन्छ । मिडिया आफैंले स्थानीय क्षेत्रलाई पनि उपयोगी हुने सामुदायिक कार्यक्रमहरू आयोजना गरेर समाचार, आम्दानी र प्रभाव तीनै कुराहरू बढाउने सम्भावना पनि रहन्छ । मिडियाको व्यावसायिकतामा आँच नआउने किसिमका यस्ता वैकल्पिक स्रोतहरूतर्फ सावधानीपूर्ण सक्रियता अपनाउनु उपयोगी हुन सक्दछ ।

प्रविधिको प्रयोग र पाठक सर्वेक्षणः ‘आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.)’ र ‘डेटा एनालिटिक्स’को प्रयोग गरेर अथवा पाठक सर्वेक्षण गरी पाठकको रुचि बुझ्ने र उनीहरूले खोजेजस्तो सामग्री पस्कने कुरामा पनि ‘मिडिया’ले ध्यान दिनुपर्छ । 

व्यावसायिक एवम् जिम्मेवार पत्रकारिता आमसञ्चार माध्यमको आफ्नै निजी सवाल मात्र हैन बरु मिडिया त लोकतन्त्रको मेरुदण्डका रूपमा नै रहने भएकाले स्थानीय लोकतन्त्र सुदृढीकरणको अवधारणाअनुरूप विभिन्न कार्यहरू गरी सघाउने वातावरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग तालिम तथा अन्य आवश्यक सहयोगका लागि प्रभावकारी पैरवी गर्नु जरुरी छ ।

अन्त्यमा,
नेपाली आमसञ्चार माध्यमहरू वर्तमान सन्दर्भमा नागरिकको अपेक्षाअनुरूप पूर्णरूपमा जिम्मेवार नभएपनि असफल नै भइसकेका पनि छैनन् । केही क्षेत्रमा उल्लेखनीय प्रगति देखिए पनि राजनीतिक प्रभाव, आर्थिक निर्भरता, केन्द्रीयकरण र डिजिटल युगका चुनौतीहरूले जिम्मेवार पत्रकारितालाई सीमित बनाएका मात्र हुन् । यिनलाई चिर्दै जान सकियो भने नागरिकको अपेक्षाअनुसारको जिम्मेवार पत्रकारिता अझै सुदृढ हुनसक्ने अवस्थाबाट खस्किइसकेको छैन ।
सम्पादक समाज नेपालद्वारा फागुन २ मा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
फागुन २१: दलहरूको अग्निपरीक्षा

फागुन २१: दलहरूको अग्निपरीक्षा

घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म