नेभिगेशन
दृष्टिकोण

पञ्चायतका उदार हस्ती विश्वबन्धु थापा

शेखर लामिछाने
गत शनिबार निधन भएका विश्वबन्धु थापा नेपाली राजनीतिमा दुर्लभ पात्र हन्, जसले राणा शासन, संवैधानिक राजतन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र र गणतन्त्रसम्मका पाँच फरक व्यवस्थाका साक्षी र सक्रिय सहभागी पनि थिए । उनको राजनीतिक यात्रा प्रजातन्त्र र पञ्चायत, दरबार र दल, क्रान्ति र ‘कू’का जटिल मोडहरूसँग गाँसिएको छ ।

युवा अवस्थामै काशी हिन्दु विश्वविद्यालयमा अध्ययनका क्रममा उनी कम्युनिष्ट विचारतर्फ आकर्षित भए तर बीपी कोइरालाको सान्निध्यले उनलाई समाजवादी धारमा ल्यायो । २००७ सालको राणाविरोधी क्रान्तिमा उनी विराटनगर क्षेत्रमा सक्रिय थिए । आफ्नै संस्मरणमा उनले ‘विराटनगरको गृहमन्त्री’का रूपमा क्रान्तिकालीन संरचना सञ्चालन गरेको उल्लेख गरेका छन् । क्रान्तिपछि उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य, सह–महामन्त्री र पछि महामन्त्री बने । २०१५ सालको पहिलो आमनिर्वाचनमा चितवनबाट निर्वाचित भई संसदीय दलका प्रमुख सचेतक बने, यो भूमिकाले उनलाई संसदीय अनुशासन र शक्ति सन्तुलनको केन्द्रमा राख्यो ।

तर २०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गरी पञ्चायती व्यवस्था लागू गरेपछि थापा दरबारतर्फ उन्मुख भए । पञ्चायती व्यवस्थाको नामकरण र संरचनागत डिजाइनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष र ‘गाउँ फर्क राष्ट्रिय अभियान’ का प्रमुखसमेत बने । यहीँबाट उनी ‘पञ्चायतका पुरेत’ भनेर चिनिन थाले ।

यद्यपि पञ्चायतसँग नजिकिए पनि उनलाई चिन्नेहरूले उनलाई कट्टर निरंकुशवादी नभई पञ्चायतभित्रका उदार व्यक्तिका रूपमा मूल्यांकन गर्छन् । प्रकाशचन्द्र लोहनीजस्ता नेताहरूका अनुसार थापाले राजाको नेतृत्वलाई आवश्यक ठाने पनि क्रमशः प्रजातान्त्रीकरण गर्नुपर्छ भन्ने धारणा राख्थे । २०३६ सालको जनमत संग्रहमा उनले बहुदलीय पक्षलाई समर्थन गरेका थिए, जसका कारण पञ्चायती वृत्तमा उनको आधार कमजोर भयो । त्यसअघि दशैंमा बीपीकहाँ टीका लगाउन गएको घटनाले पनि दरबारसँग दूरी बढायो ।

पञ्चायतको उत्तरार्धमा उनी न दरबारका पूर्ण विश्वासपात्र रहे न कांग्रेसका । यसैले उनलाई विवादास्पद बनायो । बीपीले ‘डा गिरीले धोका दिएको बुझ्न सक्छु, तर विश्वबन्धुले किन त्यसो गरे ?’ भनेको प्रसंगले पनि उनको राजनीतिक निर्णय कति जटिल थिए भन्ने देखाउँछ ।

२०४७ सालपछि बहुदलीय व्यवस्था पुनस्र्थापित हुँदा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भए । उनका समकालीन सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दजस्ता नेताहरू पटक–पटक प्रधानमन्त्री बने, तर विश्वबन्धु सत्ता–प्रतिस्पर्धाको केन्द्रमा फर्केनन् । उनलाई नीतिगत बहस र वैचारिक प्रस्तावनामा बढी रुचि थियो ।

२०६१ सालको शाही ‘कू’ पछि उनले ‘बेबी किङ’ अवधारणा अघि सारेको दाबी गरेका थिए । राजा ज्ञानेन्द्रले राजीनामा दिएर नाति हृदयेन्द्रलाई राजा बनाउने उनको प्रस्तावअनुसार यसले राजतन्त्रलाई संवैधानिक ढाँचामा जोगाउन सक्थ्यो । तर प्रस्ताव अस्वीकृत भयो र अन्ततः देश गणतन्त्रतर्फ गयो ।

२००७ सालको क्रान्ति र प्रारम्भिक संसदीय अभ्यासमा उनको संगठनात्मक भूमिका थियो भने पञ्चायती व्यवस्थाको संरचना निर्माणमा वैचारिक र प्रशासनिक संलग्नता रह्यो । साथै, पञ्चायतभित्रैबाट प्रजातान्त्रीकरणको आवाज उठाउने साहस पनि उनले गरेका थिए ।

प्रजातन्त्रलाई भ्रष्टाचारले र पञ्चायतलाई शक्तिको उन्मादले बिगारेको भन्ने उनको मूल्यांकनले दुवै व्यवस्थाप्रति आत्मालोचनात्मक दृष्टि झल्काउँछ । गाउँकेन्द्रित विकास, सहकारी अवधारणा र जनतालाई पुँजीगत सम्पत्तिमा अंशियार बनाउने सोचले उनलाई केही हदसम्म जनमुखी पनि देखाउँछ । तर के निश्चित छ भने विश्वबन्धु थापाबिना नेपाली राजनीतिक इतिहासको धेरै पाना अपूरो रहन्छ । उनले व्यवस्था बदलिएसँगै आफ्नो स्थान पनि बदले; कहिले केन्द्रमा, कहिले किनारामा रहे । यद्यपि उनी नेपाली राजनीतिका जटिल तर महत्वपूर्ण पात्रका रूपमा स्थापित थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
फागुन २१: दलहरूको अग्निपरीक्षा

फागुन २१: दलहरूको अग्निपरीक्षा

घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म