नेभिगेशन
राजनीति

हामी भोट होइन, काम माग्न आएका हौँः बालेन्द्र

धनगढी । ‘बेली छकालै एउटा सुइना धेक्या थे, सुदूरपश्चिम र देश बनेको’ रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार धनगढीमा आयोजित रास्वपाको पहिलो चुनावी सभामा करिब तीन मिनेटमै सम्पन्न गरेको आफ्नो मन्तव्यको सुरुआत डोटेली भाषाबाट गरे ।

त्यस क्रममा उनले सुदूरपश्चिमको सम्भावना, विकास निर्माणमा दिनुपर्ने गति र शिक्षा, स्वास्थ्यमा विपन्नले प्राप्त गर्नुपर्ने पहुँचको कुरा गरे । ‘त्यो सपना पूरा गरन्या हो, त्यो पूरा गरन्या पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो,’ उनले भने ।

पहिलो चुनावी प्रचार सभामा बोल्दै शाहले राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न नभई काम माग्न आएको दाबी गरे । ‘तपाईंहरूले भोट नदिए पनि काम गर्छ, तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ । तपाईंहरूले काम दिनू,’ उनले भने ।

मन्तव्यका क्रममा उनले सुदूरपश्चिम सम्भावनाको खानी रहेको आशय व्यक्त गरे । ‘मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीं छ, किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड ?, स्विट्जरल्यान्डको पराकाष्टा रामारोशन यहीं छ, खप्तड नेसनल पार्क यहीं छ,’ उनले भने, ‘हामी नेपालीहरू माल पाएर पनि चाल नपाएका मान्छेहरू पर्‍यौं । भएका चिज देखाउनै सक्या छैनौं ।’ (रासस) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्