नेभिगेशन
विश्व

शताब्दीऔँपछि पहिलो पटक बेलायती पूर्वराजकुमार पक्राउ

लन्डन, (एजेन्सी)  । बेलाबेलामा विवादमा परिरहने बेलायतका पूर्व राजकुमार एन्ड्रयूले राजकुमारको पदवी त्यागेपछि बिहीबार बिहान पक्राउ परेका छन् । राजकुमार एन्ड्रयू अहिले एन्ड्रयू माउन्टबेटन–विन्डसरका रूपमा चिनिन्छन् । आधुनिक इतिहासमा पक्राउ पर्ने उनी पहिलो उच्च बेलायती शाही सदस्य हुन् ।
अमेरिकी न्याय मन्त्रालय (डिपार्टमेन्ट)ले भर्खरै सार्वजनिक गरेका कागजातहरूले दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसँग उनको सम्बन्धबारे नयाँ तथ्यहरू बाहिर आएपछि एन्ड्रयूको सन्दर्भमा के कारबाही होला भन्ने धेरैलाई चासो थियो  ।
उनलाई किन पक्राउ गरियो ?
थेम्स भ्याली प्रहरीका अनुसार माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ गरिएको हो । यो आरोपको अर्थ आफ्नो पदको शक्तिको जानीजानी दुरुपयोग गर्नु वा जिम्मेवारी पूरा नगर्नु हो । प्रहरीले गिरफ्तारीको विस्तृत कारण नखुलाए पनि एन्ड्रयूले सन् २००१ देखि २०११ सम्म बेलायतको व्यापार दूतका रूपमा काम गरेका थिए ।
अमेरिकी न्याय विभागले गत महिना सार्वजनिक गरेका कागजातहरूले व्यापार दूतका रूपमा कार्यरत रहँदा उनी एप्स्टिनको सम्पर्कमा रहेको देखाएका छन् । त्यतिबेला उनी बेलायती मन्त्रीहरू सरह गोप्य नियमहरू पालना गर्न बाध्य थिए । प्रहरीले उनले एप्स्टिनलाई कुनै गोप्य सामग्री उपलब्ध गराएका थिए कि भन्नेबारे अनुसन्धान गरिरहेको छ । साथै, एप्स्टिनले पूर्व राजकुमारसँग यौन सम्बन्ध राख्नका लागि एक महिलालाई अवैध रूपमा बेलायत ल्याएको भन्ने आरोपबारे पनि जाँच भइरहेको छ ।
प्रहरीले अहिलेसम्म उनलाई कुनै पनि यौन अपराधको मुद्दा भने चलाएको छैन । एन्ड्रयूले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् । एप्स्टिनको गलत व्यवहारबारे आफूलाई कुनै जानकारी नभएको उनको दाबी छ । सार्वजनिक पदको दुरुपयोगसम्बन्धी पछिल्लो आरोपबारे उनले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
उनलाई कहाँबाट पक्राउ गरियो ?
बिहीबार उनको जन्मदिनकै छेक पारेर नर्फकस्थित उनको घरमा प्रहरीका गाडीहरू पुगेका थिए । एप्स्टिनसँग सम्बन्धित पुराना फाइलहरू बाहिर आएपछि राजा चाल्र्सले उनलाई विन्डसर दरबारबाट निकालेका थिए । त्यसपछि उनी यसै महिना मात्र यो घरमा सरेका थिए ।
यसअघि उनी बस्ने गरेको ‘रोयल लज’ बाहिर पनि प्रहरीहरू देखिएका थिए । नर्फक प्रहरीले यस अनुसन्धानमा थेम्स भ्याली प्रहरीलाई सहयोग गरिरहेको बताएको छ ।
यसअघि उनी कस्ता विवादमा परेका थिए ?
यो गिरफ्तारी एप्स्टिनसँगको उनको वर्षौँ पुरानो विवादको पछिल्लो कडी हो । सन् २०१९ मा बीबीसीसँगको एउटा अन्तर्वार्तामा आफ्नो बचाउ गर्ने प्रयास असफल भएपछि उनले शाही जिम्मेवारीहरू त्याग्नुपरेको थियो ।
उनले भर्जिनिया जिफ्रे नामकी महिलालाई कहिल्यै नभेटेको दाबी गरेका थिए, जसले उनीमाथि किशोर अवस्थामा तीन पटक यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन् । जिफ्रेले सन् २०२१ मा न्यूयोर्कको अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिन् । आफूले उनलाई चिन्दै नचिनेको बताए पनि एन्ड्रयूले सन् २०२२ मा कुनै गल्ती स्वीकार नगरी मुद्दा सुल्झाउन उनलाई लाखौँ डलर तिरेका थिए ।
गत वर्ष राजा चाल्र्सले उनलाई ‘राजकुमार’ पदवीबाट हटाएर दरबारबाट निकाला गरेपछि उनको थप अपमान भएको थियो । सन् १९३६ को सिंहासन त्याग्ने संकटपछि कुनै वरिष्ठ शाही सदस्य यसरी पाखा लागेको यो पहिलो पटक थियो ।
राजा चाल्र्स कानूनी बाटोमा 
राजा चाल्र्सले आफ्नो भाइमाथि भइरहेको अनुसन्धानप्रति पूर्ण समर्थन जनाउँदै ‘कानूनले आफ्नो बाटो लिने’ बताएका छन् । उनले एन्ड्रयूको गिरफ्तारीको खबरले आफू गम्भीर रूपमा चिन्तित भएको र प्रहरीलाई बकिंघम प्यालेसले पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन् ।
घटना असामान्य 
आधुनिक समयमा यो एक अभूतपूर्व घटना हो । सन् २००२ मा एन्ड्रयूकी दिदी राजकुमारी एनीलाई उनको कुकुरले दुई बालबालिकालाई टोकेपछि जरिवाना गरिएको थियो, तर उनलाई सो घटनामा पक्राउ भने गरिएको थिएन । कुनै वरिष्ठ शाही सदस्य पक्राउ परेको पछिल्लो उदाहरण खोज्न १७ औँ शताब्दीमा राजा चाल्र्स प्रथमलाई मृत्युदण्ड दिइएको समयसम्म पुग्नुपर्छ ।
अझै खुल्न बाँकी 
उनलाई कुन जानकारीका आधारमा पक्राउ गरियो, उनलाई कहाँ राखिएको छ र उनी कहिलेसम्म हिरासतमा रहनेछन् भन्ने खुलेको छैन ।
इङ्गल्याण्ड र वेल्सको कानून अनुसार प्रहरीले सामान्यतया शंकास्पद व्यक्तिलाई २४ घण्टासम्म हिरासतमा राख्न सक्छ । तर गम्भीर अपराधको आशंका भएमा ९६ घण्टासम्म बढाउन सकिन्छ ।
राजसंस्थाको छविमा धक्का
यस घटनाले राजसंस्थाको गरिमा र छविमा गम्भीर धक्का पुर्याएको छ । एउटा वरिष्ठ शाही सदस्यलाई सार्वजनिक पदको दुरुपयोग र गम्भीर कानुनी मुद्दामा पक्राउ गरिनुले राजसंस्थाको ‘प्रतिष्ठा’ र ‘पवित्रता’ मा ठूलो चोट पु¥याउँछ । यसले जनताको नजरमा शाही परिवार पनि साधारण नागरिकसरह कानूनको कठघरामा उभिनुपर्ने सन्देश दिएको छ ।
बेलायतमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्नुपर्छ भन्ने समूहहरूका लागि यो एउटा ठूलो राजनीतिक मुद्दा बन्न सक्छ । करदाताको पैसाबाट चल्ने संस्थाका सदस्यहरू यस्ता काण्डमा मुछिँदा राजतन्त्रको सान्दर्भिकतामाथि प्रश्न उठ्ने देखिन्छ ।
आफ्नै भाइलाई दरबारबाट निकाल्ने र अनुसन्धानमा सहयोग गर्ने राजा चाल्र्सको निर्णयले उनी ‘कठोर र न्यायप्रेमी’ शासक हुन् भन्ने त देखाउँछ, तर परिवारभित्रको यो कलहले उनको शासनकालको सुरुवाती समयलाई नै ओझेलमा पार्न सक्छ । उनले परिवार र संस्थाबीचको सन्तुलन मिलाउन निकै संघर्ष गर्नुपर्ने देखिएको छ ।
यो घटनापछि शाही परिवारका सदस्यहरूको निजी सम्बन्ध, विदेश भ्रमण र आर्थिक लेनदेनमा थप पारदर्शिता हुनुपर्ने माग उठ्न सक्छ । अबका दिनमा शाही विलासिता र उनीहरूले पाउने उन्मुक्तिमाथि कडा निगरानी हुने निश्चित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्