नेभिगेशन
अर्थतन्त्र

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड, अनुमति बिना खाद्यवस्तु प्याकेजिङ र बिक्री

काठमाडौं । नाफा कमाउने बहानामा व्यवसायीले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै गरेको बजार अनुगमनमा धेरै उद्योगी तथा व्यवसायीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ पालना नगरेको र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री–वितरण गरिरहेको फेला परेको हो ।
विभागका अनुसार बजारमा खाद्य मापदण्डविपरीत प्याकेजिङ, सरसफाइमा लापरबाही तथा लेबलिङसम्बन्धी कमजोरी बढ्दो देखिएको छ । यसैक्रममा चन्द्रागिरि नगरपालिका–१५ मा सञ्चालित एलजी ग्लुकोज प्याकेजिङ उद्योगले सरकारी अनुमति बिना लामो समयदेखि ग्लुकोज प्याकेजिङ गरी बजार पठाइरहेको भेटिएको छ ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार माघ २५ मा परेको उजुरीका आधारमा फागुन ४ मा गरिएको अनुगमनका क्रममा उद्योगमा रहेको ४ सय किलो ग्लुकोज रोक्का गरिएको छ । संकलित नमुना प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जानकारी दिएको छ ।
खाद्य ऐनअनुसार अनुमतिबिना खाद्य पदार्थ बिक्री गर्नेलाई ५ हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
संयुक्त अनुगमन टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा होटल तथा रेस्टुरेन्टहरूको अवस्था पनि सन्तोषजनक नरहेको पाएको छ । ललितपुरस्थित दरबार क्याफे एन्ड रेस्टुरेन्ट मा गरिएको अनुगमनमा भान्साको सरसफाइ कमजोर रहेको, फोहोर फाल्ने डस्टबिन खुला राखिएको र खानेकुरामा उपभोग्य मिति उल्लेख नगरिएको भेटिएको थियो ।
त्यसैगरी, मानिसको स्वास्थ्यका लागि हानिकारक मानिने पत्रिकाको कागजमा चाउमिन बेरेर राख्ने तथा बिरयानी पकाउँदा अखाद्य कृत्रिम रङ प्रयोग गरिएको समेत फेला परेको विभागले जनाएको छ । विभागले दुई किलो चाउमिन नष्ट गर्नुका साथै सात दिनभित्र सुधार नगरे थप कारबाही गर्ने चेतावनी दिएको छ ।
यस्तै, काठमाडौंस्थित शिव शंकर स्विट एन्ड चाटमा पनि अनुगमन गर्दा भान्साको अवस्था जोखिमपूर्ण पाइएको छ । खानेकुरा प्याक गर्न मसीयुक्त कागज प्रयोग भइरहेको भेटिएपछि त्यस्ता हानिकारक सामग्री नष्ट गरिएको विभागले जनाएको छ ।
विभागले सबै व्यवसायीलाई मिठाइजन्य तथा अन्य खाद्य पदार्थमा अखाद्य वस्तु नमिसाउन, तोकिएको मापदण्ड पालना गर्न र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न निर्देशन दिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्