नेभिगेशन
प्रदेश
झापा–२ मा चुनावी बहसः अनुपस्थित उम्मेदवारमाथि पनि मतदाताको प्रश्न

रास्वपा जनताको प्रश्नबाट किन पन्छिँदैछ ?

झापा । मंगलबार बिहान झुल्कँदो घामसँगै झापाको बिर्तामोडस्थित मुक्ति चोक राजनीतिक बहसले तातेको थियो । न्यूज २४ टेलिभिजनद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित झापा क्षेत्र नम्बर–२ को चुनावी बहस कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू एउटै मञ्चमा उभिएर आफ्ना एजेन्डा प्रस्तुत गर्दै बहसमा सहभागी भए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तथा पूर्व उपसभामुख इन्दिरा राणा मगर पटक–पटक सम्पर्कमा रहेर आउने प्रतिबद्धता जनाए पनि अन्तिम समयमा कार्यक्रममा उपस्थित भइनन् ।
यसअघि दमकमा सम्पन्न यस्तै कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन शाहले मिडिया बहसमा सहभागी नहुने भन्दै अनुपस्थित भएका थिए ।
राणा मगरका लागि छुट्याइएको कुर्सी खाली राखेरै कार्यक्रम सञ्चालन गरिएपछि उपस्थित स्थानीय मतदाताले आक्रोश व्यक्त गरे । उनीहरूले ‘विकल्प’ भनिएको पार्टी यसरी बहस र जनताको प्रश्नबाट भाग्न नपाइने बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका उम्मेदवार पूर्व सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसकी उम्मेदवार पूर्व राज्यमन्त्री सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार संविधानसभा सदस्य धर्मशिला चापागाईं, राप्रपाका उम्मेदवार अधिवक्ता स्वागत नेपाल, श्रम संस्कृत पार्टीका उम्मेदवार युवा अभियन्ता केशव भण्डारी, नेकपा माओवादीका उम्मेदवार अर्जुन पाण्डे, उज्यालो नेपालका उम्मेदवार क्याप्टेन सिके बेघा, जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक राई तथा स्वतन्त्र उम्मेदवार डा. युवराज संग्रौलाको सहभागिता थियो ।
राजतन्त्र बनाम गणतन्त्रको बहस
बहसका क्रममा राप्रपाका उम्मेदवार स्वागत नेपालले पुराना दलहरूले गणतन्त्रको नाममा देश बेचेको आरोप लगाउँदै वर्तमान संविधान खारेज गरी राजतन्त्र पुनःस्थापना गर्नुपर्ने धारणा राखेपछि कार्यक्रमको माहोल तातेको थियो ।
उनको भनाइ सकिन नपाउँदै पूर्व सभामुख देवराज घिमिरेले राजा र राजतन्त्रको बहस भए आफू कार्यक्रममै नबस्ने चेतावनी दिएपछि केही समय चर्काचर्की भयो । यस क्रममा धर्मशिला चापागाईं र सरिता प्रसाईंले घिमिरेको पक्ष लिएका थिए ।
कार्यक्रमस्थल बाहिर राजावादी र गणतन्त्रवादी समर्थकबीच समेत होहल्ला भएको थियो ।
गिरीबन्धु टी–स्टेट मुद्दाले चर्कियो बहस
पत्रकार विजय पौडेलले सञ्चालन गरेको कार्यक्रममा गिरीबन्धु टी–स्टेट (बिर्तामोड नयाँ बसपार्क क्षेत्रको ५१ बिघा जमिन) को मुद्दा प्रवेश गरेसँगै बहस झन् चर्कियो ।
वर्षौंदेखि स्थानीयले उपभोग गर्दै आएको तथा धनीपूर्जा समेत वितरण भइसकेको उक्त जग्गा अदालतले रोक्का गरेपछि त्यहाँका पीडितहरूले सबै राजनीतिक दल र नेताहरूलाई प्रवेश निषेध गरेका छन् ।
पीडितहरूले समस्या समाधान नभएसम्म प्रवेश निषेध गर्ने भन्दै नाराबाजी गरेपछि उपस्थित उम्मेदवारहरूले उक्त विषयलाई आफ्नो चुनावी एजेन्डामा समेट्न थाले । यस क्रममा राप्रपाका उम्मेदवार स्वागत नेपालले पीडितलाई न्याय दिलाउने बताएपछि पुनः उम्मेदवारहरूबीच आरोप–प्रत्यारोप सुरु भयो ।
श्रम संस्कृत पार्टीका उम्मेदवार केशव भण्डारीले ५१ बिघाका पीडितलाई न्याय नदिएसम्म सबै उम्मेदवारले चुनाव बहिष्कार गर्नुपर्ने तर्क प्रस्तुत गरे ।
बहसमा उम्मेदवारहरूले आफ्ना एजेन्डाभन्दा बढी समय एकअर्कामाथि आरोप–प्रत्यारोपमै खर्चिएका देखिन्थे ।
मतदाताका प्रश्न र जेन–जीको आक्रोश
कार्यक्रममा सहभागी जेन–जी युवाहरूले भदौ २३ र २४ को घटनाको जिम्मेवारी एमाले र कांग्रेसले लिनुपर्ने भन्दै आक्रोश व्यक्त गरे ।
स्वतन्त्र उम्मेदवार डा. युवराज संग्रौला र विप्लव नेतृत्वको माओवादीका उम्मेदवारबाहेक अधिकांश उम्मेदवारले स्पष्ट एजेन्डा प्रस्तुत गर्न नसकेको गुनासो मतदाताको थियो ।
प्रत्यक्ष प्रश्नोत्तर सत्रमा मतदाताहरूले स्थानीय पूर्वाधार विकास, उद्योग स्थापना, रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी प्रश्न उठाएका थिए ।
कार्यक्रममा सहभागीहरूले यस्ता खुला बहस कार्यक्रम झापा मात्र नभई देशव्यापी रूपमा नियमित हुनुपर्ने आवश्यकता औंल्याए ।
झापा–२ मा बढ्दो प्रतिस्पर्धाबीच आयोजित यस सार्वजनिक बहसले चुनावी माहोल थप तातेको छ भने मतदातालाई उम्मेदवारहरूको दृष्टिकोण प्रत्यक्ष सुन्ने अवसर प्रदान गरेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्