काठमाडौं । गगन थापा नेपाली राजनीतिमा उदीयमान नेतृत्व, वैचारिक स्पष्टता र पुस्तान्तरणको प्रतीकका रूपमा स्थापित भएका नेता हुन् । विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको राजनीतिक यात्रा आज नीतिगत बहसको केन्द्रसम्म आइपुगेको छ । जहाँ उनी आशा, विद्रोह र रुपान्तरणको प्रतिनिधि आवाजका रूपमा चिनिन्छन् ।
आफ्नै पौरख, वैचारिक दृढता र निरन्तर संघर्षका आधारमा नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्व तहसम्म पुग्नु उनको व्यक्तिगत सफलता मात्र होइन, नेपाली राजनीतिमा पुस्तान्तरणको शक्तिशाली विस्फोट पनि हो ।
आन्दोलनबाट स्थापित नेतृत्व
काठमाडौंका सडकमा राजतन्त्रको जग हल्लाउने एक निडर विद्यार्थी नेताका रुपमा उदाएका थापा जनआन्दोलन २०६२÷०६३ का क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्धका आक्रामक र प्रभावशाली भाषणमार्फत् राष्ट्रिय स्तरमै चर्चामा आएका थिए । यही आन्दोलनले उनलाई युवापुस्ताको प्रतिनिधि नेताका रूपमा पनि स्थापित ग¥यो ।
पार्टी राजनीतिमा उदय
पार्टी संगठनभित्र पनि उनले उल्लेखनीय गति लिएका छन् । नेपाली कांग्रेसको १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनु उनको लोकप्रियताको स्पष्ट संकेत थियो । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला नेतृत्वको टिमबाट उनी महामन्त्रीको उम्मेदवार बने तर जित हात पार्न सकेनन् । १४ औँ महाधिवेशनबाट भने उनी पार्टीको महामन्त्रीमा निर्वाचित भए । राजनीतिमा पुस्तान्तरणको मुद्दालाई जोड तोडले बोकेर हिडेका थापा गएको पुसमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भए ।
संसदीय र नीतिगत भूमिका
२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधित्व गरेका थापा २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित हुँदै संविधानसभामा पुगे । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी काठमाडौं क्षेत्र नम्बर ४ बाटै निर्वाचित भएका थिए । संविधान निर्माण प्रक्रियामा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका थापा २०७३ सालमा स्वास्थ्य मन्त्री बने । मन्त्रालयमा उनको बसाई छोटो रह्यो, तरपनि उनले स्वास्थ्य क्षेत्रको संरचनात्मक सुधार, सेवा पहुँच विस्तार लगायतका पाटोमा उल्लेखनिय काम गरेका थिए ।
संघर्ष, जेल र वैचारिक दृढता
राजनीतिक जीवनमा उनले पटक–पटक संघर्ष र दमन पनि भोगेका छन् । दुईपटक राजद्रोहको मुद्दा खेप्नु र बारम्बार जेल जानु उनको राजनीतिक प्रतिबद्धता र जोखिम लिन सक्ने साहसको प्रमाण मानिन्छ ।
समकालीन राजनीतिमा भूमिका
संसदमा संविधान कार्यान्वयन, सुशासन, जनजीविका र राज्यको जवाफदेहिताका विषयमा थापाले निरन्तर आवाज उठाउँदै आएका थिए । सत्तालाई प्रश्न गर्ने, नीतिगत सुधारको बहस चलाउने र युवापुस्तालाई राजनीतिमा सक्रिय बनाउन प्रेरित गर्ने उनको शैलीले उनलाई फरक पहिचान दिएको छ ।
गगन थापा केवल एक दलको सभापति मात्र होइनन्, उनी परिवर्तनको आकांक्षा बोकेको पुस्ताको प्रतिनिधि, वैचारिक बहसको केन्द्र र उत्तरदायी राजनीतिका प्रर्यायवाची हुन भन्दा फरक पर्दैन । आन्दोलनबाट सुरु भएर एक परिपक्व र जिम्मेवार नेतृत्वसम्मको उनको यात्रा नेपाली लोकतन्त्रमा संघर्ष, नेतृत्व र रुपान्तरणको प्रेरणादायी उदाहरण बनेको छ ।
जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा बदलिएको जनमतको म्याण्डेट सोझै कसले पालना गरेको छ भने त्यसको श्रेय गगन थापालाई नै जान्छ । राजनीतिक दलभित्रको संरचनात्मक पुनर्गठन र पूस्तान्तरणको मागलाई गगनले विद्रोह गरेरै भए पनि यथार्थमा परिणत गरिदिए । निरन्तर काठमाडौँ ४ बाट चुनाव जित्दै आएका गगन यसपटक मधेस झरेका छन् । उनी सर्लाही ४ बाट विजयी बन्दै मधेसको प्रतिनिधि सांसद बन्दै प्रधानमन्त्री बन्ने अभिलाषासहित चुनावी मैदानमा छन् ।