नेभिगेशन
प्रदेश

नेपाल–भारत सीमा ७२ घण्टा सिल

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच ७२ घण्टा सीमा नाका सिल गर्ने सहमति भएको छ । मतदान मितिभन्दा ७२ घण्टा अगाडि अर्थात् फागुन १८ गतेदेखि मतदान सम्पन्न नभएसम्म नेपाल–भारत सीमा बन्द गरिने निर्णय गरिएको हो ।
निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष मतदान सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ । मोरङको विराटनगरमा आयोजित नेपाल–भारत जिल्ला सीमा समन्वय बैठकमा दुवै देशका उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा सम्पन्न बैठकमा नेपालतर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीहरू तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । भारततर्फबाट बिहार राज्य अन्तर्गतका अररिया, किशनगञ्ज र सुपौल जिल्लाका जिल्ला अधिकारी (डिएम) तथा सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सीमा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने, तस्करी नियन्त्रण गर्ने, मानव बेचबिखन रोकथाम गर्ने, अवैध हतियार ओसारपोसार नियन्त्रण गर्ने तथा नक्कली नोट कारोबार नियन्त्रण गर्ने विषयमा विस्तृत छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । निर्वाचन अवधिभर सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पारिने र आवश्यकताअनुसार संयुक्त अनुगमन र सूचनाको आदान–प्रदानलाई तीव्र बनाइने निर्णय पनि गरिएको कटेलले बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्