नेभिगेशन
प्रवास

नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूतमा आचार्य

काठमाडौं । ९० भन्दा बढी देशका १ हजारभन्दा बढी विद्यालयलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आईसीएको राजदूतमा नियुक्त गरेको छ ।
संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्नेछिन् । उनले इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) अन्तर्गत सञ्चालित इन्टरनेसनल इयर्ली इयर्स करिकुलम, इन्टरनेसनल प्राइमरी करिकुलम (आईपीसी) र इन्टरनेसनल मिडल इयर्स करिकुलम (आईएमवाईसी) मार्फत सिकाइ सुधारमा प्रतिबद्ध शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्नेछिन् ।
यो नियुक्तिले दुई दशकदेखि निरन्तर प्रगतिशील शिक्षाका लागि आचार्यले गरेको समर्पणको कदर गरेको छ । उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामा प्रतिष्ठित आईपीसी मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो ।
राजदूतका रूपमा नियुक्त भएपछि अब उनले अन्य विद्यालयलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्नेछिन् ।
राजदूत नियुक्तिका विषयमा आईसीएकी निर्देशक सराह ब्ल्याकमोरले ‘हामी दीप्ति आचार्यलाई आईसीएको राजदूतका रूपमा सम्मानपूर्वक नियुक्त गर्न पाउँदा अत्यन्त हर्षित छौं । गुणस्तरीय शिक्षाप्रति उहाँको अटल प्रतिबद्धता र नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रम स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिकाले उहाँलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार हुँदै गएको हाम्रो विद्यालय समुदायलाई मार्गदर्शन र प्रेरणा दिन उपयुक्त प्रतिनिधि बनाएको छ ।’
आईसीएको यस ‘आईसीए एम्बासडर’ कार्यक्रमले इम्प्रुभिङ लर्निङ दर्शनलाई उत्कृष्ट रूपमा बुझेर प्रभावकारी कार्यान्वयन गरेका अनुभवी शैक्षिक नेतृत्वकर्ताहरूलाई छनोट गर्ने गर्दछ । आचार्यको कार्यकाल अन्तर्राष्ट्रिय विद्यालयहरूको सञ्जाल सुदृढ बनाउने तथा शिक्षण विधि र नेतृत्वका उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्नेमा केन्द्रित रहनेछ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्