नेभिगेशन
अर्थतन्त्र

वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकार बनेको खण्डमा वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ । कांग्रेस सभापति तथा भावी प्रधानमन्त्रीका दाबेदार गगनकुमार थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् ।

नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेकोमा उनले जोड दिए । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा उनले गरे ।

‘व्यक्तिगत आयकरको सीमा सबैभन्दा धेरै रहेको देशमा नेपाल पर्छ । अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्नेछौं,’ उनले भने । संस्थागत कर सीमा २० प्रतिशतमा झार्ने उनले बताए । अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने योजना रहेको उनले सुनाए ।

भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामरा–मोबाइल लिएका युट्युबर समेत निजी क्षेत्रको एक हिस्सा रहेको उनले बताए । आफ्नो सरकार बनेको तीन महिनाभित्रै नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता सभापति थापाले जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्