नेभिगेशन
अर्थतन्त्र

विराटनगरमा चार युवाको उद्यमः पाँचतारे लेमन ट्रिमा दुई अर्ब लगानी

काठमाडौं । विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल सञ्चालन हुने भएको छ । औद्योगिक राजधानीका रूपमा चिनिने विराटनगरमा चार युवा उद्यमीले करिब दुई अर्ब रुपैयाँ लगानीमा भारतको नयाँ दिल्लीमा मुख्यालय रहेको ‘लेमन ट्रि प्रिमियर’ होटल सञ्चालनमा ल्याउने भएका हुन् ।
विराटनगरमा सञ्चालन हुने लेमन ट्रि ब्रान्डको यो होटल नेपालमा दोस्रो हो । विराटनगर–५, भृकुटी चोकमा ७ कठ्ठा जमिनमा निर्माण गरिएको होटलमा युवा उद्यमी मनोजविक्रम शाह, कविन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको लगानी छ ।
होटलको व्यवस्थापन लेमन ट्रिले नै सम्हाल्नेछ । भारतमा मुख्यालय रहेको लेमन ट्री हस्पिटालिटी क्षेत्रको बहुराष्ट्रिय कम्पनी हो । यसको व्यवस्थापनमा नेपाल, भारत, भुटान, दुबई र यूएईमा गरी २२६ होटल सञ्चालनमा छन् ।
होटल चैत दोस्रो सातासम्ममा सञ्चालनमा आउनेछ । ‘सफ्ट ओपनिङ’ चैत दोस्रो साताभित्रै गर्ने र नयाँ वर्षमा ‘ग्रान्ड ओपेनिङ’ गर्ने लक्ष्य राखिएको हो । सफ्ट ओपनिङपछि पाँचतारे स्तरको स्वीकृतिका लागि प्रक्रिया सुरु हुनेछ । पाँचतारे स्वीकृति नलिई लाइभ क्यासिनो सञ्चालन गर्न नमिल्ने भएकाले तत्काल क्यासिनो सञ्चालन भने हुँदैन ।
होटलमा ८० शयन कक्ष छन् । तीमध्ये एक प्रेसिडेन्सियल स्विट, ८ स्विट, ६६ डिलक्स र ५ सुपर डिलक्स रुम छन् । बेसमेन्टसहित ८ तले होटलमा २ हजार जना अट्ने ५ हजार वर्गफिटको ब्यांक्वेट हल छ । गन्तव्य विवाहका लागि पनि होटल उपयुक्त थलो बन्ने अपेक्षा गरिएको छ ।
रुफटप स्विमिङ पुलसहित एक तला स्पा, साउना बाथ आदिका लागि छुट्याइएको छ । होटलमा तीन रेस्टुरेन्ट सञ्चालनमा आउनेछन् । ‘सिट्रस क्याफे’, अपराह्नपछि खुल्ने ‘लाउन्ज बार’ र २४सै घण्टा सञ्चालन हुने ‘अल डे डाइनिङ’ सञ्चालन गरिने भएको छ ।
सञ्चालकहरुले होटलमा नेपाल र भारत दुवै मुलुकका पाहुना आउने विश्वास गरेका छन् । बिहार, पश्चिम बंगाल र आसामसम्मका पर्यटक होटलका लक्षित ग्राहक हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्