नेभिगेशन
अचम्मको संसार

के साँच्चिकै सोलमेट हुन्छन् ?

भ्यालेन्टाइन डे सकिएको छ तर मान्छेको ‘सोलमेट’ खोज्ने क्रम सकिएको छैन । अहिले पनि आफ्ना वरपर प्रायः ‘कतै न कतै मेरा लागि ‘त्यो खास व्यक्ति’ (द वन) पक्कै फेला पार्छु होला’ भनेर हिँड्ने युवायुवती उत्तिकै छन् । उनीहरू यस्तो मान्छेको खोजीमा छन्, जो उनीहरूको आत्माको साथी होस्, आफ्नालागि पूर्णरूपमा सही होस् र ऊ केवल आफ्नालागि बनेको होस् ।
इतिहासभरि नै मानिसहरू प्रेम केवल संयोगले मात्र हुँदैन भन्ने विचारतर्फ आकर्षित हुँदै आएका छन् । प्राचीन ग्रीसमा दार्शनिक प्लेटोले कल्पना गरेका थिए कि कुनै समय हाम्रो अस्तित्व पूर्ण थियो— चार हात, चार खुट्टा र दुईवटा अनुहार भएको । हामी यति शक्तिशाली थियौं कि देवताहरूको राजा ज्यूसले रिसले हामीलाई दुई भागमा बाँडिदिए । तबदेखि हरेक आधा हिस्सा धर्तीमा आफ्नो हराएको अर्को हिस्सा खोज्दै भौंतारिरहेको छ । यही मिथकले आजको ‘सोलमेट’ को अवधारणालाई एउटा काव्यात्मक पहिचान दिएको छ र यो आशा पनि जगाएको छ कि कतै कोही छ, जसले हामीलाई पूर्णताको महसुस गराउनेछ ।
मध्य युगमा आर्थरियन कथाहरूले यही तडपलाई ‘शिष्ट प्रेम’का रूपमा देखाए— एउटा यस्तो गहिरो भक्ति जहाँ एक योद्धाले आफ्नी प्रियसीका लागि आत्म–बलिदान दिएर आफ्नो योग्यता प्रमाणित गथ्र्यो । पुनर्जागरण कालसम्म आइपुग्दा शेक्सपियरजस्ता लेखकहरूले ‘भाग्यले जुराएका तर परिस्थितिले छुट्याएका प्रेमीहरू’ को कुरा गर्न थाले । मानौं, ब्रह्माण्डले नै उनीहरूको प्रेमकथा लेखिरहेको छ तर सुखद अन्त्य हुन दिइरहेको छैन । आधुनिक समयमा हलिउड र रोमान्टिक उपन्यासहरूले हामीलाई परी–कथाजस्ता प्रेमकथाहरू बेचिरहेका छन् ।
तर विज्ञानले सोलमेटका बारेमा के भन्छ ? के साँच्चै कोही खास व्यक्ति हाम्रै लागि बनेको हुन्छ ?

हामी कसरी ‘उसैलाई’ मन पराउँछौं ?
क्याम्ब्रिजको एङ्लिया रस्किन विश्वविद्यालयका सामाजिक मनोविज्ञानका प्रोफेसर वीरेन स्वामीले आजको रोमान्टिक प्रेमको जरा मध्यकालीन युरोपका कथाहरूमा फेला पारेका छन् । उनका अनुसार ती कथाहरूले पहिलो पटक यो विचार अघि सारे कि तपाईंले केवल एकजनालाई आफ्नो साथी रोज्नुपर्छ र ऊ नै जीवनभरका लागि हुनुपर्छ । त्यसअघि प्रेम धेरै लचिलो थियो र यसको यौनसँग खासै सम्बन्ध हुँदैनथ्यो ।
समयसँगै जब औद्योगिकीकरणले मानिसहरूलाई आफ्नो समाज र चिनजानका मान्छेहरूबाट टाढा पु¥यायो, मानिसहरू एक्लो महसुस गर्न थाले । उनीहरू यस्तो कोही खोज्न थाले जसले उनीहरूलाई जीवनको कठिन अवस्थाबाट मुक्ति दिलाओस् । आजका डेटिङ एपहरूले त्यही खोजलाई एउटा ’एल्गोरिदम’ मा बदलिदिएका छन्, जसलाई स्वामी ‘रिलेसन–पिङ’ (सम्बन्धको सपिङ) भन्छन् । यो धेरैका लागि निकै नीरस अनुभव बन्न पुगेको छ, जहाँ मानिसहरू दर्जनौं विकल्पहरू हेर्दै ‘कोही त होला’ भन्दै भौँतारिरहन्छन् ।
‘द वन’ वा एउटै मात्र खास व्यक्ति
ब्रिघम योङ विश्वविद्यालयका प्रोफेसर जेसन क्यारोल मानिसमा हुने यस्तो प्यासप्रति सहानुभूति राख्छन् । उनी भन्छन्, ‘हामी यस्ता जीव हौं जो सम्बन्धमा टिक्छौं र हामीलाई गहिरो बन्धनको चाहना हुन्छ ।’ तर उनी आफ्ना विद्यार्थीहरूलाई ‘सोलमेट’ को विचार त्याग्न सुझाव दिन्छन् ।
यो सुन्दा विरोधाभासपूर्ण लाग्न सक्छ, तर क्यारोलका लागि यो भाग्य र मेहनतबीचको फरक हो । उनी भन्छन्, ‘सोलमेट त संयोगले भेटिन्छ, जो पहिले नै बनेको हुन्छ । तर ‘त्यो एउटै मात्र खास व्यक्ति’ (द वन) त्यो हो, जसलाई दुई व्यक्तिले वर्षौंको तालमेल, माफी र कहिलेकाहीँ सहेर निर्माण गर्छन् ।’

सोलमेटको पासो
क्यारोलका अनुसार सोलमेटमा विश्वास गर्नेहरू ‘भाग्यको भरोसा’ मा बस्छन् । उनीहरूलाई लाग्छ कि सही सम्बन्ध बिना कुनै मेहनत आफैं चल्छ । तर ‘प्रयासमा विश्वास’ गर्नेहरू सम्बन्ध सुधार्न सक्रिय हुन्छन् । अनुसन्धानले देखाएको छ कि ‘सम्बन्ध बने–बनाउ हुन्छन्’ भन्नेहरू सानो झगडा पर्दा पनि आफ्नो प्रतिबद्धतामा शंका गर्न थाल्छन् । तर ‘प्रयासमा विश्वास’ गर्नेहरू कठिन समयमा पनि सम्बन्धमा टिकिरहन्छन् ।
समस्या सोलमेटको सोचमा मात्र छैन, बरु यो अपेक्षामा छ कि प्रेममा कहिल्यै कठिनाइ आउनुहुँदैन । क्यारोल भन्छन्, ‘लामो सम्बन्धको सबैभन्दा सुन्दर पक्ष कुनै फिल्मी दृश्य होइन, बरु एक–अर्काको कमजोरी र चुनौतीलाई नजिकबाट देख्न पाउनु र स्वीकार्नु हो ।’ जब हामी प्रेमलाई केवल भाग्यको खेल ठान्छौं, हामीले सम्बन्धलाई जीवित राख्न आवश्यक पर्ने साना तर महŒवपूर्ण प्रयासहरू गर्न छाड्छौं ।

आकर्षण कि पीडा ?
लण्डनकी लभ कोच विक्की प्याभिट भन्छिन्– कहिलेकाहीँ हामी जसलाई ‘स्पार्क’ वा आकर्षण भन्छौं, त्यो वास्तवमा हाम्रो शरीरले पुराना चोटहरू वा पीडादायी सम्बन्धहरूलाई चिन्नु पनि हुन सक्छ । थेरापिस्टहरू यसलाई ‘ट्रमा बन्ड’ भन्छन् । मानिसहरू कहिलेकाहीँ अस्वस्थ सम्बन्धतर्फ यसकारण आकर्षित हुन्छन् किनभने त्यो उनीहरूलाई परिचित लाग्छ, न कि त्यो उनीहरूका लागि सही छ ।
एउटा अध्ययनले के देखाएको छ भने मानिसहरू कहिलेकाहीँ आफ्ना खराब पार्टनरहरूसँग झन् बढी जोडिएका हुन्छन् किनभने खतरा र स्नेहको मिश्रित अनुभव उनीहरूका लागि बानी परेको हुन्छ । प्याभिट भन्छिन्, ‘म सोलमेटको कुरा गर्दिनँ । मलाई लाग्दैन कि हरेकका लागि संसारमा एउटै मात्र व्यक्ति बनेको छ । तर म यो विश्वास गर्छु कि हामी कसैका लागि ‘द वन’ बन्न सक्छौं ।’

वास्तविक केमिस्ट्री र गणित
आकर्षणको जीवविज्ञानले पनि देखाउँछ कि हाम्रो रुचि हर्मोन र औषधिको प्रयोगले पनि परिवर्तन हुन सक्छ । यदि यी कुराले हाम्रो रोजाइ बदल्न सक्छन् भने ’पहिले नै तय भएको एउटा साथी’ भन्ने कुरा मान्न गाह्रो हुन्छ ।
गणितज्ञहरू पनि भन्छन् कि हाम्रो लागि संसारमा ‘एउटै मात्र’ होइन, बरु ‘धेरै’ उपयुक्त साथीहरू हुन सक्छन् । एउटा कम्प्युटर सिमुलेसनले देखायो कि मानिसहरूलाई आफ्नो सूचीको पहिलो रोजाइको मान्छे भेटिने सम्भावना कम हुन्छ, तर दोस्रो वा तेस्रो रोजाइमा पर्नेहरू धेरै हुन्छन् जससँग उनीहरू खुसी रहन सक्छन् ।

साना कुराको ठूलो असर
एउटा जोडी कसरी एक–अर्काका लागि ‘द वन’ बन्छन् त ? झण्डै ५,००० मानिसमा गरिएको एउटा अध्ययनले भन्छ कि सम्बन्धलाई बलियो बनाउने कुरा महँगा उपहार वा विदेश भ्रमण होइनन्, बरु दैनिक जीवनका साना कुराहरू हुन् ।
बिहान ओछ्यानमै चिया ल्याइदिनु, चिसो बिहानमा पार्टनरका लागि कार पहिले नै तताइदिनु, वा बाटोबाट एउटा जंगली फूल टिपेर ल्याउनु— यस्ता साना ध्यान दिने बानीहरूले मानिसलाई बढी खास महसुस गराउँछन् । डेटाले भन्छ कि पैसा वा रोमान्सभन्दा ‘एक–अर्कालाई गहिराइमा जान्नु’ र त्यो ज्ञानलाई दैनिक व्यवहारमा उतार्नु नै सम्बन्धको सन्तुष्टिको मुख्य कारण हो ।

निष्कर्षमा, विज्ञानले प्रेमको रोमान्सलाई खोस्दैन, बरु यसलाई अझ वास्तविक बनाउँछ । ‘सोलमेट’को भावना जीवनभन्दा माथि कतै तैरिरहेको हुँदैन; यो त जीवनका हरेक साना मोडमा, दुःख–सुखमा सँगै उभिएर र एक–अर्काको अपूर्णतालाई स्वीकार गरेर बिस्तारै निर्माण गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अचम्मको संसार
ड्युटी धेरै गर्दा जागिर चट !

ड्युटी धेरै गर्दा जागिर चट !