पितृहरूको सम्झनामा गरिने कर्मले मनलाई शान्त बनाउँछ भन्ने विश्वाससँगै हामीले मुस्ताङ जिल्लाको कागबेनी जाने निर्णय ग¥यौं । कागबेनी पुगेपछि मुक्तिनाथसम्म पनि पुग्न सकिने, साथै हिमालपारिको जिल्लामा पाइने अनुपम हिमाली सौन्दर्य र प्रकृतिको सजीव छटा नजिकबाट देख्न पाइने लोभले म, श्रीमती, छोरी÷छोरा यात्रामा निस्कियौं ।
गत वर्ष फागुन १४ मुक्तिनाथसम्मै जाने बसको टिकट हातमा लिएपछि बसभित्र पसी झोलाहरू सिटमाथि राख्यौं र आरामदायक सोफाजस्तै सिटमा ढुक्कसँग बस्यौं । मेरो मन भने यात्रा सुरु नहुँदै पहिल्यै हिमालपारि पुगिसकेको थियो ।
बेनी–कोरला सडकमा गुडिरहेको बस बिहानको उज्यालोसँगै काभ्रे भिर पार गर्दै अघि बढिरहेको थियो । कठिन चट्टानी पहाडलाई कोपेर बनाइएको साँघुरो बाटोको एकातर्फ भिरालो र गहिरो खोंच फैलिएको थियो, जसलाई हेर्दा मनमा डर र रोमाञ्च दुवै एकैपटक जाग्थे । कतै–कतै थोरै हिलो र कच्ची सडक देखिए पनि अधिकांश भाग पिच भएकाले बस निर्धक्क अघि बढिरहेको थियो । अगाडि बढ्दै जाँदा हरिया पहाडहरूको पछाडिबाट धौलागिरी हिमाल मुस्कुराउँदै हामीलाई स्वागत गरिरहेको जस्तो लाग्थ्यो ।
बसभित्र दुईतर्फका सिटबीचको हिँड्ने बाटो सामानले खचाखच भरिएको थियो । घाँसा, दाना, टुकुचे, मार्फा हुँदै जोमसोमसम्म पुग्दा ती सामानहरू बस रोकेर सम्बन्धित व्यक्तिलाई बुझाउने जिम्मेवारीमा सहचालक निरन्तर व्यस्त देखिन्थे । करिब एघार बजे बसले हामीलाई कागबेनीको फराकिलो बगरमा आरामपूर्वक झारिदियो । दामोदर कुण्डबाट उत्सर्जित भई बगेको कालीगण्डकी र मुक्तिनाथ धामबाट झरेको खोलाको संगमस्थल—पवित्र कागबेनीमा बसेर पितृकार्य गर्ने हाम्रो उद्देश्य अब मूर्त रूप लिन थालेको थियो । मध्याह्नको तीव्र हावाले वातावरणलाई झन् उग्र बनाइरहेको थियो । गडगडाउँदै बगेको कालीगण्डकीको संगमको चिसो पानीमा स्नान गरी लुगा फेर्दा मनभित्र एक किसिमको पवित्रता र हलुकापन फैलिएको अनुभूति भयो । त्यो क्षण साँच्चै अविस्मरणीय थियो ।
स्नानपछि मन र तन दुवै पवित्र भएको महसुस गर्दै श्राद्धका लागि पण्डितको खोजीमा लाग्यौं । हामीजस्तै झण्डै बीस–बाइस जना अन्य तीर्थयात्रीहरू पनि स्नान गरेर श्राद्धको तयारीमा जुटिरहेका थिए । एक जना पण्डितजीले हामीलाई कर्मकाण्डीय विधिअनुसार श्राद्ध सम्पन्न गराउन निर्देशन दिन थाल्नुभयो । हावा अत्यन्त तीव्र भएकाले उहाँले एक हातले माइक्रोफोन समातेर घाँटीमा स्पीकर झुण्ड्याई श्राद्धादि कर्म गराउनुभयो । हामीसँगै अर्को एक परिवारलाई पनि उहाँले सोही कर्ममा सहभागी गराउनुभयो ।
तीव्र हावाका कारण बत्ती बाल्न र बलेको बत्तीलाई कर्म अवधिभर जोगाइराख्न हम्मे–हम्मे परिरहेको थियो । खोलाको गडगडाहट र हावाको गर्जनबीच श्राद्ध कर्म सम्पन्न गरी पण्डितजीलाई यथाशक्य दक्षिणासहित आदरपूर्वक धन्यवाद ज्ञापन ग¥यौं । त्यसपछि झोला राखेको होटलमा फर्केर चिया पियौं । चियापानपछि मुक्तिनाथ मन्दिर जाने साधनको खोजी गर्दै गर्दा एउटा ट्याक्सी भेटियो र त्यसैमा सवार भई कागबेनी दोबाटोबाट मुक्तिनाथतर्फ लाग्यौं ।
पर्यटकीय मौसम भएकाले व्यापारिक भाषामा भन्नुपर्दा ‘अफ सिजन’ होइन, बरु चहलपहलले भरिएको समय थियो । आकर्षक पिच बाटोमा ठूला–ठूला बस, निजी सवारीसाधन र मोटरसाइकलहरूको बाक्लो आवतजावत देखिन्थ्यो । मुक्तिनाथ मन्दिरभन्दा केही तल रहेको बसपार्कसम्म पुगेपछि हामी झोला बोकी पैदलै मन्दिरतर्फ लाग्यौं । दर्शनपछि खाना खाने योजना भएकाले बाटोकै एक होटलमा झोला बिसायौं । मन्दिरमा आवश्यक पर्ने सरसामान मात्र बोकेर फर्केर त्यहीँ आएर खाना खाने सर्तमा हामी मन्दिरका सिँढी उक्लिन थाल्यौं ।
समुद्री सतहबाट करिब तीन हजार सात सय दस मिटर उचाइमा अवस्थित मन्दिरतर्फ उक्लँदा लेक लाग्नु स्वाभाविक नै थियो त्यसैले हामी सुस्तरी सुस्तरी सिँढी चढिरहेका थियौं । सायद मध्यान्हको समय र भरपेट खाना नखाएको असर पनि त्यसमा मिसिएको हुन सक्छ । लामो सिँढी चढ्दाको असहजता मन्दिर परिसरमा पुगेपछि भने विस्तारै हराउँदै गयो र शरीरमा एक किसिमको ऊर्जा सञ्चार भएको अनुभूति भयो । वैज्ञानिक रूपमा त्यसको कारण खोज्ने प्रयास त गरिएन, तर त्यही क्षणमा ‘अध्यात्मिक शक्ति’ भन्ने कुरा सायद यही हो भन्ने अनुभूति भने पक्कै भयो ।
उमेर पुगेका तथा हिँड्न अप्ठेरो भएकाहरू डोलीमा बोकिएर वा घोडामा चढेर मन्दिर उक्लिरहेको दृश्य पनि देखियो । सडक पहुँच सहज भएकाले पोखरा–जोमसोम हुँदै सोझै मन्दिरसम्म सार्वजनिक तथा निजी सवारीसाधनमार्फत स्वदेशी मात्र होइन, छिमेकी देश भारतबाट समेत थुप्रै तीर्थयात्री र पर्यटक आउने गरेको देखिन्थ्यो । ठूला–ठूला आधुनिक भवनहरू निर्माण हुँदै जाँदा ढुंगाबाट बनेका, माटोको छानो भएका पुराना घरहरू भने बिस्तारै हराउँदै गएको आभास पनि भयो । बसपार्कदेखि मन्दिरको ढोकासम्मै बस्न र खान मिल्ने होटल, खाजाघर तथा सजावट र उपहारका सामग्री बेच्ने पसलहरूले क्षेत्र पूरै भरिएको थियो । व्यस्त जीवनशैलीबाट केही क्षण टाढा प्रकृति र हिमाली सौन्दर्यमा रमाउन चाहनेहरूका लागि मुक्तिनाथ साँच्चै नै एक आकर्षक गन्तव्य बनेको रहेछ ।
ढुंगा बिछ्याइएको सफा भुइँ, मन्दिरअगाडि रहेका दुई कुण्ड, मन्दिरलाई तीनतर्फबाट घेरेका १०८ धाराहरू र ती धाराबाट बग्ने कञ्चन पानी—पूजा–आराधनाले शान्त बनेको त्यो वातावरणले मनलाई अद्भुत शान्ति दिन्थ्यो । मुक्तिनाथ हिन्दु र बौद्ध दुवै सम्प्रदायको समान आस्थाको केन्द्रका रूपमा उभिएको अनुभूति त्यहाँ स्पष्ट देखिन्थ्यो । म र मेरी श्रीमतीले कागबेनीमा स्नान गरिसकेकोले १०८ धारामा पुनः नुहाउने साहस नगरे पनि छोरी र छोराले स्नान गरी मुक्तिनाथप्रति आफ्नो श्रद्धा अर्पण गरे । मुख्य मन्दिरको दर्शनसँगै ज्वालामाईको दर्शन, बुद्धको विशाल प्रतिमाले सजिएको खुला पार्कको अवलोकन गर्दै हामीले त्यो क्षेत्रमा केही समय रमाइलोका साथ बितायौं । हिमाल, आस्था र शान्तिको संगम बनेको मुक्तिनाथले हाम्रो यात्रालाई केवल गन्तव्य मात्र होइन, गहिरो संस्मरणको रूप दिएर बिदा गरिरहेको थियो ।
भ्रमणका हिसाबले हेर्दा म मुक्तिनाथ मन्दिरमा तेस्रो पटक पुगेको रहेछु । मेरी श्रीमती र छोरीको दोस्रो पटक थियो भने छोराको जीवनकै पहिलो भेट थियो त्यो पवित्र स्थलसँग । मन्दिरको प्रांगणमा उभिँदा अतीतका स्मृतिहरू एकपछि अर्को गर्दै मनमा आइरहे । पहिलो पटक २०६५ सालको भदौ महिनामा श्रीमती र सासूसँगै पाँच वर्षीया छोरीलाई साथमा लिएर पोखराबाट जोमसोमसम्म हवाई जहाजमा यात्रा गरी त्यहाँबाट त्यस समय त्यहीँ रहुनभएका जेठानसहित भई कालिगण्डकीको बगरैबगर, उकाली–ओराली र अप्ठ्यारो बाटो छिचोल्दै मोटरसाइकलमा मुक्तिनाथ पुगेका थियौं । त्यसपछि गत वर्ष चैत्र महिनाको अन्त्यतिर म मनाङबाट थोरङ्ला पास पार गर्दै मुक्तिनाथ आइपुगेको संस्मरण पनि त्यत्तिकै ताजा थियो । ती सबै अनुभवहरू आज फेरि परिवारका चारै जना सँगै हुँदा अझ गहिरो अनुभूति बनेर मनभित्र खेलिरहेका थिए ।
मन्दिर दर्शनपछि फर्किएर झोला राखिएको होटलमा आई स्वादिलो खाना खायौं । त्यसपछि कागबेनीबाट उक्लँदै आएको उही ट्याक्सीमा चढेर जोमसोमतर्फ फर्कियौं । सफा र चिल्लो पिच सडकले भौगोलिक विकटतालाई बिर्साइदिएको थियो । वरिपरि फैलिएका सुख्खा पहाडका ढिस्काहरू, उत्तरतर्फका चुचुराहरूमा हिउँले ओढेको सेतो वस्त्र र खुला आकाशले त्यो भू–दृश्यलाई साँच्चिकै अविस्मरणीय बनाइदिएको थियो । व्यस्त दिनचर्याबाट केही समय सापटी लिएर सपरिवार यस्तो स्थानमा पुग्नु भनेको केवल यात्रा होइन, आत्माको विश्रामजस्तै लागिरहेको थियो— धार्मिक पर्यटन, पदयात्रा, हिमाली जीवनशैलीको अवलोकन, कालिगण्डकीले बनाएको विशाल बगर र माथिल्लो मुस्ताङतर्फ जाने रोमाञ्चक बाटोले यो क्षेत्रलाई झनै अर्थपूर्ण बनाएको थियो । हरेक क्षण फोटोमा कैद गर्न आतुर छोराछोरीमा देखिएको उत्साहले पारिवारिक भ्रमणको रमाइलो उजागर गरेको थियो । त्यस साँझ जोमसोममा मुस्ताङ भ्रमणमा आउनुभएका केही चिनजानसँग आकस्मिक भेटसमेत भयो । बजारको चहलपहल हेर्दा प्रायः सबै होटलहरू हामीजस्तै घुमन्तेहरूले भरिएका देखिन्थे ।
भोलिपल्ट बिहान पूर्वपरिचित दिदीको होटलमा पुगेर तातो चिया र भुटेको मकै खायौं । त्यसपछि ठिनी गाउँ, धुम्बा लेक र समय मिले म्याग्दीको तातोपानीसम्म पुग्ने चाहनाले दिदीको सहयोगमा अघिल्लो दिन चढेकै ट्याक्सी चालकसँग कुरा गरी घुम्ने योजना पक्का गरियो । काठमाडौं जाने बस बिहान दस बजे जोमसोमबाट छुट्ने रहेछ तर सौभाग्यवश त्यो बस दिउँसो दुई बजेतिर तातोपानी पुग्ने जानकारी पाएपछि हाम्रो योजना अझ सहज बन्यो । एक घण्टा जति तातोपानी नुहाउन पाउने हिसाब मिलाउँदै जोमसोमबाट ठिनी गाउँतर्फ लाग्यौं ।
ठिनी जिल्लाकै एक सुन्दर र व्यवस्थित गाउँ रहेछ । बाहिरबाट सानो देखिने ढुंगा र माटोले बनेका, छानाभरि दाउरा सजाइएका, लहरै जोडिएका सेतो रङका घरहरू, कुँदिएका झ्याल–ढोकाहरू, ढुंगाले छापिएका बाटा र आँगनहरूले गाउँलाई सफा र आकर्षक बनाएको थियो । गाउँको बीचमा रहेको धनु–बाण खेल्ने थकालीहरूको परम्परागत स्थान, घर–घरमा फरफराइरहेका लुंगता र ध्वजापताका, अनि परम्परागत भेषभूषामा सजिएका पाका महिला–पुरुषहरूको मुस्कानले गाउँलाई जीवित बनाइरहेको थियो । गाउँको एक छेउदेखि अर्को छेउसम्म पैदल हिँड्दै थुप्रै तस्बिर खिच्यौं र फेरि ट्याक्सीमा चढेर धुम्बा लेकतर्फ लाग्यौं ।
करिब दश मिनेट उकालो–ओरालो हिँडेपछि खोला तरेर पुगिने धुम्बा लेक चारैतिर पर्खालले घेरिएको रहेछ । बस्नका लागि बेन्च, हिँड्न सहज बाटो र व्यवस्थित संरचनाले ताललाई सुन्दर बनाएको थियो । आकाश बादलले ढाकेको, सिरेटो चलिरहेको वातावरण चिसो भए पनि तालको स्वच्छता र चञ्चलताले मनलाई आनन्द दिइरहेको थियो । हावाले पानीलाई हल्का तरंगित बनाइरहेको थियो । धौलागिरी हिमालको छाया स्पष्ट नदेखिए पनि ताल वरपरको शान्त वातावरणमा घन्टौं बस्न सकिने अनुभूति भयो । तर समयको बाध्यता र चिसोले हामीलाई छिट्टै फर्किन बाध्य बनायो ।
जोमसोम हुँदै मार्फातिर झर्दै गर्दा सिमसिम पानी परिरहेको थियो । कतैकतै कच्ची भए पनि अधिकांश सडक पिच भएकाले चिप्लो बाटोमा पनि चालकले आफ्नो कौशल देखाइरहेका थिए । धौलागिरी हिमाल र कालिगण्डकीको खोंच नियाल्दै, दाना र घाँसाका बस्ती सम्झँदै दिउँसो करिब एक बजे तातोपानी आइपुग्यौं ।
बाहिर चिसो भए पनि तातोपानीमा डुबुल्की मार्दा शरीर र मन दुवै तातिए । केही बेर पोल्ने जस्तो लागे पनि विस्तारै सारा थकान पग्लिएर गयो । बस ढोकै अगाडि रोकिने सहमति भएकाले फोनको प्रतीक्षासहित करिब तीस मिनेट तातोपानीमा रमायौं । सहचालकको फोन आएपछि हतार–हतार नुहाएर लुगा फेरेर नजिकैको होटलमा चाउचाउ मगायौं । तर बसको हर्नसँगै फेरि फोन आएपछि अधूरो खानाकै बीच झोला बोकी बसतर्फ दौडियौं । भित्र छिर्दा त हामी बस्ने सिटबाहेक अन्य सबै सिटहरु भरिएर बीचमा उभिएका यात्रुले बस भरिएको देख्यौं । धन्न हामीले बिहानै जोमसोममा बसको टिकट निश्चित गरेको भएर सिट सुरक्षित थियो । दिउँसो सवा दुई बजे बस काठमाडौंतर्फ गुड्यो । छोटो समयमै यति धेरै अनुभव समेट्न पाएको सन्तोष मनभरि थियो । करिब रातको नौ बजे डुम्रेमा रहेको थकाली होटलको आँगनमा बस रोकियो र मीठो भात खाएपछि यात्रा पुनः जारी रह्यो । पोखरा, डुम्रे, मुग्लिन, मलेखु हुँदै रात बित्दै गयो । अन्ततः बिहान सात बजे गोंगबु बसपार्कमा ओर्लँदा यात्राको थकानभन्दा सम्झनाको मिठास बढी थियो । राइडिङ एपमार्फत ट्याक्सी समाएर घर फर्कंदा मनले एउटै कुरा भनिरहेको थियो— परिवारका सबै सदस्यसँगै रहेर गरिएको यो यात्रा गन्तव्यसम्मको मात्र थिएन, जीवनका अमूल्य सम्झनासम्मको यात्रा थियो ।