नेभिगेशन
विश्व
बालबालिकामा अनलाइन गेमिङको गम्भीर असरः

अनलाइन गेमिङलाई ‘बालखेल’ नठान्नू

नयाँ दिल्ली, (एजेन्सी)  । गाजियाबादमा तीन नाबालक दिदीबहिनीको मृत्युको विषयमा भएको प्रारम्भिक अनुसन्धानबाट उनीहरू ‘डेयर’ अर्थात् चुनौतीहरू दिने एउटा कोरियाली अनलाइन गेम खेल्ने गरेको खुलेको थियो । यस घटनाले अनलाइन गेमिङले बालबालिकामा कतिसम्म खराब असर पार्दोरहेछ भन्नेतर्फ सबैको ध्यान खिँचेको छ ।
आजको डिजिटल युगमा अनलाइन गेमिङ बालबालिकाका लागि मनोरञ्जनको साधन मात्र रहेन । यी गेमहरूमा तह (लेभल) पूरा गर्ने र इनाम जित्ने चाहनाले उनीहरूलाई लगातार बाँधिराख्छ । खेलप्रतिको यो सनकले उनीहरूलाई ज्यानै जोखिममा पार्ने कदम उठाउनेसम्म पु-याउँछ । यसको असर बालबालिकाको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा देखिन थाल्छ । एउटा सर्वेक्षण अनुसार, भारतमा ९ देखि १३ वर्षका करिब ४९ प्रतिशत बालबालिकाले दैनिक तीन घण्टा वा सोभन्दा बढी समय अनलाइन गेमिङमा बिताउँछन् ।
भारतको अनलाइन गेमिङ क्षेत्र तीव्र गतिमा विकास भइरहेको छ र आउँदा केही वर्षमा यो दुई गुणाभन्दा बढीले बढ्ने सम्भावना छ । सन् २०२९ सम्ममा यसको बजार आकार ७८ हजार करोड भारु पुग्ने अनुमान गरिएको छ, जबकि दुई वर्षअघि यो मात्र ३१ हजार करोड भारु थियो । ‘रियल मनी गेमिङ’ (पैसाको दाउ लगाइने खेल) यस बजारको सबैभन्दा ठूलो हिस्सा हो ।
ब्याटल रोयल, फ्री फायर र पब्जी जस्ता गेमहरू चाँडै लत बन्न पुग्छन् । त्यस्तै ब्लु ह्वेल र मोमो च्यालेन्जले बालबालिकालाई खतरनाक स्टन्ट गर्न वा आफ्ना गोप्य जानकारीहरू खुलासा गर्न उक्साउँछन् । यसले उनीहरूको सुरक्षामा गम्भीर खतरा पार्छ । विशेषज्ञहरू भारतको गाजियाबादजस्ता घटनाहरूले समयमै बालबालिकाको व्यवहारलाई बुझिएन भने यसको परिणाम घातक हुन सक्ने चेतावनी दिइरहेका छन् ।
अनलाइन गेमिङको कुलत 
बाल्यकालमा मस्तिष्कका धेरै भागहरू विकास भइरहेका हुन्छन् । अनलाइन गेम खेल्दा दिमागमा ‘डोपामाइन’को मात्रा बढ्छ । डोपामाइनले मानिसलाई खुसी र उत्साह महसुस गराउँछ । गेममा कुनै चुनौती पूरा गर्दा इनाम पाइने हुनाले बच्चालाई गेम खेल्नु रमाइलो र रोमाञ्चक लाग्न थाल्छ । जित्ने इच्छामा केही बालबालिका यति दुस्साहसी हुन्छन् कि उनीहरूले आफैँलाई नोक्सानसमेत हिच्किचाउँदैनन् ।
क्लिनिकल साइकोलोजिस्ट प्राची नारकरका अनुसार समयसँगै नियन्त्रण गेमको प्रणाली (सिस्टम) को हातमा जान्छ । उनी भन्छिन्, ‘यी गेमहरूमा यस्तो प्रविधि हुन्छ जसले खेलाडीको व्यवहार बुझेर सोही अनुसारका सामग्री र विज्ञापन देखाउँछ । यी गेमहरूलाई आकर्षक बनाउन विशेष रङहरूको प्रयोग समेत गरिन्छ ।’
न्यूरोवैज्ञानिक अभिजीत सतानीका अनुसार यस्ता गेम बनाउने कम्पनीहरूले ‘न्यूरोमार्केटिङ’ गर्छन् । मस्तिष्कका गतिविधि र भावनाहरू बुझेर मार्केटिङ रणनीतिहरू बनाइन्छ । यसका लागि अनुहारको हाउभाउ र ध्यान केन्द्रित गर्ने जस्ता प्रविधिहरूको प्रयोग पनि गरिन्छ ।
कुलतका सुरुवाती संकेत
डिडब्लुमा शिवांगी सक्सेना लेख्छिन्, जुन परिवारमा आमाबुबाबीच दिनहुँ झगडा हुन्छ, त्यस घरका बालबालिकामा गम्भीर मानसिक असर पर्ने गरेको धेरै पटक के देखिएको छ । बालबालिकाहरू समाजबाट टाढिन थाल्छन् । उनीहरू कुराकानी गर्न रूचाउँदैनन् र मोबाइल, गेम वा प्रविधिमा नै मनको शान्ति खोज्न थाल्छन् । बालबालिकालाई लाग्छ, उनीहरूलाई अनलाइनमा कसैले चोट पु¥याउने छैन र सबै कुरा उनीहरूकै नियन्त्रणमा छ ।
प्राची नारकर भन्छिन्, बालबालिकालाई हेरेरै उनीहरूलाई अनलाइन गेमिङको लत लागेको छ कि छैन भनेर थाहा पाउन सकिन्छ । समयसँगै शारीरिक परिवर्तनहरू देखिन थाल्छन् । उनका अनुसार तौल घट्नु, अनुहारको कान्ति हराउनु, कपाल झर्नु, आँखा रातो हुनु, भोक नलाग्नु वा धेरै खानु र निद्राको समस्या हुनु सुरुवाती संकेत हुन् । समयमै ध्यान नदिए स्थिति गम्भीर पनि हुन सक्छ र बच्चाले आफैँलाई चोट पु-याउने (सेल्फ–हार्म), मुड डिसअर्डर, मानसिक असन्तुलन र आक्रामक व्यवहार देखाउन सक्छन् ।
क्लिनिकल साइकोलोजिस्ट आदित्य वाडेकरका अनुसार कमजोर सामाजिक–आर्थिक पृष्ठभूमिबाट आउने बालबालिकामा पनि लत लाग्ने जोखिम बढी हुन्छ । उनी भन्छन्, ‘यी बालबालिकाको जीवनमा संघर्ष र असुरक्षा बढी हुन्छ, जसले गर्दा उनीहरू तनावबाट तुरुन्तै राहत पाउने उपाय खोज्छन् । उनीहरू विशेष गरी छोटो समयका र इनाममा आधारित गेमहरूतर्फ चाँडै आकर्षित हुन्छन् जसले उनीहरूलाई तुरुन्तै खुसी, सन्तोष दिन्छ र वास्तविक जीवनका समस्याबाट केही बेरका लागि टाढा लैजान्छ ।’
दिमागको उमेरमा अनलाइन गेमको प्रभाव
अनलाइन गेमले बालबालिकाको महत्त्वपूर्ण समय मात्र लिँदैनन्, यसले बिस्तारै मस्तिष्कको विकासलाई पनि प्रभावित गर्न सक्ने देखिएको छ । न्यूरोवैज्ञानिक अभिजीत सतानीले धेरै बालबालिकामा अध्ययन गरिसकेका छन् । उनी भन्छन्, बाल्यकालमा दिमाग निकै लचिलो हुन्छ । त्यस समयमा मस्तिष्कमा अनगिन्ती न्यूरोन्सहरू आपसमा जोडिएर धेरै कनेक्सनहरू बन्छन् । हरेक नयाँ अनुभव जस्तै लड्नु, उठ्नु, बोल्नु र सुन्नुले यी सम्बन्धहरूलाई बलियो बनाउँछ र सिक्ने क्षमता बढाउँछ । तर उमेर बढ्दै जाँदा यो प्रक्रिया सुस्त हुन थाल्छ, त्यसैले वयस्कहरूलाई नयाँ कुरा सिक्न समय लाग्छ ।
लगातार इनाम दिने गेम खेल्दा दिमागमा पटक–पटक डोपामाइन रिलिज हुन्छ, जसबाट तुरुन्तै खुसी पाइन्छ । मस्तिष्क यसको बानी पर्न थाल्छ । अभिजीत सतानी भन्छन्, ‘दिमागले सानो र तुरुन्तै इनाम पाउने बानी बसाल्छ । यसले गर्दा बच्चाको दीर्घकालीन लक्ष्य बनाएर मिहिनेत गर्ने रुचि कम हुन थाल्छ । यस्ता गेमले ध्यान दिने, योजना बनाउने र आत्म–नियन्त्रणमा मद्दत गर्नेजस्ता दिमागको त्यो भागलाई असर पार्छ । यदि यो बानी लामो समयसम्म रह्यो भने बच्चाको सोच्ने र सही–गलत छुट्याउने क्षमतामा असर पर्छ । उनीहरूको मस्तिष्क ३० वर्षको युवकको तुलनामा कमजोर हुन सक्छ ।’
कसरी नियन्त्रण गर्ने?
यस्तो लतलाई विद्यालय, परिवार र परामर्श (काउन्सिलिङ) को स्तरमा मिलेर नियन्त्रण गर्न सकिन्छ । बालबालिकालाई सुरुदेखि नै सही मार्गदर्शन दिनु जरुरी छ ।
प्राची नारकरका अनुसार परिवारले बालबालिकाका गतिविधिमा ध्यान दिनुपर्छ । निश्चित समयपछि स्क्रिन आफैँ बन्द हुने व्यवस्था मिलाउनुपर्छ । यस लतका चार तह हुन्छन् — सामान्य (माइल्ड), तीव्र (एक्युट), गम्भीर (सिभियर) र अति गम्भीर (प्रोफाउन्ड) । यदि लत गम्भीर वा अति गम्भीर तहमा पुग्यो भने बच्चालाई निको हुन धेरै वर्ष लाग्न सक्छ । त्यसैले समयमै पहिचान र रोकथाम निकै महत्वपूर्ण छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्